
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष राउतले आफूलाई बोलाएकोमा धन्यवाद दिएका छन् ।
उनले आफू संसदीय राजनीतिबाट सन्न्यास लिएको जान्दा जान्दै पनि सम्झने चेष्टा गरेकोमा धन्यवाद दिए ।
उनले रास्वपाले जुन सपना देखेको छ त्यही सपना आफ्नो रहेकाले पनि ६ घण्टा लगाएर काठमाडौंबाट शुभकामना दिन चितवन आएको बताए । उनले भने, 'तपाईंहरू युवा अवस्थामा राजनीतिमा लाग्नुभयो, म पनि ३३ वर्षमा अमेरिकामा पढ्दापढ्दै राजनीति गर्न नेपाल आएको हुँ । यो ऊर्जा कसरी मिलाउन सकिन्छ भनेर म लागिरहेको छु ।' उनले आफूले किसान आन्दोलनदेखि नो भोटको परिकल्पना गरेको बताए ।
भदौ २३ र २४ को आन्दोलन हुँदा आफू बाहिर रहेको सम्झँदै राउतले भने, 'तपाईंहरू जुन आन्दोलनबाट उदय प्राप्त गर्नुभएको छ, त्यो शहीदहरूको आँखा कहिल्यै नबिर्सिनुहोस्, हाम्रो पार्टी फरक होला तर, सपना पूरा होस् ।'
उनले देवानन्दलाई कालो ड्रेस लगाउन सार्वजनिक कार्यक्रममा निषेध गरेको उल्लेख गर्दै भने, 'कुनै दिन विपक्षीहरूले हाम्रो प्रधानमन्त्रीलाई सार्वजनिक कार्यक्रममा कालो लुगा लगाउन निषेध गर्ने ऐन ल्याउन माग गर्न पनि बेर छैन । हाम्रो प्रधानमन्त्री अलग लेबलको बन्दा है भाइ ।'
उनले रवि र आफ्नो चिनजान २०७० देखि भएको बताए । उनले भने, ‘उहाँ पनि जनतासँग सिधा कुरा गर्ने, म पनि जनताको सिधा सेवा गर्ने मान्छे, २०७९ को चुनावमा दुवै निर्वाचन भएर आएका हौं, हामीमा जनतालाई कसरी सेवा गर्ने भनेर हुटहुटी हुन्थ्यो ।’
राउतले सार्वजनिक कार्यक्रममै रविलाई बीपीसँग तुलना गरेको सम्झिए । उनले भने, ‘मैले एउटा सार्वजनिक कार्यक्रममा रविजीलाई भनेको थिएँ, तपाईं बीपी कोइरालापछिको नेता हो, सत्ता तिर नलाग्नुस्, देश बनाउने तिर लाग्नुस् भनेको थिएँ, आज जनताले यति माया गरे कि दुईतिहाई बहुमत दिए ।’
उनले रवि लामिछानेलाई ध्यानाकर्षण गर्दै भने, ‘यो दुईतिहाई बहुमत जिम्मेवारी हो, सामान्य कुरा होइन ।’
रवि भैरहवा जेलमा हुँदा पनि आफू भेट्न पुगेको उनले बताए । उनले रविमाथि प्रतिशोध साँधेको भनेर हस्ताक्षर गर्न घण्टीघरमै पुगेर हस्ताक्षर गरेको पनि स्मरण गरे ।