३० जेठ २०८३, शनिबार
दीपकको अनुपम यात्रा

मामाको होटलमा मजदुरदेखि आफैँ मालिकसम्म

जेठ ३०, २०८३
बुटवल
मामाको होटलमा मजदुरदेखि आफैँ मालिकसम्म

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ का दीपक ज्ञवालीले साढे तीन दशक बुटवलको न्यू ईरा होटलमा मजदुरी गरे । न्यू ईरा होटल दीपकका आफ्नै मामा माधव नेपालको थियो । 'मामाघरमा' २०४८ देखि मजदुरी गरेका दीपकले जीवनमा आफैँ होटल व्यवसाय सञ्चालन गर्छु भन्ने सोचेका थिएनन् । तर, अहिले उनी आफैँ मालिक भएका छन् ।

काममा राम्रो लगाव राख्ने दीपकले आफ्नो कमाइको थोरै/धेरै बचत गर्दै गए । होटलको हरेक सेक्टरमा लामो समय काम गरेपछि होटल व्यवसाय के रहेछ भन्ने उनले राम्रोसँग बुझे पनि । पाहुनालाई कसरी सत्कार गर्ने, कसरी काम गर्ने, खाना कसरी बनाउने र बजारमा कसरी आफ्नो अनुकूल बनाउने भन्ने राम्रो अनुभव उनलाई लामो समय काम गर्दा भयो ।

होटलमा प्रत्यक्ष ज्ञान लिएपछि दीपक पछिल्लो ६ वर्षदेखि आफैँ होटल सञ्चालन गरी मालिक बनेका छन् । तीन दशकसम्म होटलमा मजदुरी गरी जम्मा गरेको रकम र ऋण/धन गरेर उनले तिलोत्तमा नगरपालिका वडा नम्बर–२ मा होटल अनुपम प्रालि सञ्चालन गरेका छन् । सदैव सकारात्मक सोच राख्ने, हसिलो मुहार भएका, श्रमलाई सम्मान गर्ने एक कर्मशील व्यवसायीको रूपमा अहिले दीपकले आफ्नो पहिचान बनाएका छन् । ज्ञान, सीप, अनुभव र सम्पर्कलाई सदुपयोग गर्दै अघि बढेका पर्यटन व्यवसायी ज्ञवालीले अहिले यस क्षेत्रमा केही व्यक्तिलाई रोजगारी समेत दिइरहेका छन् । आर्थिक केन्द्र रूपन्देहीमा पढ्दै मजदुरी गर्ने क्रममा होटलबाट काम शुरू गरेका दीपक अहिले सफल पर्यटन व्यवसायी बन्न सफल भएका हुन् । दीपकको संघर्ष केवल एउटा होटल मालिक बन्ने कथा मात्र होइन । यो निरन्तरता र संघर्ष खोज्ने हजारौँका लागि एउठा प्रेरणादायी कथा पनि हो । जसले आज कठिनाइ भोगिरहेका छन्, उनीहरूका लागि भोलि सफल हुन दीपकले एउटा राम्रो उदाहरण प्रस्तुत गरेका छन् ।

‘मामाको होटलको जागिर मेरा लागि सबै चिज हो,’ दीपक भन्छन्, ‘मामा माधव नेपाल र माइजू गमला मेरा आदर्श हुनुहुन्छ । म मामाघरमै जन्मिएँ, हुर्किएँ, पढेँ अनि त्यहीँ काम गरेँ । कोरोना महामारी सुरु हुने बेला आफ्नै होटल सञ्चालनमा ल्याएको हुँ ।’ 
दीपक तराईमा जन्मिए पनि मामाघर पाल्पाको लघुवामा हुर्किएका थिए । उनले मामाघर पाल्पामै आफ्नो स्कुल तहको पढाई पूरा गरे । २०४७ मा भैरवस्थान माविबाट तत्कालीन एसएलसी पास गरेपछि उनी उच्च शिक्षा पढ्नका लागि बुटवल झरेका थिए । ‘होटलमा काम गर्दा होटल कसरी चलाउनु पर्दोरहेछ भन्ने सिकेँ,’ दीपक विगत सम्झिँदै थप्छन्, ‘ईरामा काम गर्दा चिनेका र आइराख्ने पाहुनाहरू अहिले मेरो होटलमा सम्पर्कमा आउनुहुन्छ ।’ 

