१६ असार २०८३, मंगलबार

महाशिवरात्रि पर्व मनाउन सरकारी स्तरबाटै तयारी

फागुन १६, २०७८
महाशिवरात्रि पर्व मनाउन सरकारी स्तरबाटै तयारी
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको संकल्प पूजा गरिन् ।

पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सीदा, त्रिशूल, कमान्डलु, पीताम्बर, जटायुक्त नरिवल, रामनामी लगायतका सामग्री राष्ट्रपतिबाट संकल्प भएको छ ।

पशुपति गुठी गोश्वारा कार्यालय प्रमुख सुशीला शर्माको अगुवाइमा अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोल परम्पराअनुसार संकल्प सामग्री खर्पनमा राखेर राष्ट्रपति निवास पुगेका थिए । संकल्प पूजापछि गोश्वारा प्रमुख कर्मचारीलाई पुरोहितले टीका लगाएर राष्ट्रपतिबाट उनीहरूलाई दक्षिणा प्रदान गरियो ।

राष्ट्रपतिबाट संकल्प पूूजा भएपछि त्रिदिवसीय महाशिवरात्रि पर्व शुरू भएको छ । यो शुरूआतसँगै पशुपतिमा आएका साधुसन्तले बिहान शोभायात्रा गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अगुवाइमा शोभायात्रा भएको थियो ।

शोभायात्रा लगत्तै पशुपति क्षेत्र विकास कोषले एक पत्रकार सम्मेलन आयोजना गरेर महाशिवरात्रि पर्वको पूर्व तयारी कार्य सकिएको जानकारी दिएको छ ।

महाशिवरात्रि पर्वका दिन मंगलवार बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरको चारै ढोका खुला हुन्छ भने महाशिवरात्रिको चारै प्रहर भक्तजनलाई पंक्तिवद्ध भएर पशुपतिनाथको दर्शन व्यवस्था मिलाइएको जानकारी कोषका कोषाध्यक्ष नारायण सुवेदीले दिए ।

कोरोनाबाट बचाउ गर्न भक्तजन र दर्शनार्थीलाई अनिवार्य मास्क र भौतिक दूरी कायम गर्नुपर्ने गरी अनुगमन व्यवस्था मिलाइएको छ । पशुपतिनाथ दक्षिणढोका, पश्चिम रुद्रगाडेश्वरबाट दर्शनार्थीलाई मन्दिर प्रवेश मिलाइएको छ । फागुण कृष्ण एकादशीका दिन आइतवार बिहानै नागाबाबा सर्वाङ्ग भएका छन् ।

पञ्चदेवल पश्चिम डिलमा भारत जुना अखडाबाट केही नागिनी पनि आएका छन् । स्थलगत अनुगमनमा खटिएका पशुपति क्षेत्र विकास कोषका कुमार खतिवडाका अनुसार मन्दिर परिसरमा उत्कृष्ट साधुको आगमन भएको छ । केही रमिते साधु पनि आएका छन् ।

पशुपति गुठी गोश्वाराले धुनी जगाउन ३३ हजार किलो दाउरा साधुलाई वितरण गरेको छ । यो दाउरा प्रतिकिलो १३ रुपैयाँका दरले नेपाल वन लिमिटेडबाट खरिद गरेको वरिष्ठ लेखा सहायक युवराज रेग्मीले जानकारी दिए । कालमोचनघाटमा पनि यसरी नै दाउरा दिइएको छ । कालमोचनघाटस्थित सन्न्यासी, वैरागी, नाथ र उदासी अखडामा प्रशस्त साधुको आगमन भएको सावित्री माताले जानकारी दिइन् ।

गुठी संस्थानका सहायक प्रशासक आनन्दप्रसाद कर्माचार्यका अनुसार कालमोचनमा आएका साधुलाई दिइने सुविधामा कुनै कसर रहने छैन । पशुपति र कालमोचनका साधुको उचित स्वागत र दक्षिणासहित बिदाइ हुन्छ ।

विक्रम संवत् १९०३ को कोतपर्वमा मारिएकाको दाहसंस्कार भएको कालमोचनमा तत्कालीन श्री ३ जंगबहादुर राणाले साधुको पाउ परोस् भन्ने मनोकांक्षाका साथ शिवरात्रिका लागि साधु आमन्त्रण गरिएको इतिहास छ ।

जङ्गनन्द प्रकाशेश्वर गुठीबाट राज्यले साधुका लागि स्वागत गर्छ र यहाँ रहँदा बस्दा यी सबै सुविधा प्रदान गर्ने गरेको छ । पूर्वको पशुपतिनाथ भनिने खोटाङको हलेसी महादेव, नुवाकोटको दुप्चेश्वर, कास्कीको गुप्तेश्वर, महोत्तरीको जलेश्वर लगायतका कहलिएका शिवालयमा पनि महाशिवरात्रि पर्व पञ्चामृत स्नानसहित भगवान् शिवको अर्चनासहित मनाइँदैछ ।

यसैगरी कुम्भेश्वर पाटन, बडामहादेव साँगा, अनन्तलिङ्गेश्वर भक्तपुर, खञ्जनेश्वर अमालकोट, महामृत्युञ्जय महादेव जयवागेश्वरी, पाँचटाउके महादेव र जितजङ्ग प्रकाशेश्वर राजराजेश्वरी लगायतका शिवालयमा भक्तजनको चहलपहल शुरू भएको छ ।

महाशिवरात्रि पर्व फागुन १७ गते परेको छ । अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलका अनुसार तमासा चटक देखाउनेलाई पनि यो पल्ट पशुपति क्षेत्रमा स्थान दिइएको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्