०४ असार २०८३, बिहीबार

‘देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र’ नामक पुस्तक सार्वजनिक

फागुन २४, २०७७
‘देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र’ नामक पुस्तक सार्वजनिक

पाशुपत क्षेत्रमा महत्वका साथ मनाइने महाशिवरात्रिको सन्दर्भ पारेर ‘देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र’ नामक पुस्तक सार्वजनिक भएको छ ।

पूर्व प्रशासक, आध्यात्मिक चिन्तक एवं साहित्यकार हरिप्रसाद रिमालले लेखेको पुस्तक सोमवार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।

पुस्तक सार्वजनिक गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले मल्लकालदेखि नै शासकले पशुपतिनाथको आराधनामा कमी गरेकाले कृपादृष्टि पनि कमै हुन थालेको बताए ।

‘लिच्छविकालका शासकले आफूलाई पशुपति भट्टारक लेख्थे, खासमा नेपालको शासक पशुपतिनाथ हुन्, छाना र गजुरसमेत सुनको भएको पशुपतिमा सुनको जलहरी राख्दा विरोध गरियो, पशुपतिमा पूजा आराधना गर्न प्रधानमन्त्री केपी शर्मा ओली जानुभएकामा पनि विरोध भयो,’ उनले भने । 

पशुपतिमा सुनकै शंखले अघ्र्य चढाइने र सुनको घण्ट बजाइने गरेकाले सुनको जलहरी राख्नुहुन्न भनी विरोध गर्नुको अर्थ नरहेको संस्कृतिविद् गुरुङको भनाइ थियो । पशुपतिनाथमा बगलामुखीको जस्तै सुनको ‘कोश’ नै चढाइनुपर्ने उनको तर्क थियो । 

पुस्तकका लेखक रिमालले पशुपति दर्शन गर्न जाने बेलामा भक्तजन विधि पूरा नगरी एकैपटक मूल मन्दिरमा दर्शन गरेको देखेपछि दर्शन विधि जानकारी दिनकै लागि पुस्तक लेख्ने प्रेरणा मिलेको बताए ।

भगवान्ले ‘मेरो रखवारी गरेर बस्नेको पूजा नगरी मकहाँ आउनेसँग म खुसी हुन्नँ’ भनी विभिन्न पौराणिक ग्रन्थमा भनेको उल्लेख गर्दै उनले जानकारीमूलक सानो पुस्तिका तयार पार्ने सोच अघि बढ्दा ४०४ पृष्ठको पुस्तक तयार भएको बताए ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले पशुपतिनाथका विषयमा जानकारी दिन पुस्तक सफल भएको बताए । कोषले पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदाका विषयमा नेपालीमा पुस्तक प्रकाशन गरी त्यसको अंग्रेजी अनुवादसमेत सार्वजनिक गर्न लागिएको जानकारी उनले दिए ।

शिवमहापुराण भाग–१ छिट्टै बजारमा आउन लागेको जानकारी दिँदै उनले भाग–२ र भाग–३ पनि प्रकाशनको तयारी भइरहेको बताए । गुरुयोजनाअनुसार पशुपति हिन्दू विश्वविद्यालय, पशुपति संग्रहालय, पशुपति अस्पताल, गौशालालगायत भौतिक संरचना निर्माण गरी पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको तीर्थस्थलका रूपमा विकास गरिने उनको प्रतिबद्धता थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्