
शहरमा सुखसुविधा खोज्दै गाउँ छाड्ने चलन बढ्दो छ । गाउँघर रित्तिँदैछन् । वर्षौंदेखि पाखोबारी बाँझा छन् । घरमा ताला ठोकिएको छ ।
त्यहीँ गाउँघर छाड्नेहरूको पाखोबारी सदुपयोग गरेर मनग्यै आम्दानी गर्दैछन् जनक आचार्य ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–७ बाँसटारी निवासी आचार्य स्थानीय प्रभात माविका प्रधानाध्यापक समेत हुन् । स्कूल समयमा विद्यार्थी पढाउन व्यस्त यी प्रअ बिहानसाँझ त्यहीँ पाखोबारीमा ‘कृषि’ पढ्छन् ।
मेहनत र कर्ममा विश्वास गर्ने आचार्य कृषिमा नयाँ सोचविचार गरिकन वर्षौंदेखि बाँझो जमिनमा ‘सुन’ फलाएर गाउँ छाड्नेहरूलाई लोभ्याइरहेका छन् । हुन पनि हो, उनले घरमा ताला ठोकेका १५ घरपरिवारको जग्गाजमिन भाडामा लिएका छन् । ठूलो रकम माटोमा लगानी छ । उनलाई थाहा छ – माटोमा सुगन्ध छ, माटोमा जीवन छ ।
‘गाउँघर छाडेर जानेहरूमध्ये १५ घरपरिवारको २०० रोपनी खेतबारी खुर्सानी खेतीको लागि भाडामा लिएको हुँ,’ उनले भने, ‘अहिले खुर्सानीका अलावा सुन्तला खेती र कुखुरापालनमा लगानी छ । राम्रो हुँदै गए वार्षिक १ करोडसम्म आम्दानीको लक्ष्य छ ।’
उनको फार्मको नाम हो – त्रिपुट पशु तथा कृषि बहुउद्देश्यीय फार्म । कृष्ण भट्टराईसँग मिलेर उनले यो फार्म चलाएका हुन् । लामो समय विदेश बसेर फर्किएका कृष्णले फार्ममा फिल्ड व्यवस्थापनको जिम्मेवारी लिएका छन् ।

वार्षिक प्रतिरोपनी ६०० रुपैयाँका दरले ५ वर्षसम्म जग्गा भाडामा लिइएको रहेछ । खुर्सानी खेतीमा यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइको चक्लाबन्दी कार्यक्रमबाट ५ लाख ८० हजार रुपैयाँ आर्थिक अनुदान र प्राविधिक सहयोग मिलेको उनले जानकारी दिए ।
‘खेतीका लागि सहयोग प्राप्त भएकाले पहाडको भिरालो तथा बाँझो जमिन खोस्रिएको हो,’ ४ दशक हाराहारी उमेरका आचार्यले भने, ‘भविष्यमा अकबरे खुर्सानीको अचार बनाई स्थानीयलाई समेत थप रोजगारी सिर्जना गरी कृषि क्षेत्रमा अभिप्रेरित गर्दै जाने सोच छ ।’
उनका अनुसार खुर्सानी खेतीमा मात्र २० लाख रुपैयाँ लगानी परेको छ । सुन्तला खेतीमा करीब ७ लाख । सुन्तला खेती ५० रोपनी जग्गामा फैलिएको छ । उनले आजभन्दा ९ वर्षअघि कम उब्जनी हुने जग्गामा सुन्तला खेती थालेका हुन् । निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउँदै उनले आफ्नै बारीसहित बुट्यान तथा जंगल फाडेरै सुन्तला खेतीबाट कृषिमा हात हालेका हुन् ।

