
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ का दीपक ज्ञवालीले साढे तीन दशक बुटवलको न्यू ईरा होटलमा मजदुरी गरे । न्यू ईरा होटल दीपकका आफ्नै मामा माधव नेपालको थियो । 'मामाघरमा' २०४८ देखि मजदुरी गरेका दीपकले जीवनमा आफैँ होटल व्यवसाय सञ्चालन गर्छु भन्ने सोचेका थिएनन् । तर, अहिले उनी आफैँ मालिक भएका छन् ।
काममा राम्रो लगाव राख्ने दीपकले आफ्नो कमाइको थोरै/धेरै बचत गर्दै गए । होटलको हरेक सेक्टरमा लामो समय काम गरेपछि होटल व्यवसाय के रहेछ भन्ने उनले राम्रोसँग बुझे पनि । पाहुनालाई कसरी सत्कार गर्ने, कसरी काम गर्ने, खाना कसरी बनाउने र बजारमा कसरी आफ्नो अनुकूल बनाउने भन्ने राम्रो अनुभव उनलाई लामो समय काम गर्दा भयो ।
होटलमा प्रत्यक्ष ज्ञान लिएपछि दीपक पछिल्लो ६ वर्षदेखि आफैँ होटल सञ्चालन गरी मालिक बनेका छन् । तीन दशकसम्म होटलमा मजदुरी गरी जम्मा गरेको रकम र ऋण/धन गरेर उनले तिलोत्तमा नगरपालिका वडा नम्बर–२ मा होटल अनुपम प्रालि सञ्चालन गरेका छन् । सदैव सकारात्मक सोच राख्ने, हसिलो मुहार भएका, श्रमलाई सम्मान गर्ने एक कर्मशील व्यवसायीको रूपमा अहिले दीपकले आफ्नो पहिचान बनाएका छन् । ज्ञान, सीप, अनुभव र सम्पर्कलाई सदुपयोग गर्दै अघि बढेका पर्यटन व्यवसायी ज्ञवालीले अहिले यस क्षेत्रमा केही व्यक्तिलाई रोजगारी समेत दिइरहेका छन् । आर्थिक केन्द्र रूपन्देहीमा पढ्दै मजदुरी गर्ने क्रममा होटलबाट काम शुरू गरेका दीपक अहिले सफल पर्यटन व्यवसायी बन्न सफल भएका हुन् । दीपकको संघर्ष केवल एउटा होटल मालिक बन्ने कथा मात्र होइन । यो निरन्तरता र संघर्ष खोज्ने हजारौँका लागि एउठा प्रेरणादायी कथा पनि हो । जसले आज कठिनाइ भोगिरहेका छन्, उनीहरूका लागि भोलि सफल हुन दीपकले एउटा राम्रो उदाहरण प्रस्तुत गरेका छन् ।
‘मामाको होटलको जागिर मेरा लागि सबै चिज हो,’ दीपक भन्छन्, ‘मामा माधव नेपाल र माइजू गमला मेरा आदर्श हुनुहुन्छ । म मामाघरमै जन्मिएँ, हुर्किएँ, पढेँ अनि त्यहीँ काम गरेँ । कोरोना महामारी सुरु हुने बेला आफ्नै होटल सञ्चालनमा ल्याएको हुँ ।’
दीपक तराईमा जन्मिए पनि मामाघर पाल्पाको लघुवामा हुर्किएका थिए । उनले मामाघर पाल्पामै आफ्नो स्कुल तहको पढाई पूरा गरे । २०४७ मा भैरवस्थान माविबाट तत्कालीन एसएलसी पास गरेपछि उनी उच्च शिक्षा पढ्नका लागि बुटवल झरेका थिए । ‘होटलमा काम गर्दा होटल कसरी चलाउनु पर्दोरहेछ भन्ने सिकेँ,’ दीपक विगत सम्झिँदै थप्छन्, ‘ईरामा काम गर्दा चिनेका र आइराख्ने पाहुनाहरू अहिले मेरो होटलमा सम्पर्कमा आउनुहुन्छ ।’
