
अघिल्लोपटक नेकपा एमालेले भारी मतान्तरले जितेको पोखरा महानगरपालिकाको मेयर पार्टीको पक्षमा पार्न नेपाली कांग्रेस जोडबलका साथ लागेको छ ।
एमालेमा विभाजन आएको तथा गठबन्धनका पाँच दल एक ठाउँमा भएको अवस्थामा यसपटक पोखराको नतिजा उल्ट्याउन सकिने कांग्रेसको विश्लेषण छ ।
तर, चुनावी तालमेल गर्दा पोखरा महानगरको मेयर कसको भागमा पर्छ भन्ने यकिन भएको छैन । नेकपा एकीकृत समाजवादीले पनि पोखराको मेयरमा दाबी गरेको छ ।
पोखरा महानगरमा गत निर्वाचनमा एमालेले ६० हजार भोटसहित मेयर जित्दा कांग्रेसको ४५ हजार भोट पाएको थियो । पोखरामा अहिले करीब ४० हजार नयाँ मतदाता थपिएका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीको गठबन्धन भएपछि विगतको नतिजा उल्ट्याउन सकिनेमा गठबन्धनका नेताहरू आशावादी देखिन्छन् ।
आदिवासी जनजातिको बाहुल्य रहेको पोखरामा जसपाको पनि केही भोट छ । तर, जसपाका केही प्रभावशाली नेता हालसालै एमाले प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस कास्कीका नेताहरू कास्कीका पालिका तथा वडा तह गठबन्धन साझेदार दलहरूबीच कसरी भाग लगाउने भन्ने कुरा टुंगोमा नपुग्दा प्रचारप्रसारमा जान नसकिएको बताउँछन् ।
उम्मेदवारी बाँडफाँडका लागि कास्की कांग्रेसको संयोजकत्वमा अघिल्लो हप्ता गठन भएको कार्यदलको ७ वटा बैठक बसिसकेको छ ।
सबै साझेदार पार्टीका स्थानीय कमिटीसँग समन्वय गरेर उम्मेदवारी टुंग्याउने भनिए पनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन । अन्य दलका वास्तविक मतदाता कति हुन् भन्ने कुुरा नै यकिन नभएकाले पालिका तथा वडा तहमा भागबण्डामा सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।
गठबन्धनमा सहमति नभएकाले उम्मेदवार सिफारिश अन्योलमा रहेको नेपाली कांग्रेसका जिल्लास्तरका नेताले जनाएका छन् ।
महानगरको नेतृत्व कसले पाउने भन्ने यकिन नभएपनि कांग्रेसभित्र मेयरको उम्मेदवार बन्ने लिगलिगे दौड भने शुरू भएको छ । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल गठबन्धनमा सहमति गरेरै कांग्रेसले बलियो उम्मेदवार उठाउने बताउँछन् ।
‘सबै चुनौतीसँग जुधेर सत्ता साझेदारको सहमतिसँगै बृहत् जनमत आफ्नो पोल्टामा पार्न पनि नेपाली कांग्रेसले बलियो उम्मेदवार तय गर्नैपर्ने छ,’ बरालले लोकान्तरसँग भने ।
पर्यटकीय नगरी पोखराको मेयर बन्नका लागि केही हेभीवेट नेताहरूको पनि चर्चा भइरहेको छ ।
गण्डकी प्रदेश सरकारका प्रभावशाली मन्त्री बिन्दुकुमार थापाले मेयरका लागि चर्को लबिङ गरेका छन् । थापा अहिले गण्डकी प्रदेशको कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री छन् ।
मन्त्री थापाले भने मेयरमा उम्मेदवारी दिन आफूले कुनै तयारी नगरेको जिकिर गरे । पार्टीले आग्रह गरेको अवस्थामा भने मन्त्री पदबाट राजीनामा दिएरै चुनावी मैदानमा उत्रिन तयार रहेको उनको भनाइ छ ।
विगतमा पनि चुनाव जितेको र कार्यकर्तामाझ भिजेका कारण उनलाई मेयरको उम्मेदवार बनाउन कांग्रेसको एउटा तप्का लागिपरेको छ ।
नेपाली कांग्रेसका भ्रातृ संगठनमा लामो अनुभव हासिल गरिसकेका गंगाधर पराजुली पनि पोखराको मेयरका लागि अर्को सम्भावित नाम हो ।
भर्खरै सम्पन्न कांग्रेस अधिवेशनमा पोखरा महानगरपालिकाको सभापतिमा लडेका पराजुली झिनो मतान्तरले पराजित भएका थिए । ‘पराजुलीलाई मेयरको टिकट दिएर न्याय गर्नुपर्ने पनि कुरा चलिरहेको छ,’ कांग्रेसका जिल्ला स्तरीय एक नेताले बताए ।
पञ्चायतकालदेखि नै पार्टी तथा विभिन्न सामाजिक संघ–संस्थामार्फत सामाजिक क्षेत्रमा सक्रिय रहेका नेपाली कांग्रेसका निवर्तमान जिल्ला अध्यक्ष कृष्ण केसीलाई पनि यसपटक पोखरा महानगरको मेयरको सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।
अघिल्लो पटकको चुनावका बेला पार्टी सभापति रहेकाले उनले पार्टीलाई जिताउन भन्दै कतै पनि उम्मेदवारी दिएका थिएनन् ।
कांग्रेस महासमिति सदस्य समेत रहेका केसी यसपटक भने पोखराको मेयरमा प्रतिस्पर्धा गर्ने मनस्थितिमा रहेको उनी निकट नेताहरू बताउँछन् ।
पोखराको मेयरको उम्मेदवारका लागि कांग्रेस कास्कीका जिल्ला अध्यक्ष किशोरदत्त बरालको पनि चर्चा छ । लामो समय विश्वविद्यालय तथा विद्यालय तहमा शिक्षण पेशा अँगालेका बराल पेशा सँगसँगै पार्टीका भ्रातृ संगठनमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका व्यक्ति हुन् ।
बराल नेपाल शिक्षक संघको केन्द्रीय उपाध्यक्ष समेत भइसकेका छन् ।
नेपाल सरकारको सचिवबाट अवकाश पाएका बाबुराम आचार्यले पनि पोखरा महानगरको मेयरका लागि रुचि देखाएको कांग्रेस नेताहरू बताउँछन् ।
कामको अनुभवका हिसाबले उनको नाम केही नेता/कार्यकर्ताले प्रस्ताव गरेका छन् ।
अघिल्लोपटक उपमेयर पदको उम्मेदवारी रहेकी सरस्वती गुरुङ पनि मेयरको आकांक्षी रहेको चर्चा छ । महिला र जनजाति भएकाले उनलाई मौका दिनुपर्ने आवाज उठेको छ ।
गुरुङ आफैँले भने यस विषयमा सार्वजनिक रूपमा कुनै अभिव्यक्ति दिएकी छैनन् ।
पोखराका पुराना नेता स्व. सूर्यबहादुर केसीका छोरा एवं चर्चित युवा व्यवसायी किरण केसी तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई पनि मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चा गरिएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने दिन नजिकिँदै गर्दा पोखरामा राजनीतिक सरगर्मी ह्वातै बढेको छ ।
गठबन्धनको सीट बाँडफाँड नटुंगिँदा आकांक्षीहरू केन्द्रकै निर्णय कुरिरहेका छन् । अर्कातर्फ नेकपा एमाले भने पोखराको विरासत जोगाउन व्यापक तयारीमा जुटिसकेको छ ।