३१ जेठ २०८३, आइतबार

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, पाकिस्तान र साउदी अरबद्वारा स्वागत

जेठ ३०, २०८३
काठमाडौं
अमेरिका–इरान वार्ता अन्तिम चरणमा, पाकिस्तान र साउदी अरबद्वारा स्वागत

अमेरिका–इरान वार्ता अन्तिम चरणमा पुगेको समाचारसँगै पाकिस्तान र साउदी अरबले प्रस्तावित बुँदाहरूमा सहमति जुटेको भन्दै स्वागत गरेका छन् ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार र साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदले अमेरिका–इरान वार्ता अन्तिम चरणमा पुगेकोमा स्वागत गरेका हुन् ।

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार टेलिफोन संवादका क्रममा दुई मन्त्रीबीच अमेरिका र इरानबीच जारी वार्ताबारे छलफल भएको थियो। उनीहरूले यस प्रक्रियाले क्षेत्रमा दिगो शान्ति र स्थिरता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “साउदी विदेशमन्त्रीले वार्ता प्रक्रियाका क्रममा मध्यस्थता र संवादको समर्थनमा पाकिस्तानले गरेको निरन्तर प्रयासको प्रशंसा गरेका छन् ।”

दुवै पक्षले यसै महिनाको अन्त्यमा इजिप्टमा हुने चार देशका विदेशमन्त्रीहरूको बैठकको तयारीबारे पनि छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानले क्षेत्रमा संवाद प्रवर्द्धन गर्ने तथा तनाव न्यूनीकरणका लागि गरिने कूटनीतिक प्रयासलाई निरन्तर समर्थन गर्दै आएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्