
विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्यांकर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको ट्यांकर चोरी भएको हो ।
आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीका अनुसार आइतबार राति पार्किङमा राखिएको उक्त ट्यांकर सोमबार बिहान हराएको जानकारी आएको थियो ।
खोजी गर्ने क्रममा उक्त ट्यांकर सुनसरीको बर्जुस्थित हुलाकी सडक खण्डमा बिहान ११ बजे फेला परेको हो । सुनसरी प्रहरीले हाल ट्यांकरलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
ट्यांकर धनी नवीन कर्णले दिएको जानकारी अनुसार उक्त ट्यांकरमा २० हजार लिटर पेट्रोलियम पदार्थ थियो । भारतको सिलीगुढीबाट तेल लोड गरेर आइतबार साँझ ८ बजे पार्किङमा प्रवेश गरेको थियो ।
ट्यांकरलाई निगमको क्यु (लाइन)मा राखिएको थियो । ‘हामी सबै जना आयल निगममा तालिममा थियौं, बिहान साढे ८ बजेतिर मात्र गाडी नभएको थाहा पायौं,’ कर्णले भने । चालकहरू तालिममा रहेको मौका छोपेर ट्यांकर चोरी भएको देखिन्छ ।
प्रारम्भिक नापजाँच गर्दा ट्यांकरबाट झण्डै १ हजारदेखि १२ सय लिटर तेल चोरी भएको कर्णले बताए । व्यवसायी नवीन कर्णले भने, ‘२० हजार लिटर तेल थियो, अहिले नापजाँच गर्दा हजार–बाह्र सय लिटर तेल पुग्दैन कि भन्ने अनुमान छ ।’
यद्यपि, गाडी रहेको स्थान अलि भिरालो र कोल्टे परेकाले ठ्याक्कै कति तेल गायब भयो भन्ने कुरा मुचुल्का उठाएर डिपोमा पुर्याएपछि मात्र यकिन हुने उनले बताए ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले घटनास्थलको अनुसन्धान गरेको छ । भोलि (मंगलबार) जिल्ला प्रहरी कार्यालय मोरङ, ढुवानी प्रतिनिधि र निगमका अधिकारीहरूको रोहबरमा मुचुल्का उठाएर ट्यांकरलाई डिपोमा ल्याइने तयारी गरिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका-८ को हुलाकी राजमार्गमा ट्यांकर बेवारिसे अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नाायब उपरीक्षक चन्द्र खड्काले जानकारी दिए ।
‘चोरेर हुलाकी राजमार्गमा ल्याएर चोरले छाडेको रहेछ’, खड्काले भने, ‘हामीले थप अनुसन्धान गरिरहेका छौं ।’