
जिन्दगीको यात्रामा सबैले आ-आफ्नो प्रकारको पीडा बोकेर हिँडिरहेका हुन्छन् । बाहिरबाट हाँसिरहेका धेरै मानिस भित्रभित्रै चिच्याइरहेका हुन्छन् । कसैको सपना पैसासँग हारिरहेको हुन्छ, कसैको सपना परिस्थितिसँग त, कसैको आफ्नै असफलतासँग ।
कहिलेकाहीँ त यस्तो लाग्छ; भगवानले पनि सायद हाम्रो परीक्षा लिन कहिल्यै नरोकिने निर्णय गरिसकेका छन् । मन थाक्छ, आँखा रसाउँछन्, आफ्नै सपना पनि बोझ लाग्न थाल्छ । तर इतिहासले एउटा कुरा बारम्बार प्रमाणित गरेको छ- सबैभन्दा अन्धकार रातपछि नै सबैभन्दा उज्यालो बिहानी आउँछ ।
आज संसारले आधुनिक फुटबलका जादुगर भनेर सम्मान गर्ने व्यक्ति लियोनल मेसीको जीवन कहानी पनि कुनै भावुक फिल्मको कथा भन्दा कम छैन । सानै उमेरमा उनको शरीरको वृद्धि रोकिने समस्या देखियो, जसको उपचार निकै महँगो थियो । परिवारसँग त्यसको खर्च धान्ने आर्थिक अवस्था थिएन । धेरै क्लबहरूले उनको सानो शरीर देखेर अस्वीकार गरे । धेरैले भने- यति होचो र कमजोर केटाले विश्व फुटबलमा केही गर्न सक्दैन ।
तर प्रतिभा कहिल्यै लुक्दैन, स्पेनको बार्सिलोना क्लबले उनको खेलमा भविष्य देख्यो । भनिन्छ, उनको पहिलो सम्झौता एउटा साधारण नेपकिन पेपरमा लेखिएको थियो । त्यही सम्झौताले उनको उपचारको सम्पूर्ण जिम्मेवारी लियो । सानै उमेरमा उनले आफ्नै देश अर्जेन्टिना छोडेर हजारौं किलोमिटर टाढा स्पेन जानुपर्यो । परिवार, साथी, भाषा, संस्कृति, वातावरण सबै कुरा नयाँ थियो । तर एउटा कुरा कहिल्यै बदलिएको थिएन- उनको फुटबल सपना ।
नयाँ देशमा बस्नु, परिवारबाट टाढा हुनु, नयाँ भाषा सिक्नु र आफूलाई प्रमाणित गर्नु सजिलो थिएन । धेरै रात उनी परिवारको सम्झनामा रोए । तर उनले आफ्नो लक्ष्य कहिल्यै छोडेनन् । अभ्यासमा उनी सबैभन्दा पहिले मैदान पुग्थे र सबैभन्दा अन्तिममा मैदान छोड्थे । हजारौं घण्टाको अभ्यास, अनुशासन र अथक मेहनतले उनको प्रतिभालाई महानतामा परिवर्तन गर्यो ।
समय बित्दै गयो । उनले स्पेनको बार्सिलोना क्लबका लागि इतिहास रचे । १० पटक ला लिगा, ७ पटक कोपा डेल रे, ४ पटक यूईएफए च्याम्पियन्स लिग, ३ पटक फिफा क्लब विश्वकपसहित दर्जनौं उपाधि जिते । क्लबका लागि ६७२ गोल गर्दै इतिहासकै सर्वाधिक गोलकर्ता बने । व्यक्तिगत रूपमा उनले विश्वकै उत्कृष्ट फुटबलरलाई प्रदान गरिने बालोन डी'ओर पुरस्कार ८ पटक जिते, जुन आजसम्म कसैले पनि पार गर्न नसकेको कीर्तिमान हो । उनले युरोपियन गोल्डेन बुट पनि सबै भन्दा धेरै ६ पटक जितेका छन् । संसारभरका लाखौं समर्थकका लागि उनी प्रेरणाको प्रतीक हुन् ।
मेसीले क्लब फुटबलमा थुप्रै प्रकारका ठूल्ठूला सफलता हासिल गरे पनि तर आफ्नै देशको राष्ट्रिय टोलीबाट भने बारम्बार असफल भइरहेका थिए । २००७ को कोपा अमेरिका, २०१४ को वर्ल्ड कप फाइनल, २०१५ र २०१६ को कोपा अमेरिका फाइनल पटक-पटक उनी जितको नजिक पुगेर पनि खाली हात फर्किनु परेको थियो ।
संसारले उनको प्रतिभा होइन, हार मात्र गनिरह्यो, आलोचना गरिरह्यो । लाखौं आलोचना भए । आफ्नै देशका केही समर्थकले समेत उनलाई दोष दिए । सामाजिक सञ्जालदेखि टेलिभिजनसम्म उनको आलोचना भयो । अन्ततः २०१६ मा उनले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गर्न बाध्य भए ।
