काठमाडौं, ५ असार– गायक हेमन मोक्तानले एचआईभी पीडित बच्चाहरूको नाममा उठेको ४ लाख रुपैयाँ ठगी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको छ । एचआईभीपीडित बालबालिकाको तर्फबाट बेबी लाइफ होमले अपराध महाशाखा टेकुमा उजुरी दर्ता गरेको हो ।
बेबी लाइफ होममा रहेका २३ जना एचआईभी पीडित बालबालिकालाई सहयोग गर्ने भन्दै कतारमा सांगीतिक कार्यक्रम भएको थियो । त्यो कार्यक्रबाट उठेको ४ लाख १६ हजार ७५ रुपैयाँ अहिलेसम्म संस्थालाई उपलब्ध नगराएको भन्दै गायक मोक्तानविरुद्ध ठगीको उजुरी परेको छ ।
एचआईभी पीडित बालबालिकालाई सहयोग गर्ने भन्दै गायक मोक्तानले बच्चाहरूको भिडियो र फोटो खिचेर लगेको बेबी लाइफ होमका सञ्चालक राजकुमार पुनले बताए ।
बच्चाहरूको सहयोगको लागि भनेर गायक हेमनले २०७२ साल पौष २१ गते बागबजारस्थित हार्दिक होटेलमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित विभिन्न गायकहरूको उपस्थितिमा ‘फर्माइस’ नामक गीति एल्बम विमोचन गराएका थिए ।
उक्त फर्माइस एल्बम बिक्रीबाट उठेको सम्पूर्ण रकम एचआईभीपीडित बालबालिकाको सहयोगको लागि दिने गायक हेमनले घोषणा गरेका थिए ।
कार्र्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले सहयोगस्वरूप ५ सय रुपैयाँ तिरेर एल्बमको सीडी किनेका थिए । हेमनले कतारमा ती बालबालिकाको सहयोगको लागि भनेर सर्लाही प्रवासी सेवा समाजको आयोजनामा सांगीतिक कार्यक्रम गरे । उक्त कार्यक्रमबाट सर्लाही प्रवासी सेवा समाजका तर्फबाट १ लाख ३५ हजार रुपैयाँसहित अन्य दाताबाट हेमनले ४ लाख १६ हजार ७५ रुपैयाँ संकलन गरेको विभिन्न छापा तथा सञ्चार माध्यममा प्रकाशित भएको थियो ।
कार्यक्रम नै नक्कली !
गायक हेमनले कतारमा उठेको रकम हस्तान्तरण गर्ने भन्दै प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा २०७३ साल असोज १६ गते हार्दिक होटलमा कार्यक्रमको आयोजना गरे ।
त्यो कार्यक्रममा उनले ४ लाख १६ हजार ७५ रुपैयाँ सनराइज बैंकमार्फत सम्बन्धित संस्थालाई दिएको घोषणा गरे । तर उनले डमी चेक बनाएर पूर्वप्रधानमन्त्री नेपालबाट हस्तान्तरण गराएको खुलेको छ । चेक लिन बेबी लाइफ होमका कुनै प्रतिनिधि उपस्थित भएनन् ।
खासमा गायक हेमनले बेबी लाइफ होमका राजकुमार पुनसँग ‘अहिलेलाई पैसा छैन, पछि तपाईंहरूलाई पैसा मिलाउँला, अहिलेलाई डमी चेक भएपनि लिन कार्यक्रममा उपस्थित हुनप–यो’ भनी अनुरोध गरेको खुलेको छ । ‘त्यस्तो अनुरोध सुनेपछि हामी डमी चेक लिन कार्यक्रममा उपस्थित भएनौं,’ उक्त होमका राजकुमार पुुनले लोकान्तरसँग भने ।
तर कार्यक्रममा बेबी लाइफ होमको प्रतिनिधि भन्दै रिना शाही नामकी एक युवतीलाई पूर्वप्रधानमन्त्रीले चेक हस्तान्तरण गरेको पत्ता लागेको छ । गायक हेमनले एचआईभीपीडित बालबालिकालाई सहयोग गरेको भन्दै विभिन्न छापा तथा अनलाइनमा समाचार प्रकाशित भएको थियो ।
पूर्वप्रधानमन्त्री नेपाल र मिडियालाई गायक हेमनले नमज्जैले झुक्काएको स्पष्ट देखिन्छ । कार्यक्रममा बेबी लाइफ होमका कुनै प्रतिनिधिसमेत उपस्थित नभएको र नेता नेपालमार्फत हस्तान्तरण गर्न लगाइएको चेक डमी भएको मिडियाले चालै पाएनन् । गायक हेमनको ठगीको शैली नेता नेपालले समेत चाल पाउन नसकेको देखिएको छ ।
