०४ असार २०८३, बिहीबार

सुदूरपश्चिम सरकारले बिर्सिएको त्यो बाढीको क्षति, वर्षा हुँदा स्थानीय रातभर जाग्राम

साउन ४, २०७८
सुदूरपश्चिम सरकारले बिर्सिएको त्यो बाढीको क्षति, वर्षा हुँदा स्थानीय रातभर जाग्राम

गत वर्ष साउन ३० गते सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दलबलसहित कैलालीको बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरे ।

गत साउन १४ गते बाढी आउँदा १ हजार ६७१ परिवार विस्थापित भएका थिए । केहीले ज्यान गुमाए । धान बाली सोत्तर भयो । हुलाकी राजमार्ग नै भत्कायो ।

बाढीले बस्ती विक्षिप्त बनेपछि अनुगमनमा पुगेका थिए मुख्यमन्त्री भट्ट । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलगायत अनुगमनमा सहभागी थिए ।

बाढी प्रभावित स्थानीयलाई आश्वासन दिँदै मुख्यमन्त्री भट्टले भजनी क्षेत्रमा रहेका नदीमा बृहत् तटबन्ध गर्ने र  उच्च स्थानमा सामुदायिक भवन बनाउने, हुलाकी राजमार्गको स्तरोन्नति गर्ने बताएका थिए ।

बर्सेनि आउने बाढीको समस्याबाट नागरिकलाई छुटकारा दिलाउने वाचा समेत गरेर प्रदेश सरकारका मन्त्रीहरू फर्किएका थिए ।

तर बर्षात सकियो, विस्थापितहरू पुरानै थातथलो फर्किए, यससँगै मुख्यमन्त्री लगायत मन्त्रीले आफूले गरेका वाचा बिर्सिए । यसपालि पुनः वर्षा शुरू भएको छ, जोखिम उस्तै छ ।

बाढी प्रभावित क्षेत्रमा गत वर्ष निरीक्षणको क्रममा खोला तर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह

भजनीका स्थानीय गंगा चौधरी भन्छन्, ‘भजनीवासीको लागि विडम्बना नै भन्नुपर्छ – जब बाढी आउँछ, तब अनुगमनमा आउँछन् । बाढी सकिएपछि भुल्छन् । हाम्रो पीडा जस्ताको त्यस्तै रहन्छ ।’

भजनीका अर्का स्थानीय खडक बुढाले नगरपालिकाको वडा नम्बर ५ को लालबोझी र वडा नम्बर ३ को कुसुमघाट क्षेत्र बाढीको उच्च जोखिममा रहेको बताए । गत वर्ष लालबोझीका सत्तु चौधरी, दिलबहादुर चौधरी, मंगल चौधरी, बाँधुराम चौधरी र आशाराम चौधरीको घर नदी कटानले विस्थापित भएपछि मुख्यमन्त्री भट्टले स्वयं उपस्थित भई स्थलगत अनुगमन गरेको र तटबन्धको लागि बजेट छुट्याउने प्रतिबद्धता समेत गरेको तर काम नहुँदा समस्या ज्यूँका त्यूँ रहेको बताइएको छ ।

भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले स्थानीय तहमार्फत ठूला योजनाको काम सम्भव नभएको बताउँदै प्रदेश सरकारले ध्यान नदिएको बताए ।

वडा नम्बर ३ कुसुमस्थित ३ करोडको लागतमा गत वर्षदेखि निर्माणाधीन तटबन्ध समेत बगाएको बताउँदै वडाध्यक्ष चौधरीले कुसुमघाटमा रहेको दूर्गा माध्यमिक विद्यालय, बीओपी कुसुमघाटसहित करीब २५ घर नदी कटानको उच्च जोखिममा रहेका र विस्थापित हुने सम्भावना रहेको बताए ।

बर्खायाम शुरू भएपछि वर्षौंदेखि बाढी प्रभावित स्थानीयहरू पानी पर्ने बित्तिकै झस्किने गरेका छन् । ठूलो पानी पर्ने बित्तिकै तटीय क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेको बताइएको छ ।

प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जोखिम न्यूनीकरणको लागि तत्काल स्थानीय निकाय, प्रशासनसँग समन्वय गर्ने बताएकी छन् ।

मन्त्री जोशीले तटबन्ध निर्माणसहित राहतको लागि प्रदेश सरकारले निर्णय गरेको, कार्यान्वयन भएको वा नभएकोबारे अनभिज्ञता प्रकट गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्