२८ जेठ २०८३, बिहीबार
विश्व सफाइ अभियानमा निस्किएका मानव

घुमन्ते सफाइ अभियन्ता– दमक र महेन्द्रनगर सफा बनाए, बंगलादेशमा गाली खाए !

पुस २९, २०७८

कीर्तिपुरका राजमान मानव सफाइ अभियन्ता हुन् ।

विश्वका हरेक कुनाकाप्चामा पुगेर सफाइ गर्ने लक्ष्यका साथ अगाडि बढेका उनले विभिन्न देश पुगेर सफाइ अभियान चलाइसकेका छन् ।

१२ वर्षदेखि निरन्तर यस अभियानमा होमिएको बताउने उनी ७ वर्षदेखि औपचारिक रूपमा सफाइ अभियानमा छन् ।

सफाइका लागि उनी देशभित्र मात्र होइन, भारत, बंगलादेश र श्रीलंका पनि पुगेका रहेछन् । अहिले राजधानीको केन्द्रमा रहेको रानीपोखरी आसपासमा उनको सफाइ अभियान चलिरहेको छ ।

टेन्ट गाढेर रानीपोखरी नजिकै बसेका उनी हरेक दिन त्यहाँ जम्मा हुने फोहोर सफा गर्छन् । उनी बिहान ६ बजे नै कुचो लिएर सडकमा निस्कने गरेका छन् ।

रानीपोखरी, भोटाहिटी, रत्नपार्क र जमल चोक वरपरका क्षेत्रमा दिनदिनै उनले सफा गर्ने गरेका छन् ।

'यहाँ एक महिने सफाइ अभियान चलाउन सकेमा जनमानसमा केही चेतना आउँथ्यो कि, राज्यको ध्यान केन्द्रित हुन्थ्यो कि,' सफाइ अभियानको उद्देश्य प्रस्ट्याउँदै मानवले भने ।

जनमानसमा सफाइप्रति चेतना फैलाउने उद्देश्यले नै आफूले अभियान चलाएको उनले बताए ।

रानीपोखरी आसपासमा पुस ४ गतेबाट शुरू भएको उनको अभियान माघ ४ गतेसम्म चल्ने छ ।

कसरी शुरू भयो सफाइ अभियान ?

मानवले एकदिन कीर्तिपुरस्थित आफ्नो टोलमा नेवारी संस्कृति झल्काउने महोत्सव आयोजना गरेका रहेछन् ।

महोत्सव सकिँदा टोलभर जताततै फोहोर थुप्रियो । उनले आफैं फोहोर सफा गरे । टोल सफा भयो ।

आफ्नो टोल सफा, तर सँगैका अरू टोल फोहोर देख्दा उनलाई राम्रो लागेन ।

त्यसपछि उनले कीर्तिपुरका अन्य टोलमा पनि पुगेर सरसफाइ गरे ।

'त्यतिबेला मेरो काम देखेर स्थानीयले धन्यवाद दिँदा र सम्मान गर्दा निकै गर्व महशुस भयो,' मानवले लोकान्तरसँग भने, 'त्यसैले अभियानलाई देशव्यापी बनाउन प्रेरणा मिलेको हो ।'

कीर्तिपुरबाट बाहिर निस्केर भने उनले पहिलोपटक २०७४ सालमा मेची-महाकाली सफाइ अभियान सञ्चालन गरेका थिए ।

'शुरूमा अभियान कसरी सञ्चालन गर्ने भन्ने योजना बनाएँ । एउटा शहरमा पुगेपछि २ दिन अवलोकन र त्यसपछि सरसफाइ गर्न थालें,' उनले भने, 'दोस्रोपटक त्यही शहरमा १५ दिन रहेर सरसफाइ गरें ।'

मेची-महाकाली अभियान भने उनले तेस्रो वर्षमा आएर सञ्चालन गरेका रहेछन् । जनता र स्थानीय तहसँग समन्वय गरेर अभियान अगाडि बढाएको उनले सुनाए ।

कसरी गर्छन् सफाइ?