उनले लुम्बिनी वाणिज्य क्याम्पसमा भर्ना भएर उच्च शिक्षाको पढाई शुरू गरे । सँगसँगै मामाको हस्पिटल लाइन अगाडि रहेको ईरा होटलमा काम गर्दै पढाइलाई अघि बढाए । तर, उनले पढाइलाई पूरा गर्न भने सकेनन् । शहरले दीपकलाई अवसरभन्दा बढी संघर्ष दियो । शुरूआती दिनहरूमा उनी दिनभरि काम गर्थे, राति थकान हुन्थ्यो, तर उनको मनमा हार थिएन । होटलमा काम गर्दा उनले एउटा कुरा राम्ररी बुझे, ‘पाहुनालाई खाना मात्र राम्रो होइन, व्यवहार पनि उत्तिकै आवश्यक पर्छ भन्ने बुझे । त्यहीँबाट उनले व्यवसायको पहिलो पाठ सिकेको बताउँछन् ।’ उनको होटलमा काम गर्ने कर्मचारीलाई उनी ‘स्टाफ’ होइन, परिवार भन्छन् । आज दीपक होटलका मालिक छन् । जहाँ कहिल्यै उनी अरूको होटलमा मजदुरी गर्थे, आज त्यही क्षेत्रमा उनी रोजगार दिने व्यक्ति बन्दा आफैँमा खुसी छाउने उनको भनाइ छ ।
‘पर्यटन क्षेत्र भनेको कहिले कमाउने त कहिले गुमाउने क्षेत्र हो,’ दीपकले भने, ‘होटल चलाउँदै गर्दा पहिला किनेको घडेरी बेचेर ऋण पनि तिर्नुपर्यो । पछिल्लो होटलले राम्रै कमाइ गर्यो भने ट्राभल एजेन्सीबाट पनि मनग्गे नाफा भयो ।’ परिश्रमलाई सम्मान गर्ने, निरन्तरको कर्म र दृढ इच्छाशक्ति भएमा सानो पूँजीबाट पनि अनुभव बटुल्दै निरन्तरको सङ्घर्षबाट सफल व्यवसायीका रूपमा स्थापित हुन सकिने उनको भनाइ छ । होटल व्यवसायमा उतारचढाव आइरहने र निष्ठाका साथ लागिरहेमा सफल भइने उनको बुझाइ छ । ‘व्यवसायमा आजको आजै मुनाफा हुँदैन, कुर्न सक्नुपर्छ ।’ नेपालमा केही हुँदैन, विदेशै जानुपर्छ भन्नेहरूका लागि सामान्य परिवारमा जन्मेका होटल तथा पर्यटन व्यवसायी दीपक एक उदाहरण हुन् ।
विदेशिएका हाम्रा कतिपय युवाहरू शरीरमा बल हुञ्जेल काममा घोटिन्छन् । कतिपय युवाहरू केही वर्षमा स्वदेश फर्किन्छन् । मातृभूमि फर्केका तिनैमध्येका केही युवाहरू अहिले उद्यमशीलताका खुड्किला चढ्दैछन् । भुइँमान्छेहरू सङ्घर्षका पहाड छिचोलेर सफल बनेका छन् । आफ्नो बलबुतामा सङ्घर्ष गरिरहेका कतिपय कर्म गर्नेहरूलाई नेपालमै सफलता हासिल गर्न सकिने दीपकको सुझाव पनि छ । डेढ दशक अघिसम्म रूपन्देहीमा राम्रा होटलहरू थिएनन् । तर पछिल्लो समय रूपन्देहीमा पर्यटकीय होटलहरूमा ठूलो लगानी भित्रिएको छ । होटलमा गुणस्तरीय सेवासँगै हार्दिक सत्कार पनि उत्तिकै आवश्यक रहेको दीपक सुझाव दिन्छन् ।