
सन् २०२६ को फिफा विश्वकपअन्तर्गत आइतबार हुने समूह ‘बी’को आफ्नो पहिलो खेलमा एसियाली टोली कतारले र बलियो युरोपेली प्रतिद्वन्द्वी स्विट्जरल्यान्डको सामना गर्दैछ ।
स्विट्जरल्यान्ड र कतारबीचको खेल अमेरिकाको सान फ्रान्सिस्कोस्थित लेभिज स्टेडियममा नेपाली समयअनुसार, आइतबार राति १२:४५ बजे शुरू हुनेछ ।
यो खेलमा फरक भूगोलका यी दुवै टोली पहिलो जित हात पार्दै विश्वकपको २३औँ संस्करणमा सुखद् शुरूआत गर्ने धुनमा रहने छन् ।
चार वर्षअघि (सन् २०२२ को विश्वकप) आफ्नै घरेलु मैदानमा आयोजित संस्करणमा कतारको प्रदर्शन निकै निराशाजनक थियो ।
समूहगत चरणका तीनवटै खेलमा पराजित भएको कतार यसपटक प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा नयाँ ऊर्जाका साथ मैदानमा ओर्लँदै छ ।
एसियाली क्षेत्रको छनोट चरणमा केही संघर्ष गरे पनि एएफसी एसियन कपको उपाधि रक्षा गर्दै कतारले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ । टोलीका लागि अक्रम अफिफ र अलमोइज अलीको प्रदर्शन निर्णायक हुनेछ ।
यसैगरी, संन्यास फिर्ता लिएका कप्तान हसन अल–हायदोसको उपस्थिति र प्रशिक्षक लोपेटेगुईको रक्षात्मक रणनीतिले कतारलाई बलियो टोलीका रूपमा उभ्याउने अनुमान गरिएको छ ।
साउदी अरेबियाको अल–हिलालजस्तो बलियो क्लबलाई हराएको अनुभव बटुलेका अफिफ र हायदोस काउन्टर अट्याकमा स्विट्जरल्यान्डका लागि घातक बन्न सक्छन् ।
अर्कोतर्फ, स्विट्जरल्यान्ड पनि यो विश्वकपमा समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा छ । छनोट चरणमा अपराजित रहँदै केवल दुई गोल खाएको स्विट्जरल्यान्ड रक्षापंक्तिमा निकै सुदृढ देखिन्छ ।
शाकिरी, यान सोमेर र फाबियन सारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए पनि ग्रानिट जाका, म्यानुएल आकान्जी र ब्रिल इम्बोलोको उपस्थितिका कारण टोली सन्तुलित छ ।
स्विट्जरल्यान्डका धेरैजसो अनुभवी खेलाडीहरू (जाका, फ्रुइलर, रोड्रिग्वेज) आफ्नो करियरको उत्तरार्धमा छन् । त्यसैले, यो विश्वकप उनीहरूका लागि ठूलो प्रतियोगितामा आफ्नो गतिलो छाप छाड्ने सम्भवत: अन्तिम अवसर हो ।
युरो–२०२४ मा इटालीलाई हराउँदै क्वार्टरफाइनलसम्म पुगेको स्विट्जरल्यान्ड यतिबेला उच्च लयमा छ र जारी विश्वकपमा आफ्नो गतिलो प्रभाव छाड्ने धुनमा पनि ।
कतारले अनुभवी डिफेन्डरहरू (पेड्रो मिगुएल, बुआलेम खोउखी, लुकास मेन्डेस)को भरपुर उपयोग गर्नेछ । स्विट्जरल्यान्डका युवा स्टार जोहान मानजाम्बीमाथि सबैको आँखा रहनेछ ।
कतारका लागि लोपेटेगुईको रणनीतिले कत्तिको काम गर्छ भन्ने कुराले खेलको नतिजा तय गर्नेछ । अर्कोतर्फ, स्विट्जरल्यान्डको बलियो मिडफिल्ड र जाकाको कप्तानीले उनीहरूलाई सम्भावित विजेताका रूपमा उभ्याएको छ ।
स्विट्जरल्यान्ड प्रारम्भिक चरणको सहज समूहमा परेका कारण अघिल्लो चरण प्रवेश गर्ने बलियो दाबेदार हो । तर, कतार घरेलु मैदानको दबाबबिना खेल्न लागेकाले उनीहरूले विपक्षीलाई चकित पार्न सक्ने सम्भावना पनि उत्तिकै प्रबल छ ।
समग्रमा, दुई फरक शैलीका टोलीबीचको यो भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । कतारका लागि यो खेल आफ्नो साख जोगाउने र स्विट्जरल्यान्डका लागि आफ्नो ‘गोल्डन जेनेरेसन’ लाई विश्वकपमा सफलता दिलाउने एउटा महत्वपूर्ण खुड्किलो हुनेछ ।