
जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको मिसाइल र ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेका छन् । अमेरिकी सेनाले इरानी आक्रमणबाट अमेरिकी सैनिकको ज्यान गएको यो पहिलो घटना भएको जनाएको छ ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम)ले शनिबार जारी गरेको विज्ञप्तिमा जुलाई १७ मा जोर्डनमा अमेरिकी तथा साझेदार सेनाले इरानी ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमणको प्रतिरक्षा गरिरहेका बेला दुई सैनिक मारिएको र एक सैनिक अझै बेपत्ता रहेको जनाएको छ ।
घटनामा घाइते भएका अन्य चार अमेरिकी सैनिकलाई उपचारका लागि जोर्डनका अस्पतालमा लगिएको थियो । उनीहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् भने सामान्य घाइते भएका अन्य सैनिक पुनः ड्युटीमा फर्किएको सेन्टकमले जनाएको छ ।
मारिएका सैनिकका परिवारलाई औपचारिक जानकारी नदिइएसम्म उनीहरूको परिचय सार्वजनिक नगरिने सेन्टकमले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकको मृत्युलाई ‘अत्यन्त दुःखद् घटना’ भन्दै उनीहरूले देशको सेवाका क्रममा बलिदान दिएको बताएका छन् ।
रक्षामन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समा श्रद्धाञ्जली व्यक्त गर्दै ‘उनीहरूको बलिदानले हाम्रो अठोट अझ बलियो बनाएको छ’ भनेका छन् ।
यसअघि शनिबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले जोर्डनको अल-अज्राकस्थित अमेरिकी सैन्य अड्डामाथि मिसाइल र ड्रोन आक्रमण गरेको र त्यसक्रममा केही अमेरिकी विमान पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेको थियो । उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
अमेरिकी सेनाले भने आफ्ना सैनिकको मृत्यु भएपछि इरानलाई तत्काल सजाय दिन नयाँ हवाई आक्रमण शुरू गरिएको जनाएको छ ।
यी घटनासँगै इरान–अमेरिका द्वन्द्वको पछिल्लो चरणमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १६ पुगेको अमेरिकी सैन्य तथ्यांकमा उल्लेख छ ।
यता, इरानी अधिकारीहरूले पछिल्लो २४ घण्टामा अमेरिकी आक्रमणमा १२ इरानी नागरिक मारिएको बताएका छन् । यससँगै युद्धको पछिल्लो चरणमा इरानमा मृत्यु हुनेको संख्या ५० पुगेको जनाइएको छ ।
होर्मोजगान प्रान्तका एक अधिकारीले अमेरिकी मिसाइल आक्रमणबाट एउटा समुद्री पानी प्रशोधन केन्द्र ध्वस्त भएको दाबी गरेका छन् । अमेरिकी सेनाले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।