
पाल्पा जिल्लामा हालसम्म ८४२ जना एचआइभी सङ्क्रमित रहेको तथ्यांक सार्वजनिक भएको छ। जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार तीमध्ये ३५४ जनाले नियमित रूपमा औषधि सेवन गरिरहेका छन्।
स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ रोग अधिकृत विश्वनाथ न्यौपानेका अनुसार सङ्क्रमितहरूले पाल्पा अस्पताल र रामपुर अस्पतालस्थित एआरटी सेन्टरबाट नियमित औषधि प्राप्त गरी सेवन गरिरहेका छन्। नियमित औषधि सेवन गर्नेहरूमध्ये १२ जना बालबालिका रहेका छन्। गत आर्थिक वर्षमा पाँच जना एचआइभी सङ्क्रमितको मृत्यु भएको पनि उनले जानकारी दिए।
न्यौपानेका अनुसार जिल्लामा वास्तविक सङ्क्रमितको सङ्ख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ। सामाजिक अपमान, भेदभाव र लाञ्छनाको डरका कारण कतिपय सङ्क्रमित अझै खुल्न नसकेको उनको भनाइ छ। नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी समुदाय र रोजगारीका लागि विदेशिनेहरू एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको उनले बताए।