
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नियमावली संशोधन गरेर भए पनि शिक्षक तथा कर्मचारीको समस्या समाधान गरिने बताएका छन् ।
बुटवलमा रहेको कान्ति माविको ६८औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि सरकार जहिल्यै पनि तयार रहेको बताए ।
स्थानीय स्तरमा शिक्षक दरबन्दी थप तथा मिलन गर्ने गरी यहीँ महिनामा शिक्षक सेवाबाट स्थायी रूपमा शिक्षक परिपूर्ति गर्न लागिएको भन्दै उनले बढी विद्यार्थी भएको स्थानमा सबैभन्दा बढी शिक्षक दरबन्दी सिर्जना गरिने र कम भएको स्थानबाट कटौती गरिने बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षक, कर्मचारीको साझा मन्त्रालय रहेको भन्दै उनले शिक्षकको समस्या समाधानको लागि महासंघको आग्रहमा विभिन्न काम सरकारले अगाडि बढाएको बताए । यहीँ वर्षमा नै शिक्षकका लागि केन्द्रित केन्द्रीय स्तरको अस्पताल निर्माणको लागि सरकारले काम अगाडि बढाएको बताउदै उनले यसै वर्षदेखि नै अस्पताल निर्माणको काम शुरू हुने बताए ।
प्रदेश–प्रदेशमा एउटा नमूना विद्युतीय पुस्तकालय स्थापनाका लागि सरकारले पहल गरिरहेको उनले बताए ।
कान्ति मावि नेपालमा विज्ञान विषयको लागि नमूना विद्यालय रहेको भन्दै मन्त्री पौडेलले विद्यालयको भवन सहितको भौतिक पूर्वाधार निर्माणका लागि कुनै पनि बजेट कमी हुन नदिने बताए ।