
योगश्चितवृत्तिनिरोध अर्थात् योगले चित्तवृत्तिको निरोध गर्दछ । चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो ।
महर्षि पतञ्जलीका अनुसार हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पन्न गर्दछ ।
योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । योगले अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सबलतातर्फ, जीवनबाट ब्रह्मतर्फ, प्रत्यक्षबाट परोक्षतर्फ एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रामा पुर्याउँछ ।
योगको वास्तविक अर्थ हो जोड्नु, मिल्नु वा एकाकार हुनु हो ।
यहाँ पुनः अर्को शब्दमा जीवात्मा र परमात्माको एकाकारको अवस्था नै योग हो भनेका छन् ।
हामीले योगको वास्तविक सिद्धान्तभन्दा टाढा रहेर आसनलाई नै योग ठानेका छौं । योगका ८ वटा खुड्किला छन् । यी आठ अंगलाई क्रमशः आत्मसात गर्यौं भने योगको यात्रामा हामी सही अर्थमा लाग्नेछौं । मनमा अपवित्र भाव तथा तृष्णा बोकेर हातखुट्टाको अभ्यास गर्नु योग हैन । त्यो शारीरिक अभ्यास मात्र हो । योगबाट सिद्धि प्राप्तिका लागि तलका सिंढीहरू उत्तरोत्तर चढ्नुपर्ने हुन्छ । यी आठ प्रकारका सिंढी यसप्रकार छन् ।
१) यम, २) नियम, ३) आसन, ४) प्राणायाम, ५) प्रत्याहार, ६) धारणा ७) ध्यान ८) समाधि
१) यम : यमको अर्थ संयम र नैतिकता हो । हामीले अरूलाई त्यस्तो काम गर्नुहुँदैन जस्तो काम अरूले आफूलाई नगरोस् भन्ने हाम्रो अपेक्षा हुन्छ । यमअन्तर्गत निम्न लिखित उप अंग छन् ।
अहिंसा: शब्दबाट, विचारबाट र कर्मबाट कसैलाई पनि हानी नपुर्याउनु अर्थात मन, वचन र कर्मद्वारा कुनैपनि प्राणीलाई कुनै अनि प्रकारको कष्ट नदिने भावना नै अहिंसा हो । अर्थात प्राणीहरूलाई प्रेम गर्नु नै अहिंसा हो ।
सत्य- सत्य विचार गर्नु र सत्यतामा स्थिर रहनु नै सत्य हो । अर्थात मनले जे बुझ्छ, आँखाले जे देख्छ, कानले जे सुन्छ त्यही बताउनु नै सत्य हो । सत्य बाहिरी मात्र नभएर आन्तरिक पनि अस्तेय: मन, वचन र कर्मदेखि नै चोरी नगर्ने तथा अर्को व्यक्तिको धनसम्पत्तिको लोभ नगर्नु नै अस्तेय हो ।
ब्रह्मचर्य :इन्द्रीय सुखमा संयम बन्नु तथा ब्रह्मज्ञानमा स्थिर रहनु अर्थात् समस्त ज्ञानेन्द्रीय तथा कर्मेन्द्रीयलाई संयममा राख्नु, वाणी र शरीरबाट बासनाभोग नगर्नु नै ब्रह्मचर्य हो ।
अपरिग्रह – आवश्यकताभन्दा धेरै संचय नगर्नु अर्थात् अनायास प्राप्त भएका सुखका साधनको त्याग, चोरीको त्याग, दानको अस्वीकार तथा आवश्यकताभन्दा धेरै सम्पत्ति तथा सामग्रीको सञ्चय नगर्नुलाई अपरिग्रह भनिन्छ ।
२. नियम: व्यक्तिगत नैतिकता । नियम अन्तर्गत निम्न लिखित उपअंग पर्दछन् ।
शौच :शरीर र मनको शुद्धि हुनु अर्थात् शरीरको बाह्य तथा आन्तरिक शुद्धिलाई शौच भनिन्छ । स्नान, सात्विक भोजन, राग / द्वेष आदिलाई त्यागेर मनका वृत्तिलाई निर्मल बनाउनु नै शौच हो ।
सन्तोष –आफ्नो अवस्थामा सधै सन्तुष्ट रहनु, आफ्नो मेहनत र कामले जे प्राप्त हुन्छ त्यसमा सन्तुष्ट तथा प्रसन्न हुनु नै सन्तोष हो ।
तप – सुख /दु:ख, जाडो/ गर्मी, भोक / प्यास आदि द्वन्द्वलाई सहन सक्ने जुन मानसिक र शारीरिक साधना हुन्छ, त्यसलाई तप भनिन्छ ।
स्वाध्याय – विचार शुद्धि र ज्ञानप्राप्तिको लागि अध्ययन, सत्संग र विचारको आदान – प्रदान नै स्वाध्याय हो ।
