
फिफा विश्वकपको समूह 'एच' अन्तर्गत आइतबार राति सम्पन्न खेलमा स्पेनले साउदी अरबलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ।
एटलान्टा स्टेडियममा भएको खेलमा सानदार जित निकाल्दै स्पेन ४ अंकका साथ समूहको शीर्ष स्थानमा उक्लिएको छ।
खेलको सुरुदेखि नै आक्रामक देखिएको स्पेनले पहिलो हाफमै तीन गोलको अग्रता बनाएको थियो। खेलको १०औँ मिनेटमा लामिन यमलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। यस प्रतियोगितामा पहिलो पटक सुरुवाती ११ मा परेका यमलले मिकेल ओयार्जाबलको पासलाई सुन्दर गोलमा परिणत गरेका थिए।
स्पेनको आक्रमण यतिमा मात्र रोकिएन। मिकेल ओयार्जाबलले खेलको २१औँ र २४औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई ३–० को मजबुत स्थितिमा पुर्याए। ओयार्जाबलले पहिलो खेलमा गरेको संघर्षलाई बिर्साउँदै यस खेलमा दुई गोल र एक असिस्टसहित उत्कृष्ट प्रदर्शन गरे।
दोस्रो हाफको सुरुवातमै साउदी अरबका लागि थप चुनौती थपियो। ४९औँ मिनेटमा साउदीका डिफेन्डर हसन अल तम्बाक्तीले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि स्पेनको अग्रता ४–० पुग्यो।
साउदी अरबले खेलको अन्त्यतिर केही सुधारिएको प्रदर्शन गरे पनि स्पेनको बलियो रक्षापंक्ति तोड्न सकेन। ८१औँ मिनेटमा अब्दुल्लाह अल हमदानले गरेको प्रहारलाई स्पेनिस गोलकिपर उनाई सिमोनले सहजै बचाएका थिए।
स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले दोस्रो हाफमा पेड्रि, ड्यानी ओल्मो र निको विलियम्स जस्ता मुख्य खेलाडीहरूलाई परिवर्तन गर्दै टोलीमा रोटेसन गरेका थिए। साउदी अरबले खेलभरि स्पेनलाई खासै दबाबमा राख्न सकेन, जसका कारण स्पेनले सहज जित दर्ता गर्यो।
आफ्नो पहिलो खेलमा केप भर्डसँग बराबरी खेलेको स्पेनले यो जितसँगै दोस्रो चरणको सम्भावना बलियो बनाएको छ। उता, उरुग्वेसँग पहिलो खेल बराबरी खेलेको साउदी अरब भने २ खेलबाट मात्र १ अंक जोड्दै संकटमा परेको छ।