२८ जेठ २०८३, बिहीबार
लोकान्तर सम्पादकीय

जनताको जीवन रक्षा गर्दै अर्थतन्त्रलाई चलायमान बनाइराख

जनताको जीवन रक्षा गर्दै अर्थतन्त्रलाई चलायमान बनाइराख

कोभिड– १९ नाम दिइएको कोरोना महामारीले झण्डै एक वर्षसम्म शिथिल बनाएको अर्थतन्त्र र जनजीवन चलायमान बन्न शुरू गर्दै गर्दा नेपालमा कोरोनाको दोस्रो लहरको त्रास बढेको छ ।

कोरोना महामारीका कारण गत वर्षको चैत महिनादेखि बन्द रहेका विद्यालय लामो कालखण्डपछि केही साता अघिमात्र सुचारू भएका थिए । शनिवार फेरि सीसीएमसीले तीन साताका लागि विद्यालय बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिश गरेको छ । 

विद्यालय बन्द गर्न सीसीएमसीले गरेको सिफारिसले मानिसहरूमा फेरि एक प्रकारको सन्त्रास बढेको छ । कोरोनका कारण लामो समय बन्द रहेको अर्थतन्त्र भर्खरै तंग्रिँदै थियो । 

उल्लेख्य विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटकले नेपालको पर्यटन क्षेत्रलाई केही हदसम्म भए पनि राहत दिँदै आएको थियो । 

फाट्ट–फुट्ट विदेशी पर्यटक आउन थालेपछि सुस्ताएको पर्यटन व्यवस्थाले श्वास फेर्न शुरू गरेको छ । 

कोरोनाको संक्रमणको दोस्रो लहर फैलिने खतराका बावजुद पर्याप्त सावधानी अपनाएको देखिएको छैन । कोरोना संक्रमण फैलाउन सबभन्दा जोखिमपूर्ण ठानिएको राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा भीडभाड कायमै छ ।

रेष्टुराँ र चिया पसलमा पनि मानिसहरू विना मास्क भीडभाड गरेर बसेको देखिन्छ । भीडभाड हुने ठाउँमा भौतिक दूरी कायम गर्ने तथा मास्क लगाउने र हातधुने जस्ता सावधानी अपनाउने कुरालाई सरकारले कडाइ गर्न जरुरी छ । 

जनताको जीवन रक्षा सरकारको मुख्य दायित्व हो । साथसाथै देशको अर्थतन्त्रलाई चलायमान र बनाइराख्नु अनिवार्य शर्त हो । 

जनताको जीवन रक्षा गर्दै अर्थतन्त्रलाई चलायमान बनाइराख्नेतर्फ सरकारले ध्यान पुर्‍याउन जरुरी छ ।

फेरि पनि लकडाउन या ‘सेमी लकडाउन’जस्ता अर्थतन्त्रलाई धक्का दिने कुनै पनि कदम देशले धान्न सक्दैन ।

सावधानीका उपाय अवलम्बन गर्दै आम नागरिकलाई कोभिडविरुद्धको खोप छिटोभन्दा छिटो लगाउने प्रबन्ध गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुन जरुरी छ । 

नागरिकमा चेतना र पर्याप्त सावधानीबाट कोरोना संक्रमणको जोखिमलाई कम गर्न सकिन्छ ।

महामारीका बेला सरकारले गरेका आग्रहलाई नागरिकले अनुशरण गरे भने फेरि पनि लकडाउन गर्नुपर्ने आवश्यकता हुँदैन । 

salt training

कमेन्ट गर्नुहोस्