कल्पना गर्नुहोस्, जसले आफ्नो सम्पूर्ण जीवन देशका लागि समर्पण गरेको थियो ऊ नै आफ्नै देशमा सबैभन्दा धेरै आलोचित बन्यो । त्यो पीडा शब्दमा बयान गर्न सकिँदैन । धेरै मानिस त्यहीँ टुट्थे । धेरैले सपना त्यहीँ समाप्त गर्थे । तर मेसीले हार स्वीकारेनन् । उनले केवल केही समयका लागि विश्राम लिए । उनी फेरि फर्किए । पहिले भन्दा अझै धेरै जिम्मेवारी, धैर्य र विश्वासका साथ उनले आलोचनालाई घृणा बनाएनन्, इन्धन बनाए । आँसुलाई कमजोरी होइन, संघर्षको शक्ति बनाए र समयले पनि आखिर न्याय गर्यो । २०२१ र २०२४ मा कोपा अमेरिका र अन्ततः २०२२ मा फिफा वर्ल्ड कप (जुन ट्रफीका लागि उनले वर्षौँसम्म अपमान र घृणाको आँसु बगाएका थिए, त्यही ट्रफी अन्ततः उनको हातमा आयो) जिताए । त्यो केवल एउटा कप जित्नु थिएन, त्यो धैर्यको विजय थियो, विश्वासको विजय थियो, कहिल्यै हार नमान्ने साहसको विजय थियो ।
मेसीको यात्रा अझै समाप्त भएको थिएन । विश्वकप जितेपछि पनि उनले आफूलाई रोकेनन् । बरु उनले प्रमाणित गरे कि महानता केवल एउटा उपाधिले होइन, निरन्तर उत्कृष्ट प्रदर्शनले निर्धारण हुन्छ । २०२२ को फिफा वर्ल्ड कप जिते पछि उनि फ्रान्सको पीएसजी क्लबमा आबद्ध भए र त्यहाँ पनि उनले थुप्रै ट्रफी जिते । फेरि मेसी २०२३ मा अमेरिकाको इन्टर मियामी एफसीमा आबद्ध भए । धेरैले उनको करियर अब ओरालो लागेको ठाने तर उनले त्यहाँ पनि इतिहास रचे । क्लबमा पुगेको केही समयमै पहिलो ट्रफी जिताउँदै उनले संसारलाई फेरि एकपटक आफ्नो जादु देखाए । जहाँ पुगे, त्यहीँ इतिहास लेखे । यही त महानताको परिचय हो ।
समय बित्दै जाँदा २०२६ को फिफा वर्ल्ड कप आयो, जुन अहिले चलिरहेको छ । धेरैले प्रश्न गरे, के ३९ वर्षको मेसी अझै विश्वकप खेल्न सक्छ ? तर मेसीले शब्दले होइन, विश्वकपको मैदानमा उत्रिएर आफ्नो जादुले उत्तर दिइरहेको छन् । उनी इतिहासमा लगातार ६ वटा विश्वकप खेल्ने पहिलो फुटबलर बने । भलै आज उनी पहिलेजस्तो तीव्र गतिमा दौडिँदैनन् । हरेक डिफेन्डरलाई एक्लै छल्दैनन् । तर उनको एउटा पास, एउटा स्पर्श, एउटा फ्रिकिक, एउटा मुस्कान र एउटा प्रेरणाले अझै करोडौंको हृदय धड्काउँछ । उमेरले उनको गति घटायो होला तर उनको प्रभाव कहिल्यै घटाउन सकेन ।
२०२६ को विश्वकपमा पनि अर्जेन्टिना कठिन यात्राबाट अघि बढिरहेको छ । कप्तानका रूपमा मेसीले फेरि टोलीलाई अगाडि बढाइरहेका छन् र उनको अनुभव, नेतृत्व तथा निर्णायक प्रदर्शनले टोलीलाई आशा दिइरहेको छ । सायद यो उनको अन्तिम विश्वकप हुन सक्छ । तर यदि यो अन्तिम हो भने पनि, यो कुनै अन्त्य होइन-यो एउटा अमर कथाको पूर्णविराम मात्र हो ।
आज मेसी केवल अर्जेन्टिनाका कप्तान मात्र होइनन, उनी फुटबल दुनियाको एउटा युग हुन् । ट्रफी, गोल र कीर्तिमान कुनै दिन नयाँ खेलाडीले तोड्लान तर संघर्ष, समर्पण र विनम्रताले लेखिएको उनको कथा भने कहिल्यै पुरानो हुनेछैन । इतिहासले धेरै महान् खेलाडी जन्मायो, जन्माउला तर संघर्षलाई मुस्कानमा बदल्न सक्ने पात्र विरलै जन्मिन्छन् । त्यसैले समय बित्ला, पुस्ता फेरिएलान तर एउटा नाम सधैँ जीवित रहनेछ- G.O.A.T. लियोनल मेसी ।