त्यही कार्यक्रममा नेता नेपालले हेमन मोक्तान फाउन्डेसन संस्थाको उद्घाटन समेत गरेका थिए । उक्त संस्था अहिलेसम्म दर्ता भए/नभएको पुष्टि हुन सकेको छैन ।
उता गायक हेमनले भने आफूलाई राजकुमार पुनले धोका दिएको आरोप लगाए ।
‘कार्यक्रममा आउँछु भनेका राजकुमारले कार्यक्रममको अन्तिम समयमा धोका दिए,’ उनले लोकान्तरसँग भने । हेमन मोक्तान फाउन्डेसन भने कम्पनीका रूपमा दर्ता भएको गायक हेमनले दाबी गरे ।
विभिन्न मिडियामा गायक हेमनले ४ लाख रुपैयाँ बराबरको रकम बेबी लाइफ होमका एचआईभी संक्रमित बालबालिकालाई सहयोग गरेको समाचार छापिएको थियो ।
रकमबारे सोधखोज
एचआईभी संक्रमित बालबालिकालाई आफूहरूले दिएको रकम पुग्यो किन पुग्ने भनेर कतारमा रहेको सर्लाही प्रवासी सेवा समाजका अध्यक्ष पेम्बा गेलानले बेबी लाइफ होमका सञ्चालक राजकुमार पुनलाई इमेल पठाएका थिए । राजकुमारले उनलाई अहिलेसम्म रकम नपाएको जवाफ पठाए । रकम नपाएको खबर पाएपछि गायक हेमनसँग सर्लाही प्रवासी सेवा समाजका सदस्यहरू रुष्ट बनेका छन् ।
कतारमा गएर पैसा उठाएको समाचार आएपछि बेबी लाइफ होमका सञ्चालक राजकुमारले एचआईभी संक्रमित बालबालिकाको नाममा उठेको रकम संस्थालाई उपलब्ध गराउन पटकपटक आग्रह गरेका थिए । तर गायक हेमनले अक्षयकोषको स्थापना गरेर मात्रै रकम हस्तान्तरण गर्ने अडान लिएका लिँदै आएका थिए ।
‘नक्कली कार्यक्रम गरेर रकम हस्तान्तरण गरेको दाबी गरेको पनि महिनौं बितिसकेको छ । तर यसबीचमा न हेमनले अक्षयकोष स्थापनका लागि कुनै पहल गरे, न संस्थाको नाममा पैसा नै जम्मा गरे,’ होमका सञ्चालक राजकुमार पुनले थपे ।
राजकुमारले रकम उपलब्ध गराउन पटकपटक ताकेता गरेपछि गायक हेमनले २०७३ साल जेठ २१ गते सनराइज बैंकको नाममा रहेको एक लाख २८ हजार रुपैयाँको चेक दिएका थिए ।
‘चेक लिएर बेबी लाइफको सिभिल बैंकस्थित एकाउन्टमा जम्मा गर्न खोज्दा भने उक्त चेक बाउन्स भयो । खातामा पैसा नै नरहेको बैंकले जानकारी दियो । उक्त चेक लिएर तीनपटकसम्म बैंक जाँदा पनि खातामा पैसा भेटिएन र तीनपटकसम्म नै हेमनले दिएको चेक बाउन्स भयो,’ पुनको भनाइ छ ।
राजकुमारले पटकपटक रकम दिन आग्रह गरेको र टार्न नसकेर पैसा नभएको चेक दिएको गायक हेमनले स्वीकार गरे । ‘पैसा नभएको चेक दिएर मैले गल्ती गरें,’ गायक हेमनले लोकान्तरसँग भने ।
यस विषयमा लोकान्तरले विस्तृत जानकारी माग्दा गायक हेमनले बेबी लाइफ होमलाई आफूले अक्षयकोषमार्फत मात्रै पैसा दिने र संस्थाको नाममा पैसा नदिने बताए ।
हेमनले अक्षयकोष स्थापना गर्ने पटकपटक बताएपनि त्यसका लागि कुनै पहल गरेका छैनन् । कतारमा रहेका प्रवासी नेपालीले एचआईभीपीडित बालबालिकाको नाममा दिएको ४ लाख १६ हजार ७५ रुपैयाँ पनि सम्बन्धित संस्थाका बालबालिकालाई दिएका छैनन् ।
अक्षयकोष स्थापना गर्न नसकेकै कारण बच्चाहरूको नाममा दिन लागेको पैसा दिन नसकेको हेमनको दाबी छ । एचआईभी पीडित बालबालिकाको नाममा उठेको रकम अहिलेसम्म नपाएको भन्दै बेबी लाइफ होमका सञ्चालक पुन अहिले केन्द्रीय बालकल्याण परिषद् पुगेका छन् ।
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...