
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले झुक्किएर सरकारको बल आफूतिर आए पनि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)तिरै पास गर्ने बताएका छन् ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आइतबार चितवनमा सम्बोधन गर्दै रविले आफूले इमान्दारिताका साथ सहमति पालना गर्ने बताए । 'यहाँ लडाउने, ढलाउने प्रयास त निकै हुनेछ । म आज यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु, जनता र ईश्वरलाई साक्षी राखेर रास्वपामा जुन सहमति गरेका छौं, त्यो सहमतिको एक-एक अक्षर इमान्दारिताका साथ पूरा गर्ने प्रण यहाँ उभिएर गर्न चाहन्छु,' उनले भने ।
उनले यो आफ्नो निजी कुरा नभएको पनि बताए । 'यो हाम्रो निजी कुरा होइन, इतिहासलाई जवाफ दिनुपर्ने छ । व्यक्तिको इच्छा ठूलो कुरा होइन । सरकार सञ्चालन गर्नका निम्ति रास्वपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको हो । उहाँले त्यसको निरन्तरता दिइरहनुभएको छ । झुक्किएर त्यो बल मतिर आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो,' उनले भने ।
उनले चुक्ली लगाउनेहरू धेरै रहेको भन्दै इतिहासलाई जवाफ दिन आफू बोलिरहेको बताए । 'यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, चुक्ली लगाइदिनेहरू पनि धेरै छन् । म तिनलाई जवाफ दिन बोलिरहेको छैन, इतिहासलाई जवाफ दिन बोलिरहेको छु,' रविले भने ।