२०६९ सालमा सुन्तला बगैंचा निर्माणमा १ लाख ५० हजार रुपैयाँ खर्च लागेको आचार्यले स्मरण गर्छन् । ४१८ बोट सुन्तला रोपेकोमा वार्षिक राम्रो आम्दानी दिन थालेपछि उनले त्यसलाई विस्तार गर्दै लगे । उनले यस वर्ष मात्र १०० क्वीन्टल बढी सुन्तला बेचे ।
सुन्तलाको बगैंचा विस्तार गर्दै हाल १ हजार १६५ बिरुवा रोपेको उनले लोकान्तरसँग टेलिफोनमा बताए । भविष्यमा सुन्तला खेती थप विस्तार गर्ने र बाँकी रहेको जग्गामा अमला तथा जडिबुटीजन्य वनस्पति रोप्ने योजना उनको छ ।
आचार्यले ४ वर्षदेखि कुखुरापालन समेत गर्दै आएका छन् । घरपरिवारका सदस्यसँग गाउँघरमै बसेर पनि उनले राम्रो आम्दानी गरेका छन् । शिक्षण पेशाबाट आउने तलब अलावा खुर्सानी, सुन्तला, पशुपन्छीबाट मासिक करीब २ लाख रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ । त्यसमध्ये खुर्सानीबाट मात्र औसत १ लाख कमाइ हुने गरेको छ । उनले प्रधानाध्यापक (हेडसर) भएर विद्यालयबाट मासिक ४० हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । शिक्षकको तलबभन्दा कृषिकर्मबाट उनले दोब्बर बढी कमाइ गर्छन् ।


वर्षौंदेखि खनजोत नभएको बाँझो जमिन उनले पसिना बगाएर रोपेको खुर्सानीको खेती हराभरा देखिन्छ । उनका अनुसार हाल १ लाख ४० हजार खुर्सानीका बिरुवा छन् । १५ दिनको फरकमा नर्सरी बनाएर आफैं बिरुवा उत्पादन गर्छन् । गाउँपालिका र कृषि ज्ञान केन्द्र पाल्पाबाट बिउँ माग भएपछि छुट्टै फिल्डमा १ हजार बोटबाट बिउँ निकाल्ने तयारीमा रहेको सुनाए । ‘आफूजस्तै अरुलाई रैथाने जातको बिउँ खोज्दै अब पूर्वी इलामसम्म पुग्नु नपरोस्,’ उनले भने । यसको बिउँ हत्पति किन्न समेत नपाइने भएकाले आफैं बिउँ उत्पादनमा लागेका हुन् ।
छिटो उत्पादन दिने, बिक्रीमा समस्या नहुने र मनग्य आम्दानी हुने भएकाले यसप्रति आचार्यजस्तै कृषकको आकर्षण बढ्दो छ । उनले खुर्सानीबाट शुरूआतमै मासिक ५० हजार रुपैयाँ कमाउन थालेको बताए । यसको बिरुवाबाट पनि छुट्टै आम्दानी छ ।

उनले हालसम्म ५० हजार रुपैयाँ खुर्सानीका बिरुवा बेचेरै भित्र्याएका छन् । अरु बोट हुर्किंदै गरेका र बरोबर टिप्न मिल्ने भएकाले आम्दानी थप बढ्नेमा उनी आशावादी छन् । किनकि पहिलो वर्षको तुलनामा खुर्सानीको बोटमा दोस्रो वर्षमा झन् उत्पादन बढ्छ । परम्परागत खेती प्रणालीभन्दा कैंयौं बढी फाइदा मिल्ने भएकाले अरुलाई पनि उनी खेतीको लागि सुझाउँछन् । बिक्रीका लागि हाल चाउचाउ उद्योगसँग वर्षभरिका लागि २८१ रुपैयाँ प्रतिकिलो दररेटमा सम्झौता गरेका छन् । बेसिजनमा बाहिर धेरै मूल्य पनि पर्छ ।
उनले ५ जनालाई रोजगारी समेत दिएका छन् । त्यसमध्ये १ कृषि प्राविधिक, १ कृषि व्यवस्थापक र अन्य मासिक रूपका कामदार हुुन् । कामको प्रकृति र चाप हेरेर कहिलेकाहीँ दिनमा २० जनासम्म उनको फार्ममा काम गरिरहेका भेटिन्छन् ।
कृषिकर्ममा उनलाई परिवारका सदस्य पनि सघाउँछन् । परिवारमा बुवाआमा, पत्नी र २ छोरा छन् । २ छोरा आफूसँगै स्कूल जाउआउ गर्छन् । स्कूल पनि गाउँपालिकामै अब्बल हो । गुणस्तर विद्यालय गाउँपालिकामै प्रथम हुन सफल भएको उनले सगौरव सुनाए ।
‘प्रअको महत्त्वपूर्ण जिम्मेवारी रहेकाले पहिलो प्राथमिकता विद्यालय नै हो । विद्यालय र समाजसेवाबाट बचेको समय खेतीमा लगाउँछु,’ कृषिप्रेमी यी हेडसर भन्छन्, ‘विदेश जानुभन्दा सबै मिलेर आफ्नै माटोमा पसिना बगाऔं । गाउँ नछोडौं ।’