०३ असार २०८३, बुधबार
पार्टी बसको लोकप्रियता

लोकप्रिय बन्दै 'पार्टी बस' : बार र डिजेको तालमा झुम्दै काठमाडौं परिक्रमा [भिडियो]

पुस २३, २०७८

डिजे, डान्स, खानपान र ड्रिंक्सको मज्जा लिँदै काठमाडौं परिक्रमा गर्न सकिने 'पार्टी बस'प्रतिको पछिल्लो समय लोकप्रिय बन्दै गएको छ ।

एउटा सुविधासम्पन्न रेस्टुरेन्ट वा क्लबजत्तिकै सेवा उपलब्ध भएको बस बेलुका ८ बजेदेखि राति २ बजेसम्म काठमाडौंको सडकमा परिक्रमा गर्दै गरेको भेटिन्छ ।

पार्टी बसको शुरूआत भएको त २ वर्ष नाघ्यो । तर, यो दुई वर्ष कम्ता चुनौतीपूर्ण रहेन । सेवा शुभारम्भ गरेको केही महिनामा नै कोरोना महामरी शुरू भयो ।

कोरोनाको पहिलो र दोस्रो लहर र पटक-पटको लकडाउनमा पार्टी बसलाई निरन्तरता दिने अवस्था थिएन ।

तर, यसका सञ्चालकले हिम्मत हारेनन् । धैर्य गर्दै महामरी कम हुने समय कुरे । दैनिक जनजीवन सामान्य हुन थालेपछि पुन: सुचारु भयो पार्टी बसको सेवा ।

पछिल्ला दिनहरूमा पार्टी बसको माग ह्वात्तै बढेको सञ्चालक संस्था पार्टी बस नेपालका अपरेसन डाइरेक्टर उमेश सुवेदीले जानकारी दिए ।

उनका अनुसार दोस्रो लकडाउनपश्चात अहिले विभिन्न खाले पार्टीका लागि यस बसको प्रयोग हुन थालेको छ।

‘शुरूमा कोरोना महामारीले गर्दा खासै सञ्चालन हुन सकेन । तर पछिल्लो समय पार्टी बस नेपालको माग ह्वात्तै बढेको छ । विभिन्न खाले पार्टी र सामूहिक जमघटका लागि यसको प्रयोग हुन थालेको छ ।

अहिले २ वटा बसले सेवा दिइरहेको छ । एउटा बसको सीट क्षमता ३५ छ । दिनमा ७० जनासम्मले पार्टी बसको सेवा लिन सक्छन् ।

प्राय:ले कल गरेर नै बूकिङ गर्ने गरेको सुवेदीले बताए । कल गरेका ग्राहकलाई बसले उनीहरूलाई पायक पर्ने चोकमा गएर पिकअप गर्ने गरेको छ ।

उक्त बसमा यात्रा गर्नका लागि एक हजार रुपैयाँको टिकट काट्नुपर्छ । टिकट शुल्कभित्रबाटै कम्पनीले कम्प्लिमेन्ट्री ड्रिंक्स समेत उपलब्ध गराउँछ ।

थप ड्रिंक्स र खानेकुराका लागि पैसा तिर्नुपर्छ । बसभित्रै बारको व्यवस्था छ ।

बसभित्रै डिजे, बार, डान्स, एयर कन्डिसन, शौचालय आदिको व्यवस्था छ । बर्थ–डे, एनीभर्सरी, स्टाफ पार्टी, ब्याचलर पार्टीलगायत मनाउनका लागि पार्टी बस ग्राहकहरूको रोजाइमा छ ।

पछिल्लो समूह युवाहरू समूह बनाएर रमाइलो गर्नका लागि बूकिङ गर्न आउने गरेका छन् । एक्लाएक्लै गएर त्यहीँ बनेको समूहमा रमाउने विकल्प पनि छ ।

प्राइभेसी पनि हुने, ग्राहकले भनेको गन्तव्यसम्मै पुर्‍याइदिने र पूर्ण मनोरञ्जनपछि पिकअप तथा ड्रपको व्यवस्था पनि हुने भएकाले प्रयोगकर्ताहरू यसमा आकर्षित भएको देखिन्छ ।

बसले ग्राहकलाई आफूले पिकअप गरेकै ठाउँमा लगेर छाडिदिने गरेको छ ।

डेनमार्कमा बनेको योजना

पार्टी बस नेपालका फाउन्डर तथा डाइरेक्टर अशोक शर्माले नेपालमा टुरिजम क्षेत्रमा योगदान पुग्नेगरी के व्यवसाय गर्न सकिन्छ भनेर सोच्दै थिए ।

डेनमार्कमा बसोबास गर्दै आएका उनले टुरिजम र इन्टरटेनमेन्टलाई जोडेर केही गर्ने कि भन्ने विषयमा अध्यन थाले ।

मानिसले चाहेको बेला र चाहेको ठाउँमा भेला भएर रमाइलो गर्न सकोस्, रमाउँदै एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सकियोस् भन्ने सोचका साथ उनले पार्टी बसको परिकल्पना गरेका रहेछन् ।

नेपालका लागि यो कन्सेप्ट नयाँ भए पनि विदेशमा भने पहिलेदेखि नै सञ्चालनमा रहेको शर्मा बताउँछन् ।

"यो पार्टी बसको कन्सेप्ट साउथ एसियामा त्यति पपुलर नभए पनि अरू देशमा राम्रै पपुलर भएको छ । अहिलेलाई विशुद्ध नेपालीका लागि टार्गेट गरेर पार्टी बस सञ्चालनको कन्सेप्ट अनुसार अघि बढेका हौं,' लोकान्तरसँगको भाइबर कुराकानीमा डेनमार्कबाट शर्माले भने ।

यसलाई थप परिमार्जन गर्दै अगाडि बढ्ने उनको सोच छ ।

'समयले साथ दिएसम्म हामी यसलाई अगाडि बढाउछौं र समयसँगै परिमार्जन गरेर अगाडि लैजाने योजना छ,' शर्माले भने ।

अहिले ४ जना मिलेर यो सेवा सञ्चालन गर्दै आएका छन् ।

फाउन्डर तथा डाइरेक्टर अशोक शर्मा, अपरेशन डाइरेक्टर उमेश सुवेदी तथा सञ्चालक सदस्यहरू भीम क्षेत्री र भोजेन्द्र सुवेदी छन् ।

के भन्छन् ग्राहक?

बानेश्वरका प्रकाश रेग्मी अफिसका साथीहरूसँगै पार्टी बसमा रमाउँदै थिए । उनको कन्सल्टेन्सीले समूहमा मनोरञ्जनका लागि पार्टी बस बूकिङ गरेको रहेछ ।

'युवादेखि वृद्धसम्मले फरक तरिकाले इञ्जोय गर्दै एउटा मेमोरी क्रिएट गर्न सकिने रहेछ,' पार्टी बसको अनुभवबारे उनले भने, 'यस बसको म्युजिक सिस्टम, लाइट सिस्टम र सेवा सुविधाले बाहिरको तनाव भुलाएर फ्रेस गरायो ।'

उनीसँगै रहेका सतिश भट्ट पार्टी बसमा घुम्न पाउँदा दंग थिए ।

'बसभित्रै म्युजिक, डेकोरेसन, बारको नौलो कन्सेप्टले नै मलाई यो बसमा आउन लोभ्याएको हो। ग्रुपमा रमाइलो गर्दै काठमाडौंको परिक्रमा गर्न पाउँदा निकै खुशी लागेको छ,' भट्टले भने ।     

salt training

कमेन्ट गर्नुहोस्