१० असार २०८३, बुधबार
ग्रे लिस्टमा यथावत्

नेपाल एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन सकेन

असार ८, २०८३
काठमाडौं
नेपाल एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन सकेन

नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को  ग्रे लिस्टबाट बाहिर आउन असफल भएको छ । एफएटीएफले नेपाललाई ग्रे लिस्टमा यथावत् राख्ने निर्णय गरेको हो । 

फ्रान्सको पेरिसमा १७–१९ जुन २०२६ मा सम्पन्न  एफएटीएफको प्लेनरी बैठकले नेपालको ग्रे लिस्टको अवस्था यथावत राख्ने निर्णय गरेको हो ।

नेपाललाई सन २०२५ फेब्रुअरीमा एफएटीएफको ग्रे लिस्टमा राखिएको थियो । त्यसयता नेपालले एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी)सँग मिलेर आफ्नो सम्पत्ति शुद्धीकरणको प्रणाली मजबुत बनाउने प्रतिबद्धता जनाएको थियो ।

एफएटीएफले नेपालले लक्षित वित्तीय प्रतिबन्ध  सम्बन्धी केही प्राविधिक कमजोरी हटाउन केही कदम चालेको स्वीकार गरेको छ । तर नेपालले आफ्नो एक्सन प्लान पूरा गर्न बाँकी मुख्य काममा अझै ध्यान दिनुपर्ने बताएको छ ।

एफएटीएफले नेपालले मनी लाउन्डरिङ र आतंकवादी वित्त पोषण जोखिमको बुझाई सुधार गर्नुपर्ने उल्लेख गरेको छ । यसका साथै वाणिज्य बैंक, सहकारी, क्यासिनो, सुनचाँदी तथा रियल इस्टेट क्षेत्रमा जोखिममा आधारित सुपरीवेक्षण सुधार गर्नुपर्ने भनिएको छ । 

वित्तीय समावेशितालाई असर नपार्ने गरी अवैध हुन्डी प्रदायकलाई पहिचान गरी कारबाही गर्नुपर्ने, सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्न सक्षम अधिकारीहरूको क्षमता र समन्वय बढाउनुपर्ने, सम्पत्ति शुद्धीकरण अनुसन्धान र मुद्दा दर्ता बढाउनुपर्ने र अपराधबाट प्राप्त सम्पत्ति पहिचान, रोक्का, जफत र कब्जा गर्न प्रभावकारी उपाय नेपालले अपनाउनुपर्ने एफएटीएफले उल्लेख गरेको छ ।

एफएटीएफले सुधारका लागि नेपाललाई सन् २०२७ सम्मको म्याद दिएको छ । ग्रे लिस्टमा रहनुको असर प्रत्यक्ष प्रतिबन्धभन्दा परसम्म पुग्छ ।

विदेशी लगानीकर्ताको विश्वास घट्ने, अन्तर्राष्ट्रिय बैंकिङ कारोबार झन्झटिलो हुने, वैदेशिक ऋण र अनुदान प्रक्रियामा कडाइ हुने र देशको समग्र आर्थिक कूटनीतिमा नकारात्मक असर पर्ने जोखिम रहने अर्थविज्ञहरू बताउँछन् । 

लामो समयसम्म यस सूचीमा रहनुले अन्तर्राष्ट्रिय साखमा समेत प्रश्न उठाउँछ । यो सूचीमा पर्नुको अर्थ देशभित्र वित्तीय अपराध बढिरहेका छन् भन्ने सन्देश जान्छ र जसले नेपालप्रति अन्तर्राष्ट्रिय विश्वास घटाउँछ । 

यसका कारण अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीसँगको सम्बन्ध बिग्रन गई वैदेशिक व्यापारमा अवरोध उत्पन्न हुने र कारोबार प्रक्रिया जटिल हुन जान्छ । 

अर्कोतर्फ हुन्डी कारोबार बढ्न गई विप्रेषण प्रणाली प्रभावित हुनपुग्छ । वैदेशिक सहायता तथा प्रत्यक्ष विदेशी लगानीमा गिरावट आउन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । 

जसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ । वित्तीय साख कमजोर हुँदै जाँदा नेपाली नागरिक र सरकारको सम्पत्ति जोखिममा पर्न सक्छ । जसले पूँजी पलायनलाई तीव्र बनाउने जानकारहरू बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्