मेसीको कथा फुटबलको कथा मात्र होइन । यो हरेक संघर्षरत मानिसको कथा हो । हरेक त्यस्तो व्यक्तिको कथा हो जो रातभरि रोएर बिहान मुस्कुराउन बाध्य हुन्छ । जो परिवारका लागि आफ्ना रहर गाड्छ । जो विदेशको एकान्त कोठामा भविष्यको सपना देखेर पसिना बगाउँछ । जो पटक-पटक असफल भएर पनि फेरि उठ्ने साहस गर्छ ।
आज सायद तपाईं पनि थाक्नुभएको होला । जिम्मेवारीले थिचेको होला । धेरै प्रयास गर्दा पनि नतिजा नआएको होला । आफूभन्दा कम मेहनत गर्नेहरू अगाडि गएको देखेर मन दुखेको होला । कहिलेकाहीँ त आफूले गरेको मेहनतको कुनै अर्थ छैन जस्तो पनि लाग्न सक्छ । तर याद राख्नुहोस, बीउ रोपेको भोलिपल्ट फल लाग्दैन । समय लाग्छ, धैर्य चाहिन्छ, विश्वास चाहिन्छ ।
जिन्दगीले कसैलाई पनि बिनापरीक्षा ठूलो सफलता दिएको इतिहास छैन । सुन आगोमा पग्लिएर मात्र गहना बन्छ । हीरा हजारौं टन चट्टानको दबाब सहेर मात्र हीरा बन्छ । त्यसैगरी, मानिस पनि दुःख, असफलता र संघर्षको आगो पार गरेपछि मात्र बलियो बन्छ । अरूले तपाईंलाई विश्वास नगरे पनि फरक पर्दैन, तर आफूले आफूलाई विश्वास गर्न छोड्नु हुँदैन । किनकि संसारले तपाईंको आजको अवस्था देख्छ तर भगवान र समयले तपाईंको भोलिको सम्भावना देखिरहेका हुन्छन् ।
मेसीले हामीलाई सिकाएको सबैभन्दा ठूलो पाठ यही हो: प्रतिभाले तपाईंलाई शुरू गराउँछ तर धैर्य, अनुशासन र निरन्तर मेहनतले मात्र गन्तव्यसम्म पुर्याउँछ । यदि मेसी आलोचना, हार र निराशामा डुबेर सधैंका लागि रोकिएका भए, आज संसारले उनलाई इतिहासकै महान खेलाडी भनेर सम्झिने थिएन ।
त्यसैले, मेसीको जीवन कहानीले हामीलाई एउटा अमूल्य सन्देश दिन्छ- सफलता रातारात प्राप्त हुँदैन । सपना देख्नेहरू धेरै हुन्छन् तर सपना पूरा गर्नेहरू उनीहरू हुन् जो असफलतापछि पनि उठ्न जान्दछन् । आलोचना अन्त्य होइन, नयाँ शुरूआत हो । आँसु कमजोरी होइन, भविष्यको सफलताको बीउ हो । धैर्य कहिल्यै व्यर्थ जाँदैन र समयले एक दिन सबै मेहनतको मूल्य अवश्य दिन्छ ।
आज तपाईंको जीवनमा जति नै कठिन समय किन नहोस्, हार नमान्नुहोस् । आजको आँसु भोलिको मुस्कान बन्न सक्छ । आजको संघर्ष भोलिको सफलताको सबैभन्दा सुन्दर अध्याय बन्न सक्छ । तपाईं अहिले जुन पीडा सहिरहनुभएको छ, सायद त्यही पीडाले भविष्यमा तपाईंको परिचय बनाउनेछ । समयले ढिलो गर्न सक्छ, तर न्याय गर्न कहिल्यै बिर्सँदैन । त्यसैले, सपना देख्न नछोड्नुहोस्, संघर्ष गर्न नछोड्नुहोस्, धैर्य गुमाउन नदिनुहोस् । किनकि एक दिन तपाईंको जीवनको कथा पनि कसैको प्रेरणा बन्नेछ ।
याद राख्नुहोस्, मेसी रातारात ‘फुटबलको भगवान’ बनेका होइनन् । हजारौं आँसु, असफलता, अपमान, आलोचना र कहिल्यै हार नमान्ने साहसको मूल्य चुकाएपछि मात्र इतिहासले उनलाई त्यो सम्मान दिएको हो र त्यसको लायक भएका हुन् ।
सायद, अब मेसीको जीवन कहानीबाट प्रेरणा लिएर संघर्ष गर्ने पालो तपाईंको हो । हामी पनि मेसीजस्तै धैर्य, विश्वास र निरन्तर मेहनतका साथ अघि बढिरह्यौँ भने एक दिन सफलता पनि हाम्रो ढोका ढक्ढक्याउन अवश्य आउनेछ । त्यस दिन आजका सबै पीडा, आँसु र असफलताले गर्वका साथ भन्नेछन्- यही संघर्षले तिमीलाई यहाँसम्म ल्याएको हो !