
टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले अमेरिका, फ्रान्स, जर्मनी लगायतका १० मुलुकका राजदूतहरूलाई देश छाडेर जानका लागि निर्देशन दिने निर्णय लिएपछि पश्चिमसँग टर्कीको सम्बन्धविच्छेद हुन लागेको चर्चा चलेको छ ।
दश देशका राजदूतहरूले गत साता एउटा संयुक्त बयान जारी गरेर समाजसेवी ओस्मान कवालालाई थुनामुक्त गर्न आह्वान गरेका थिए । सन् २०१३ मा देशभरि भएका विरोध प्रदर्शनमा आर्थिक लगानी गरेको तथा सन् २०१६ मा एर्दोआनविरुद्ध गर्न खोजिएको असफल कूमा संलग्न रहेको आरोप कवालामाथि लगाइएको छ । उनी विगत चार वर्षदेखि कारगारमा छन् ।
उनको मुद्दाको पुर्पक्ष चलिरहेको छ । उनले आफूमाथिका सबै आरोपको खण्डन गरेका छन् । उनलाई अनावश्यक रूपमा कैद गरिएको भन्दै १० देशका राजदूतले विज्ञप्ति जारी गरेका हुन् ।
राजदूतहरूको विज्ञप्ति सार्वजनिक भएपछि टर्कीको परराष्ट्र मन्त्रालयले उनीहरूलाई स्पष्टीकरणका लागि बोलाएको थियो । मन्त्रालयले उनीहरूको विज्ञप्ति गैरजिम्मेवार रहेको समेत जनायो ।
पछि एर्दोआनले एक जनसभालाई सम्बोभन गर्दै आफूले परराष्ट्रमन्त्रीलाई राजदूतहरू निकाला गर्न अनि पर्सोना नन ग्राटा अर्थात् अस्वीकार्य व्यक्ति घोषणा गर्न निर्देशन दिएको बताए । उनको यो घोषणासँगै विगत १९ वर्षमा पहिलोपटक एर्दोआनले पश्चिमसँग सम्बन्धविच्छेद गर्न खाजेको देखिएको चर्चा छ ।
एर्दोआनले अर्को साता विश्वका प्रमुख २० अर्थतन्त्रहरूको जी२० सम्मेलनमा पश्चिमी मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई भेट्ने कार्यक्रम छ । त्यस्तै ग्लास्गोमा आयोजना गर्न लागिएको संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप२६मा पनि उनी सहभागी हुन सक्छन् । तर पश्चिमी मुलुकका राजदूतप्रति उनले गरेको व्यवहारका कारण ती सम्मेलनमा उनी पश्चिमी नेताहरूसँग कसरी प्रस्तुत होलान् भन्ने कौतुहलको स्थिति छ ।
एर्दोआनले लामो समयदेखि टर्कीमा निरंकुश शासन चलाउँदै आएका छन् । फरक मतलाई उनले निर्ममतापूर्वक दबाउने गरेका छन् । उनको विरोध गर्ने कवाला जस्ता व्यक्तिहरूप्रति उनले स्वाभाविक रूपमा कठोर व्यवहार देखाएका छन् ।
कवालालाई सन् २०१३ मा गरिएको विरोध प्रदर्शनको मुद्दामा पोहोर साल सफाइ दिइएको थियो । तर यो वर्ष सफाइको उक्त निर्णयलाई उल्ट्याइएको थियो अनि त्यसलाई कूको प्रयासको अभियोगसँग मिसाइएको थियो । यसरी उनलाई कारगारमा राखिरहिएको हो ।
पश्चिमी मुलुकहरूले व्यक्तिगत स्वतन्त्रताको अधिकारलाई उच्च महत्त्व दिने हुनाले कवालाका विषयमा कुरा उठाएका हुन् । त्यसमाथि कवालाले मानवअधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पनि हात पारेका छन् । मानवअधिकारसम्बन्धी युरोपेली अदालतले पोहोर साल कवालालाई कारागारमा राख्नुपर्ने कुनै कारण नरहेको बताएको थियो ।
यस प्रकरणले पश्चिमसँग टर्कीको सम्बन्धविच्छेद गराउने एर्दोआनको पुरानो चेतावनीको स्मरण गराएको छ । सन् २०१८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीका दुई मन्त्रीविरुद्ध प्रतिबन्ध लगाउँदै टर्कीको सामानमाथि आयातशुल्क दोब्बर बढाएपछि आक्रोशित भएका एर्दोआनले पश्चिमसँग सम्बन्ध टुटाएर रणनीतिक परिवर्तन गर्ने धम्की दिएका थिए । अमेरिकी पादरी एन्ड्रु ब्रनसनलाई गुप्तचरीको आरोप लगाउँदै टर्कीले थुनामा राखेपछि ट्रम्प प्रशासनले टर्कीका न्यायमन्त्री अब्दुलहमित गुल र गृहमन्त्री सुलेमान सोइलुविरुद्ध प्रतिबन्ध लगाएको थियो ।