अभियन्ता राजमान मानव जुन शहरमा पुग्छन्, त्यहाँ २ महिनासम्म रहेर सफाइ अभियान चलाउँछन् ।

टेन्ट, खानेकुरा, सरसफाइका सामान उनले साथमै लैजाने गरेका छन् ।

सुशीला महर्जनले उनलाई सहयोग गर्दै आएकी छन् । महर्जन पनि सफाइ अभियन्ता नै हुन् ।

देशभित्र उनको सफाइ अभियान हरेक शहरमा बसपार्कबाट शुरू हुन्छ ।

'शहरको सबैभन्दा फोहोर थुप्रिने स्थान बसपार्क नै हुन्छ,' उनले भने ।

उनी जहाँ फोहोर देख्छन्, त्यहीँनजिक टेन्ट गाड्छन्, सरसामान राख्छन्, अनि कुचो बोकेर सफाइमा लागिहाल्छन् ।

दुई-तीन दिन पछिबाट स्थानीयले चासो देखाउने गरेको र त्यसपछि केही संघ-संस्थाबाट सहयोग पनि मिल्ने गरेको उनले सुनाए ।

मानवले दमकमा ६३ हप्ते सफाइ अभियान चलाएका थिए । त्यहाँ आफ्नो अभियान सफल भएको र शहर सफा भएको उनको दाबी छ ।

त्यस्तै कञ्चनपुरको महेन्द्रनगरमा पनि आफ्नो सफाइ अभियानले ठूलो परिवर्तन ल्याएको दाबी उनले गरे ।

पुगेकामध्ये बंगलादेश सबैभन्दा फोहोर

मानव आफू पुगेर सफा गरेकामध्ये बंगलादेश सबैभन्दा फोहोर पाएको अनुभव सुनाउँछन् ।

शुरूमा त जताततै फोहोर देख्दा उनलाई दिक्क नै लागेको रहेछ ।

'एयरपोर्टबाट शुरू गरेको सफाइ अभियान त्यहाँको संसद् भवन पुग्दा पनि फोहर र दुर्गन्ध उस्तै पाइयो । बंगलादेशमा अझै पनि खुला शौचालय रहेछ,' उनले सुनाए ।

बंगलादेशमा एक बुद्धिजीवीबाट आफूले गाली समेत खाएको उनको भनाइ छ ।

'हाम्रो देश सफा गर्नुपर्दैन, हामीलाई यस्तै ठीक छ । पिसाब भन्ने कुरा कहिले पनि रोक्नु हुँदैन, त्यसैले खुला ठाउँमा पिसाब गर्नु सामान्य हो । आफ्नै देश गएर सफा गर भनेर भने,' उनले सुनाए ।

बंगलादेशमा २ महिना लामो सफाइ अभियानमा पनि मानिसहरूको सोचमा परिवर्तन ल्याउन नसकेकोमा उनलाई खल्लो लागेको छ ।

त्यसपछि उनी भारत हुँदै श्रीलंका समेत पुगे । उनका अनुसार श्रीलंका भने तुलनात्मक रूपमा सफा पायो ।

उनी श्रीलंकामा खासै सरसफाइ नगरी स्वदेश फर्किए ।

अबको योजना अफ्रिका सफाइ

सफाइ अभियन्ता मानव अब अफ्रिका जाने तयारीमा छन् ।

'विश्वको फोहोर देशको तथ्यांक हेर्दा अफ्रिकाको नाइजेरिया निकै अगाडि रहेछ, अब त्यो देश सफा गर्न जाने हो,' उनले भने, 'कोरोना महामारीले गर्दा तत्काल जान सम्भव नहोला, महामारी कम हुनेबित्तिकै त्यता जान्छु ।'

कोरोना महामारी कम भएपछि विश्वव्यापी रूपमा आफ्नो सफाइ अभियान जारी रहने उनले बताए ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्