
फिफा विश्वकपको २३ औं संस्करणमा एसियाली ‘पावर हाउस’ जापानले पहिलो जित हासिल गरेको छ ।
जापानले आइतबार सम्पन्न खेलमा ट्युनिसियामाथि ४–० गोलको सजिलो जित हासिल गर्यो । जितसँगै जापान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
मेक्सिकोमा भएको उक्त खेलको प्रारम्भदेखि नै जापानले ट्युनिसियालाई दबाबमा राखेको थियो । खेलको चौथो मिनेटमै केइतो नाकामुराको पासमा दाइची कामादाले गोल गर्दै जापानलाई अग्रता दिलाए ।
निर्धारित समयको ३१ औं मिनेटमा जापानले अग्रता दोब्बर बनायो । जापानका लागि दोस्रो गोल अयासे युएदाले गरे ।
खेलको ६९ औं मिनेटमा जुन्या इतोले टोलीलाई ३–० गोलको बलियो स्थितिमा पुर्याए । टोलीका लागि चौथो गोल ८३ औं मिनेटमा युएदाले थपे । उनले व्यक्तिगत रूपमा गरेको यो दोस्रो गोल हो ।
आफ्नो पहिलो खेलमा जापानी टोली नेदरल्यान्ड्ससँग २–२ गोलको बराबरीमा रोकिएको थियो । ट्युनिसिया भने आफ्नो पहिलो खेलमा स्वीडेनसँग १–५ गोलले पराजित भएको थियो ।
चार अंकसहित नेदरल्यान्ड्स तालिकाको पहिलो स्थानमा छ । समान अंक जोडेको जापान दोस्रो स्थानमा छ । तीन अंकसहित स्वीडेन तेस्रो स्थानमा छ । ट्युनिसिया भने समूहगत चरणबाटै बाहिरिएको छ ।