त्यसै पनि अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोको सदस्य मुलुक भए पनि एर्दोआनको शासनकालमा टर्कीले पश्चिमसँग प्रायः जोरी खोजिरहेको हुन्थ्यो ।
अझ अमेरिकाको विरोधका बावजुद टर्कीले रुससँग एस–४०० क्षेप्यास्त्रनिरोधी प्रणाली खरिद गरेपछि अमेरिकाले टर्कीमाथि प्रतिबन्ध समेत लगाएको थियो । उक्त प्रणालीले अमेरिकाको निकै महंगो हतियार प्रणाली एफ–३५ लाई जोखिम तेर्स्याउने भएकाले अमेरिका क्रुद्ध भएको हो ।
पश्चिमसँग सम्बन्ध बिग्रँदै जाँदा एर्दोआनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने सम्बन्ध बढाउँदै लगेका छन् । एक महिनाअघि रुसको सोची पुगेका एर्दोआनले पुटिनसँगको भेटमा सिरिया, लिबिया, आर्मेनिया–अजरबैजान लगायतका क्षेत्रमा दुई देशको स्वार्थ द्वन्द्वमा परिणत नहुने गरी मध्यमार्ग अपनाउने सहमति गरे । दुई देशबीच आर्थिक साझेदारी थप घनीभूत बनाउने सहमति पनि भएको छ ।
पश्चिमले रुसलाई शीतयुद्धकालीन मानसिकताका साथ शत्रुवत् व्यवहार गरिरहेको सन्दर्भमा रुसले टर्कीलाई साझेदार बनाउन खोजिरहेको छ । पश्चिमसँग टर्कीको पनि सम्बन्ध बिग्रँदै जाँदा रुस र टर्कीको स्वार्थ मिल्न थालेको छ । टर्की र नेटोका अन्य साझेदारबीच रणनीतिक फाटो ल्याउने पुटिनको प्रयासलाई पछिल्लो प्रकरणले थप सहायता गरेको देखिन्छ ।
त्यसो त भूराजनीतिक कारणले गर्दा पनि टर्की पश्चिमाहरूलाई परित्याग गर्दै रुससँग नजिकिन खोजेको देखिन्छ । भूराजनीतिक विश्लेषकहरूका अनुसार, रुसले अहिले उत्तरी ध्रुव अर्थात् आर्कटिक क्षेत्रमा व्यापक ध्यान दिइरहेको छ । जलवायु परिवर्तनका कारण आर्कटिक क्षेत्रको हिउँ पग्लिँदै गएकाले मस्कोलाई भूमध्यसागरको न्यानो समुद्री बन्दरगाहमा पहुँच आवश्यक छैन ।
न्यानो सागरमा बन्दरगाहको खोजीका लागि सधैं टाउको दुखाइरहने रुसले अब आर्कटिकमा जहाज चलाउन र बन्दरगाहमा अड्याउन सक्ने स्थिति आउन थालेकाले रुसलाई नेटोबाट हुन सक्ने घेराबन्दीको डर हुने छैन ।
त्यस्तो डर नभएपछि भूमध्यसागरमा पहुँचका लागि टर्कीमाथि रुस निर्भर रहनुपर्दैन र टर्कीले रुसबाट रणनीतिक जोखिम पनि अनुभव गर्नुपर्दैन । रुसबाट रणनीतिक जोखिम नहुनेबित्तिकै टर्कीले उससँगको सम्बन्ध थप न्यानो बनाउने अवसर पाएको छ ।
रुससँगै पश्चिमको कोपमा परिरहेको चीनसँग पनि एर्दोआनले सम्बन्ध न्यानो बनाउन खोजेका छन् । इस्लामिक जगतको सम्मान हासिल गर्नका लागि एर्दोआनले सिन्च्याङ प्रान्तका उइगुर मुसलमानहरूको पक्षमा कुरा राख्ने गरेको भए पनि चीनको राष्ट्रिय सार्वभौमसत्तालाई सम्मान गर्ने बताएका छन् ।
टर्किश विरासत बोकेका उइगुरहरूलाई समेत समेटेर बृहत्तर टर्किश साम्राज्यको आकांक्षा राख्ने भए पनि एर्दोआनले चीनको संवेदनशीलतालाई विचार गर्ने गरेका छन् । देशको अर्थतन्त्र कमजोर बनिरहेको अनि बेरोजगारी र महंगी बढिरहेको स्थितिमा चीनको आर्थिक उदयबाट फाइदा लिनका लागि टर्की आतुर देखिन्छ ।
चीनको बेल्ट यान्ड रोड इनिसिएटिभलाई टर्कीको मिडल कोरिडोर इन्टरकन्टिनेन्टल ट्रान्सपोर्ट इनिसिएटिभसँग जोड्ने प्रस्ताव एर्दोआनले गरेका छन् । त्यस्तै बीआरआई र शांघाई कोअपरेसन अर्गनाइजेसनमा जोडिने इच्छा व्यक्त गरेर एर्दोआनले चीनसँग थप घनिष्ठ सम्बन्ध बनाउन खोजेको देखिन्छ ।
