१० असार २०८३, बुधबार

मस्कोतर्फ आएका करिब ६० ड्रोन खसालियो, रुसी आक्रमणमा युक्रेनमा पाँच जनाको मृत्यु

असार ८, २०८३
काठमाडौं
मस्कोतर्फ आएका करिब ६० ड्रोन खसालियो, रुसी आक्रमणमा युक्रेनमा पाँच जनाको मृत्यु

रुसको राजधानी मस्कोतर्फ आएका दर्जनौं युक्रेनी ड्रोनलाई रुसी वायु प्रतिरक्षा प्रणालीले सोमबार बिहान खसालेको छ ।

मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार राजधानीतर्फ आइरहेका करिब ६० वटा ड्रोन खसालिएका हुन् । ड्रोन खसालिएका क्षेत्रमा उद्धार तथा आपत्कालीन सेवाका टोली परिचालन गरिएको उनले टेलिग्राममार्फत जानकारी दिएका छन् ।

ड्रोन आक्रमणका कारण मस्कोका शेरेमेत्येभो, दोमोदेदोभो, भ्नुकोभो तथा झुकोभ्स्की विमानस्थलमा केही समय उडान अवरुद्ध गरिएको थियो । पछि उडान सेवा पुनः सञ्चालनमा ल्याइएको रुसी उड्डयन निकायले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार रातभरिमा रुस तथा रुसको नियन्त्रणमा रहेका युक्रेनी क्षेत्रहरूमा गरी कुल ३०१ वटा ड्रोन खसालिएका छन् ।

गत साता युक्रेनी ड्रोनले मस्कोको एकमात्र तेल प्रशोधन केन्द्रलाई पुनः निशाना बनाएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको थियो ।

युक्रेनी ड्रोन आक्रमणका कारण आपूर्ति शृंखलामा समस्या आएपछि क्रिमियामा इन्धन संकटसमेत उत्पन्न भएको बताइएको छ ।

यता युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा भएको रुसी ड्रोन आक्रमणमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । क्षेत्रीय अभियोजन कार्यालयका अनुसार १३ वर्षीय बालक, उनका ३६ वर्षीय बुवा र ७३ वर्षीया हजुरआमाको ज्यान गएको हो । बालककी आमा र उनका दुई दाजुभाइ तथा दिदीबहिनी घाइते भएका छन् ।

दक्षिणपूर्वी शहर जापोरिज्झियामा भएको अर्को ड्रोन आक्रमणमा एक महिलाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । 

त्यस्तै, आइतबार साँझ ओडेसा क्षेत्रमा रुसले प्रहार गरेको इस्कान्दर ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा एक जनाको मृत्यु र तीन जना घाइते भएको क्षेत्रीय गभर्नर ओलेह किपरले बताएका छन् । आक्रमणबाट एक कृषि केन्द्रमा आगलागी हुँदा सवारीसाधन र इन्धन भण्डारण ट्यांकीमा क्षति पुगेको जनाइएको छ ।

यसैबीच, रुसद्वारा कब्जा गरिएको क्रिमियाको सेवास्तोपोल शहरमा सबै खुला सार्वजनिक कार्यक्रम रद्द गरिएको छ । गभर्नर मिखाइल रज्भोजायेभले नागरिकलाई विद्युत् खपत कम गर्न आग्रह गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्