
राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको आधुनिक गीत ‘तिमी विना मुटु दुख्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतलाई सञ्चारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका छन् भने राजेशकुमार शाहले निर्माण गरेका हुन् ।
निर्देशक ज्ञवालीले यसअघि १ दर्जन हाराहारी सर्टफिल्म तथा केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।
सार्वजनिक गीतको भिडियो निकै सरल तर कथावस्तु हेर्न लायक छ । सडकमा मजदुरी गर्ने एक जोडीको प्रेमलाई सामान्य रूपमा भिडियोमा देखाउने प्रयास गरिएको छ ।
रचना रिमाल र शंकरलाल श्रेष्ठको स्वर रहेको गीतलाई युरेश सिग्देलले लेखेका हुन् । भिडियोमा चर्चित मोडल स्मृति श्रेष्ठ र युरेश सिग्देलको अभिनय रहेको छ । ईश्वर सिकमनाले खिचेको भिडियोलाई चर्चित फिल्म सम्पादक मित्र डी गुरुङले सम्पादन गरेका हुन् ।