चीनसँग टर्कीको बढ्दो घनिष्ठताको अर्को प्रमाण पोहोर साल मौद्रिक विनिमयको निर्णयले दिएको छ । टर्कीको मुद्रा लिरा लगातार मुद्रास्फीति हुँदै जाँदा त्यहाँको केन्द्रीय बैंकले पहिलोपटक चीनसँग लिएको ऋण चिनियाँ मुद्रा युआनमै चुक्ता गर्ने निर्णय लियो । लगत्तै टर्कीको शीर्ष टेलिकम्युनिकेसन कम्पनी टर्क टेलिकमले आयातको मूल्य युआनमै चुकाउने घोषणा गरेको छ ।
युरेसियाली हार्टल्यान्डलाई थप बलियो बनाउने गरी टर्कीले चीन र रुससँग सम्बन्ध विस्तार अनि पश्चिमसँग क्रमशः सम्बन्धविच्छेद गर्नुमा अन्य पनि कारण छन् ।
अहिले उक्त देशमा अनुदारवादी इस्लामीहरूको वर्चस्व छ । अतातुर्क कमालले १०० वर्षअघि टर्कीमा लागू गरेको धर्मनिरपेक्षता पश्चिमको अन्धानुकरण हो र त्यसले देशको समृद्ध इस्लामी विरासतलाई बेवास्ता गरेको अनुदारवादीहरूको मान्यता छ ।
एर्दोआन त्यस्तो सोच राख्नेहरूका प्रतिनिधि हुन् । उक्त खेमाले पश्चिमसँगको निकट सम्बन्धलाई रुचाउँँदैन । उनीहरूलाई खुशी पार्नका लागि एर्दोआनले लोकरञ्जनवादी शैली अपनाउँदै पश्चिम र इजरायलविरोधी बयानहरू दिइरहेका हुन्छन् ।
अनि टर्कीमा कुर्दिश राष्ट्रवाद पनि चिन्ताजनक विषय बनेको छ । कुर्दहरूले टर्कीको उल्लेख्य भूभाग आफ्नो बेग्लै मुलुक कुर्दिस्तानमा पर्छ भन्ने गरेका छन् अनि सन् २०१३ मा त उनीहरूले रोजाभामा कुर्दिश स्वायत्त क्षेत्र नै घोषणा गरेका थिए । पश्चिमी मुलुक अनि इजरायलले कुर्दहरूलाई उचालेर टर्कीको सार्वभौमसत्ताको संवेदनशीलतालाई बेवास्ता गरेको गुनासो एर्दोआनले गर्ने गरेका छन् । त्यसैले पनि पश्चिमसँग साझेदारी गर्न एर्दोआनलाई मन छैन ।
त्यसबाहेक अर्थतन्त्र कमजोर भए पनि टर्की अझै पनि विश्वको शीर्ष २० अर्थतन्त्रमा पर्छ । उसको सैन्यशक्ति पनि बलियो छ र नेटो सदस्यहरूमा ऊ अमेरिकापछिको दोस्रो शक्ति हो । भूराजनीतिक विश्लेषक पिटर जाइहानका अनुसार, टर्कीलाई कम आँक्ने भूल कसैले पनि गर्न मिल्दैन ।
टर्कीका सैनिकहरूले इराक, सिरिया र लिबियामा गरेका सैन्य कारवाहीहरूमा सफलता पाएका छन् । उसले कतार र सोमालियामा पनि सैन्य अड्डा स्थापना गरेको छ । रक्षा क्षेत्रमा उसको लगानी पनि लोभलाग्दो छ ।
अझ पश्चिम एसियाबाट अमेरिका क्रमशः हट्न खोजिरहेको सन्दर्भमा टर्कीको आत्मविश्वास झनै बढेको छ । त्यसैले पनि पश्चिमसँग सम्बन्धविच्छेद गर्न एर्दोआनले खासै हिचकिचाहट नदेखाएका हुन् ।
तर यति हुँदाहुँदै पनि पश्चिमसँग पूरै सम्बन्धविच्छेद गर्न एर्दोआनलाई सहज हुने छैन । चीनसँग आर्थिक सम्बन्ध विस्तार गरे पनि टर्कीले युरोपेली संघसित सहकार्य जारी राख्नुपर्ने बाध्यता देखिन्छ ।
टर्कीले निर्यात गर्नेमध्ये आधाभन्दा बढी सामान युरापेली संघले किन्ने गरेको छ । त्यसबाहेक टर्कीमा गरिएको प्रत्यक्ष वैदेशिक लगानीको दुईतिहाइभन्दा बढी भाग युरोपेली संघले ओगटेको छ ।
त्यसैले तत्कालका लागि पश्चिमविरुद्ध विषवमन गरिरहेका भए पनि एर्दोआनले पश्चिम तथा चीन र रुससँगको सन्तुलित सम्बन्ध कायम गर्ने सम्भावना देखिन्छ ।
तर कालान्तरमा एर्दोआनले टर्कीलाई क्रमशः पश्चिमबाट पूर्वतर्फ सम्बन्ध विस्तार गराउन सक्छन् ।