
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधवार मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाए । पत्रकार सम्मेलन गर्दै बोहराले राजीनामा घोषणा गर्दै आफू प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपामा रहेको बताए ।
मन्त्रीले राजीनामा नै दिएर आफ्नो पक्षमा लागेपछि ओली पक्ष उत्साही भएको छ । ‘दृढ इच्छाशक्ति र यथेष्ट प्रयत्नका बाबजुद जनभावना अनुसार काम गर्न विभिन्न कठिनाइ एवं चुनौतीको सामना गर्नुपरेकाले प्रदेश सरकारको मन्त्री पदमा बसिरहँदा प्रदेशका जनताको अपमान हुने भएकाले राजीनामा गरेको छु,’ मन्त्री बोहराले पत्रकार सम्मेलनमा भने ।
मन्त्री बोहराले पत्रकार सम्मेलनमा हालसम्म आफूले गरेका कार्यको विवरण प्रस्तुत गरेका थिए ।
यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षमा खुलेका भौतिक पूर्वाधार मन्त्री पठान बोहरालाई बर्खास्त गरेका थिए । मन्त्री बोहरालाई बर्खास्त गरेलगत्तै ओली पक्षले मुख्यमन्त्री भट्ट नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएको थियो ।
‘प्रदेश सरकारको दिनगन्ती शुरू भयो’
प्रदेश सभामा अल्पमतमा रहेको केपी पक्षले आफ्नो पक्षमा सांसदहरू खुल्न थालेको दाबी गरेको छ । ‘हामी हिजोसम्म ६ जना थियौं खुलेका, आज ७ भएका छौं,’ प्रदेशसभा सदस्य नेपालु चौधरीले भने, ‘अब यो संख्या बढ्दै जान्छ । हाम्रो पक्षमा केही दिनमै बहुमत सांसद पुग्नुहुन्छ ।’ मुख्यमन्त्री भट्ट नेतृत्वको सरकार असफल भइसकेको धेरै दिन नटिक्ने उनले बताए ।
प्रदेश सरकार असफल भइसकेको प्रदेशसभा सदस्य महेशदत्त जोशीले बताए । ‘सरकार पूर्ण रूपमा असफल भइसकेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ,’ उनले भने, ‘सांसदहरू हाम्रो पक्षमा खुल्दै गइरहनुभएको छ । ढिलोचाँडो सरकार ढल्छ, मुख्यमन्त्रीमा काम गर्ने इच्छा शक्ति नै छैन ।’
प्रदेश सरकारविरुद्ध मोर्चाबन्दी शुरू भइसकेको प्रदेशसभा सदस्यहरूको तर्क छ । ‘वर्तमानमा सरकार देखेर प्रचण्ड–नेपाल पक्षकै प्रदेशसभा सदस्यहरू नै असन्तुष्ट छन्,’ प्रदेशसभा सदस्य रतन थापाले भने, ‘सरकारको आयू धेरै छैन, हामी त सरकार गिराउने पक्षमा छैनौं । तर वर्तमान सरकारले जनअपेक्षा अनुसारका काम गर्न सकेको छैन, सांसदहरू रुष्ट छन्, सरकारको आयु धेरै छैन ।’
‘एक जना मन्त्री घट्दैमा केही फरक पर्दैन’
प्रचण्ड–नेपाल पक्षका सांसद भने सरकारबाट २ मन्त्री बाहिरिँदैमा समीकरणमा केही फरक नपर्ने बताए । नेकपा संसदीय दलका प्रमुख सचेतक रहेका प्रदेशसभा सदस्य तारालामा तामाङले भने, ‘सरकारमा बस्ने/नबस्ने त उहाँको स्वतन्त्रताको कुरा हो । मन्त्रालय सञ्चालन गर्ने इच्छा नै भएन, सरकारमा बसिराख्ने कुरो पनि भएन तर उहाँले यो अवस्थामा राजीनामा दिनु गलत हो ।’
‘सरकारी योजना कार्यान्वयनको चरणमा लैजानुपर्ने बेलामा अर्थमन्त्रीले पदबाट राजीनामा दिँदा प्रदेश सरकारका सम्पूर्ण काम कारबाही प्रभावित हुन्छन् । जसले गर्दा सरकारले जनअपेक्षा अनुसारका काम गर्न सक्दैन । तर मुख्यमन्त्री भट्टले अब रिक्त रहेका मन्त्रालयमा चाँडै जिम्मेवारी प्रदान गर्नुहुन्छ । राजनीतिमा यो हुने कुरा हो, धेरै समस्या पर्दैन,’ उनले भने ।
‘पार्टी र सरकारको समीकरणमा कुनै फरक पर्दैन’
सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले अर्थमन्त्रीको राजीनामाले संसदीय दल र सरकारमा केही फरक नपर्ने बताए । ‘उहाँलाई दबाब दिएर राजीनामा दिनुस् भनेर कसैले भनेको छैन,’ मन्त्री शाहले भने, ‘उहाँले आफ्नो इच्छाले राजीनामा दिनुभएको हो, यसले केही असर पर्दैन । हाललाई अर्थ मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्रीले लिनुहुन्छ ।’