ईश्वर-प्रणिधान –ईश्वरप्रति पूर्ण समर्पण र पूर्ण श्रद्धा गर्नु अर्थात मन, बचन र कर्मदेखि ईश्वरको भक्ति, ईश्वरको नाम, रूप, गुण, लीला आदिको श्रवण, कीर्तन, मनन तथा सबै कर्ममा ईश्वरार्पण गर्नु नै ईश्वर प्रणिधान हो ।
३. आसन :आसनको अर्थ आरामले बस्ने, मूर्तिवत रहने, मनलाई आफ्नो अधिनमा राख्ने तथा शरीरलाई ढिलो छोड्ने र लचक बनाउने हो । शास्त्रमा ८४ प्रकारका आसनको उल्लेख गरिएको छ ।
४. प्राणायाम : श्वासप्रश्वास लिने विशिष्ट तरिकाबाट प्राणवायुलाई नियन्त्रणमा राख्ने ।
५. प्रत्याहार :जुन इन्द्रीयले मनलाई चञ्चल बनाउँछन्, ती इन्द्रीयलाई विषयबाट हटाएर मनलाई एकाग्र राख्नु नै प्रत्याहार हो । प्रत्याहारमा इन्द्रीय आफ्नो अधिनमा रहन्छन् र इन्द्रीयमाथि पूर्ण विजय प्राप्ति हुन्छ ।
६. धारणा – एकाग्रचित्त भएर आफ्नो मनलाई अधिनमा राख्नु । हृदय, भ्रुमध्य आदिमा एकटकले मनलाई अड्याउनु ।
७. ध्यान –निरन्तर ध्यान गर्नु, ध्याता र ध्येय एकाकार हुनु ।
८. समाधि –परम चैतन्यको अवस्था अर्थात आत्मासँग शरीर/ मन एकाकार हुनु । ध्यानको परिपक्वता नै समाधि हो । समाधिपछि प्रज्ञाको उदय हुन्छ । योगको अन्तिम लक्ष्य यहि हो ।
आसन
आसन अष्टांग योगको तृतीय अंग हो । जसमा योगासानबाट शरीरलाई हृष्टपुष्ट बनाउनुको साथै योग साधनाको लागि योग्य बनाउँछ । आसनको सिद्धिबाट नाडीको सुद्धि, आरोग्यको वृद्धि र स्फूर्ति प्राप्त हुन्छ । शरीर स्थिर रहोस् तथा मनले सुख अनुभूति गरोस् भन्ने आसनको अर्को ध्येय हो । आसनको ज्ञानबाट सृष्टिमा भएका जीवजन्तुले कसरी बस्दा सुखको अनुभव गर्छन्, त्यो थाहा हुन्छ र अनुभव पनि हुन्छ ।
साध्यत्वको दृष्टिबाट योग आसनलाई चार वर्गमा विभाजन गर्न सकिन्छ ।
(१ ) ध्यानात्मक आसन
(२ ) आरामदायक आसन / सहज साध्य आसन
(३ ) सांस्कृतिक / साधारण आसन / श्रम साध्य
(४ ) कठिन / कष्ट साध्य आसन
क्रियाको दृष्टिबाट योग आसनलाई ५ वर्गमा विभाजन गर्न सकिन्छ -
(१ ) उभिएर गर्ने आसन
(२ ) बसेर गर्ने आसन
(३ ) पेटको बलमा सुतेर गर्ने आसन
(४ ) पीठको बलमा सुतेर गर्ने आसन
(५ ) शिरको बलले गर्ने आसन
आसन गर्नको लागि निम्न नियम पालना गर्नुपर्दछ –
(१ ) योगासन गर्ने स्थान शान्त, स्वच्छ तथा हावा खेल्ने हुनुपर्छ ।
(२ ) पेट खाली हुनुपर्छ ।
(३ ) भूमि समतल हुनुपर्छ ।
(४ ) मन एकाग्र हुनुपर्छ ।
(५ ) श्वास गति तथा मन सामान्य एवं शान्त राख्नुपर्छ ।
(६ ) अभ्यास बिस्तारै बिस्तारै सरलतापूर्वक गर्नुपर्छ ।
(७ ) दैनिक अभ्यास गर्नुपर्छ ।
(८ ) थोरै र सहज कपडा लगाउनुपर्छ ।
(९ ) प्रशिक्षकको निर्देशन अनुरुप सहि तरिकाले गर्नुपर्छ ।
(१० ) सन्तुलित तथा हल्का भोजन गर्नुपर्छ ।
(११ ) आँखा खुला अथवा सहज भावमा राख्नुपर्छ ।
(१२ ) नाकबाट सास लिनुपर्छ ।
(१३ ) मनमा आत्म विश्वास तथा शारीरिक निरोगताको भावना हुनुपर्छ।
केही लोकप्रिय आसनहरू :
सिद्धासन, पदमासन, स्वास्तिकासन, सुखासन, गोमुखासन, वज्रासन, योगासन, मत्स्यासन, शीर्षासन, सूर्य–नमस्कारामन, शवासन आदि । मनको शक्ति यताउता फैलिएका किरण समान हुन्छ । जब ती किरणलाई एकीकृत गरिन्छ, त्यसले मनलाई आलोकित गर्दछ । योगको अभ्यासले जबसम्म मनका विकार कम हुँदैनन् तबसम्म आध्यात्मिक ज्ञानको प्रकाश उपलब्ध हुँदैन ।