
थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय बारमा गएराति भएको भीषण आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चान्विराकुलले घटनास्थलमा सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार मृत्यु हुनेमा ९ जना पुरुष र १८ जना महिला रहेको बीबीसीले जनाएको छ ।
आगलागीमा परी ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही व्यक्तिहरू अझै बेपत्ता रहेको समाचारमा उल्लेख छ ।
बैंककको चातुचाक जिल्लामा रहेको लोकप्रिय रेस्टुरेन्ट तथा मनोरञ्जन स्थल 'रोङ बियर ना लात फ्राओ' बारमा स्थानीय समयअनुसार राति साढे ११ बजेतिर आगो सल्किएको थियो।
प्रधानमन्त्री चान्विराकुलका अनुसार आगलागी शुरू हुँदा बारमा प्रस्तुति दिइरहेका एक संगीतकारले मेन स्विच (कट-आउट स्विच) मा आगो सल्किएको बताएका थिए ।

अग्निनियन्त्रकहरू आइपुग्दा बारको मुख्य ढोका आगोको ज्वालाले घेरिएको थियो र ग्राहकहरू ज्यान जोगाउन आगोकै बिचबाट बाहिर भागिरहेका थिए। सामाजिक सञ्जाल एक्समा सार्वजनिक भएका फुटेजहरूमा बारबाट आगोको ज्वाला दन्किरहेको र मानिसहरू चिच्याउँदै बाहिर दौडिरहेको देखिन्छ । कतिपय मानिसहरू भाग्ने क्रममा लडेका थिए ।
ढोकामा आगो लागेका कारण धेरैजसो मानिसहरू बाहिर निस्कन असफल भएका थिए। धुवाँ र आगोको लपेटाबाट बच्न धेरैले भवनको पछाडि रहेको शौचालयमा ओत लाग्ने प्रयास गरेका थिए। उद्धारकर्मीहरूले अधिकांश शवहरू सोही शौचालयबाटै फेला पारेको बताएका छन्।
अग्निनियन्त्रकहरूले झन्डै आधा घण्टाको अथक प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए। आगो चाँडै निभाइए पनि यसले बारभित्र विनाशकारी रूप लिइसकेको थियो।