२४ जेठ २०८३, आइतबार
रुस-युक्रेन युद्ध

रुसको दोस्रो ठूलो शहरमा युक्रेनी ड्रोन वर्षा, १४० भन्दा बढी ड्रोन खसालिएको दाबी

जेठ २४, २०८३
काठमाडौं
रुसको दोस्रो ठूलो शहरमा युक्रेनी ड्रोन वर्षा, १४० भन्दा बढी ड्रोन खसालिएको दाबी
फाइल तस्वीर ।

युक्रेनले रुसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्ग र आसपासका क्षेत्रमा ठूलो परिमाणमा ड्रोन आक्रमण गरेको छ। 

आक्रमणका कारण सैन्य संरचनामा आगलागी भएको र केही क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको रुसी अधिकारीहरूले बताएका छन् ।

लेनिनग्राद क्षेत्रका गभर्नर अलेक्जेन्डर द्रोज्देन्कोका अनुसार सेन्ट पिटर्सबर्ग वरपर १४० भन्दा बढी युक्रेनी ड्रोन खसालिएका छन् ।

शहरका गभर्नर अलेक्जेन्डर बेग्लोभले सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण थालेयता पहिलो पटक स्थानीय बासिन्दालाई घरभित्रै बस्न आग्रह गरेका छन् ।

द्रोज्देन्कोले आक्रमणका कारण एक सैन्य प्रतिष्ठानमा आगलागी भएको र केही भवनमा सामान्य क्षति पुगेको बताए । सुरक्षा कारण देखाउँदै प्रभावित क्षेत्रका बासिन्दालाई अन्यत्र सारिएको पनि उनले जानकारी दिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाले सेन्ट पिटर्सबर्ग नजिकैको क्रोन्स्टाडस्थित रुसी नौसैनिक अड्डा तथा हतियार भण्डारलाई निशाना बनाएको बताएका छन् । उनले रुसी आक्रमणको जवाफस्वरूप युक्रेनी ड्रोनले करिब एक हजार किलोमिटर दूरी पार गरी उक्त आक्रमण गरेको दाबी गरेका छन् ।

जेलेन्स्कीका अनुसार दक्षिणी क्रास्नोडार क्षेत्रमा रहेको एक तेल भण्डारण केन्द्र पनि युक्रेनको लामो दूरीको आक्रमणको निशानामा परेको छ ।

युक्रेनको मानवविहीन प्रणाली बलअन्तर्गत ४१३ औं ‘रेड’ रेजिमेन्टका कमान्डर येभेन करासले बीबीसीसँग कुरा गर्दै रुसी भूभागभित्रका लक्ष्यमा आक्रमण गर्न अपेक्षाकृत सजिलो भएको दाबी गरेका छन् । उनका अनुसार युक्रेनी ड्रोनहरूलाई लक्ष्यसम्म पुग्न खासै अवरोध सामना गर्नुपरेको छैन ।

उता रुसी रक्षा मन्त्रालयले शनिबार बिहानदेखि देशका विभिन्न क्षेत्रमा ३३९ वटा युक्रेनी ड्रोन खसालिएको वा अवरोध गरिएको जनाएको छ ।

यसैबीच युक्रेनले रुसले कालोसागरमा मानवीय उद्धार अभियानमा खटिएका दुई नागरिक जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ । युक्रेनका क्षेत्रीय विकासमन्त्री ओलेक्सी कुलेबाका अनुसार उक्त घटनामा केही व्यक्ति घाइते भएका छन् । यद्यपि रुसी सेनाले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

सेन्ट पिटर्सबर्गमा भएको पछिल्लो ड्रोन आक्रमण रुसको प्रमुख आर्थिक मञ्च (इकोनोमिक फोरम) सम्पन्न भइरहेका बेला भएको हो । विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा १३० देशका हजारौं प्रतिनिधि सहभागी भएका थिए ।

पछिल्लो घटनाक्रम रुस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासबीच भएको हो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले केही दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धविराम र प्रत्यक्ष वार्ताका लागि आह्वान गरेका थिए । तर पुटिनले युक्रेनले आफ्नो सैन्य क्षमता पुनर्गठन गर्न सक्ने भन्दै युद्धविरामप्रति असहमति जनाएका थिए ।

रुसले डोनेत्स्क, लुहान्स्क, खेर्सोन र जापोरिज्झिया क्षेत्रमाथिको आफ्नो नियन्त्रणलाई मान्यता दिन तथा युक्रेनले नेटो सदस्यता प्रयास त्याग्नुपर्ने अडान दोहोर्‍याउँदै आएको छ । युक्रेनले भने आफ्नो कुनै भूभाग नछाड्ने स्पष्ट गर्दै आएको छ ।

युद्ध जारी रहेसँगै युक्रेनले पछिल्ला वर्षहरूमा ड्रोन क्षमतामा उल्लेखनीय वृद्धि गरेको छ । युक्रेनी सेनाले विशेषगरी रुसी ऊर्जा पूर्वाधार, तेल भण्डारण केन्द्र र सैन्य आपूर्ति प्रणालीलाई निशाना बनाउँदै आएको छ ।

रुस र युक्रेनले एकअर्कामाथि नागरिक क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाउँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्