उनले लुम्बिनी वाणिज्य क्याम्पसमा भर्ना भएर उच्च शिक्षाको पढाई शुरू गरे । सँगसँगै मामाको हस्पिटल लाइन अगाडि रहेको ईरा होटलमा काम गर्दै पढाइलाई अघि बढाए । तर, उनले पढाइलाई पूरा गर्न भने सकेनन् । शहरले दीपकलाई अवसरभन्दा बढी संघर्ष दियो । शुरूआती दिनहरूमा उनी दिनभरि काम गर्थे, राति थकान हुन्थ्यो, तर उनको मनमा हार थिएन । होटलमा काम गर्दा उनले एउटा कुरा राम्ररी बुझे, ‘पाहुनालाई खाना मात्र राम्रो होइन, व्यवहार पनि उत्तिकै आवश्यक पर्छ भन्ने बुझे । त्यहीँबाट उनले व्यवसायको पहिलो पाठ सिकेको बताउँछन् ।’ उनको होटलमा काम गर्ने कर्मचारीलाई उनी ‘स्टाफ’ होइन, परिवार भन्छन् । आज दीपक होटलका मालिक छन् । जहाँ कहिल्यै उनी अरूको होटलमा मजदुरी गर्थे, आज त्यही क्षेत्रमा उनी रोजगार दिने व्यक्ति बन्दा आफैँमा खुसी छाउने उनको भनाइ छ ।

‘पर्यटन क्षेत्र भनेको कहिले कमाउने त कहिले गुमाउने क्षेत्र हो,’ दीपकले भने, ‘होटल चलाउँदै गर्दा पहिला किनेको घडेरी बेचेर ऋण पनि तिर्नुपर्‍यो । पछिल्लो होटलले राम्रै कमाइ गर्‍यो भने ट्राभल एजेन्सीबाट पनि मनग्गे नाफा भयो ।’ परिश्रमलाई सम्मान गर्ने, निरन्तरको कर्म र दृढ इच्छाशक्ति भएमा सानो पूँजीबाट पनि अनुभव बटुल्दै निरन्तरको सङ्घर्षबाट सफल व्यवसायीका रूपमा स्थापित हुन सकिने उनको भनाइ छ । होटल व्यवसायमा उतारचढाव आइरहने र निष्ठाका साथ लागिरहेमा सफल भइने उनको बुझाइ छ । ‘व्यवसायमा आजको आजै मुनाफा हुँदैन, कुर्न सक्नुपर्छ ।’ नेपालमा केही हुँदैन, विदेशै जानुपर्छ भन्नेहरूका लागि सामान्य परिवारमा जन्मेका होटल तथा पर्यटन व्यवसायी दीपक एक उदाहरण हुन् ।

विदेशिएका हाम्रा कतिपय युवाहरू शरीरमा बल हुञ्जेल काममा घोटिन्छन् । कतिपय युवाहरू केही वर्षमा स्वदेश फर्किन्छन् । मातृभूमि फर्केका तिनैमध्येका केही युवाहरू अहिले उद्यमशीलताका खुड्किला चढ्दैछन् । भुइँमान्छेहरू सङ्घर्षका पहाड छिचोलेर सफल बनेका छन् । आफ्नो बलबुतामा सङ्घर्ष गरिरहेका कतिपय कर्म गर्नेहरूलाई नेपालमै सफलता हासिल गर्न सकिने दीपकको सुझाव पनि छ । डेढ दशक अघिसम्म रूपन्देहीमा राम्रा होटलहरू थिएनन् । तर पछिल्लो समय रूपन्देहीमा पर्यटकीय होटलहरूमा ठूलो लगानी भित्रिएको छ । होटलमा गुणस्तरीय सेवासँगै हार्दिक सत्कार पनि उत्तिकै आवश्यक रहेको दीपक सुझाव दिन्छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्