०३ साउन २०८३, आइतबार
अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो

जेठ २९, २०८३
काठमाडौं
इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध अन्त्य भएको दाबी गरेका छन् । दुवै पक्षबीच युद्ध रोक्न एउटा अत्यन्तै बलियो समझदारी पत्रमा सहमति भएको उनको दाबी छ । तर, तेहरानले भने हालसम्म कुनै पनि सम्झौतालाई आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन ।

जर्जियाका लेफ्टिनेन्ट गभर्नर बर्ट जोन्सको समर्थनमा आयोजित एक टेलिर्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, 'तपाईंहरूले सुन्नुभयो कि नाइँ कुन्नि, तर हामीले आज इरानसँगको युद्ध अन्त्य गरेका छौँ । उनीहरू आणविक हतियार कहिल्यै नबनाउन सहमत भएका छन्, जसमा हामीले जोड दिएका थियौँ र हाम्रो सम्पूर्ण उद्देश्य नै यही थियो । सम्झौताको ९५ प्रतिशत हिस्सा यही नै हो ।'

ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत इरानमाथि गर्ने भनिएका थप सैन्य आक्रमणहरू रद्द गरेको जानकारी दिएका छन् । तर, उनले सम्झौताका विस्तृत सर्तहरू भने खुलाएएका छैनन् । ट्रम्पले यो पूर्ण रूपमा टुङ्गोमा नपुगेसम्म इरानी बन्दरगाहहरूमा आउने र जाने जहाजहरूमाथि अमेरिकी नाकाबन्दी भने जारी रहने स्पष्ट पारेका छन् । 

इरानले अमेरिकी राष्ट्रपतिले सैन्य कारबाही रद्द गरेको कुरालाई स्वीकार गरे पनि तेहरानमा अझै ठूलो मात्रामा अविश्वास र शङ्का व्याप्त छ । इरानले यसअघि नै चेतावनी दिइसकेको छ कि उनीहरूमाथि हुने कुनै पनि आक्रमणको गम्भीर परिणाम हुनेछ र त्यसले सम्झौताको दिशामा भइरहेको प्रगतिलाई भत्काउनेछ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माएल बाघेईले सरकारी समाचार एजेन्सी 'इर्ना'सँग कुरा गर्दै अमेरिका र इरानबीच सम्झौता फाइनल भइसकेको भन्ने रिपोर्टहरू केवल अनुमान मात्र भएको बताए । 'अहिलेसम्म इरानले कुनै पनि सम्झौताको सम्बन्धमा अन्तिम निर्णय गरिसकेको छैन । शुरूदेखि नै वार्ताको स्थिति हाम्रो लागि स्पष्ट थियो र मस्यौदाको ठूलो हिस्सा फाइनल भइसकेको थियो । तर, अमेरिकीहरूले लगातार आफ्नो अडान बदलिरहेका छन् ।'

बाघेईले कतार र पाकिस्तान मध्यस्थकर्ताको रूपमा सक्रिय रहेको जानकारी दिँदै अमेरिकी कदमहरूले कूटनीतिक प्रक्रियालाई प्रभावित पारिरहेको गुनासो गरे । इरानले आफ्ना 'रेड लाइन्स' (लक्ष्मण रेखा) मा कुनै सम्झौता नगर्ने कुरा प्रमाणित गरिसकेको पनि उनले दाबी गरे । साथै, अमेरिकी कदमका कारण 'स्ट्रेट अफ हर्मुज'को सुरक्षा अवस्था कमजोर बनेको उनीहरूको भनाइ छ ।

ट्रम्पका अनुसार कागजातहरू फाइनल भएपछि सम्भवतः युरोपमा यसको हस्ताक्षर समारोह हुनेछ र यो चाँडै नै सम्पन्न गरिनेछ । उनले सम्झौतामा हस्ताक्षर हुनासाथ 'स्ट्रेट अफ हर्मुज' पनि खुला गरिने बताए ।

ट्रम्पको यो बयान सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल करिब ८९ डलरमा ओर्लिएको छ, जुन अघिल्लो दिनको तुलनामा ४.४ प्रतिशतको गिरावट हो।

यद्यपि, इजरायली प्रधानमन्त्रीको कार्यालयले नेतान्याहु र ट्रम्पबीच कुराकानी भएको पुष्टि गरे पनि इजरायल यो समझदारी पत्रको पक्ष नरहेको स्पष्ट पारेको छ । नेतान्याहुको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्री नेतान्याहुले ट्रम्पको प्रतिबद्धताप्रति प्रशंसा व्यक्त गर्नुभयो, जसअन्तर्गत अन्तिम सम्झौताले तेहरानको संवर्धित युरेनियम हटाउने, आणविक पूर्वाधार नष्ट गर्ने, मिसाइल उत्पादन सीमित गर्ने र क्षेत्रीय प्रोक्सीहरू (लडाकु समूह)लाई इरानले दिँदै आएको समर्थन बन्द गराउनेछ ।'

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको थियो । जवाफमा इरानले इजरायल र खाडी मुलुकहरूमा रहेका अमेरिकी सहयोगीहरूमाथि आक्रमण गर्नुका साथै विश्वकै प्रमुख तेल ढुवानी मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गराएको थियो ।

गत अप्रिलमा युद्धविरामको सहमति भए तापनि अमेरिका र इरानबीच छिटपुट गोलाबारी जारी थियो । यसै हप्ता मात्र दुवै पक्षले एकअर्कामाथि जवाफी हमला गरेका थिए । आक्रमणको धम्की दिएको केही घण्टामै ट्रम्पले सम्झौताको घोषणा गर्नुलाई इरानले अमेरिकी रणनीतिको रूपमा हेरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्