१४ असार २०८३, आइतबार
स्थानीय चुनाव

राप्रपाको पकड भएको भैरहवामा कांग्रेस-एमालेको चुनावी भिडन्त, कसले मार्ला बाजी ?

चैत ३०, २०७८
राप्रपाको पकड भएको भैरहवामा कांग्रेस-एमालेको चुनावी भिडन्त, कसले मार्ला बाजी ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राम्रो प्रभाव भएको नगर हो रूपन्देहीको सिद्धार्थनगर नगरपालिका । भारतसँग सीमा जोडिएको रूपन्देहीको पुरानो बजार सिद्धार्थनगर भैरहवाका नामले बढी परिचित छ ।

राप्रपाका प्रभावशाली नेता तथा पूर्व मन्त्री दीपक बोहोराको गृहनगर भैरहवामा गत निर्वाचन २०७४ सालमा भने एमालेले मेयर/उपमेयरसहित बहुमत वडामा सहज जीत निकालेको थियो । सिद्धार्थनगर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएको नगर हो । 

आगामी वैशाखको निर्वाचनमा भैरहवामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । नगरमा सत्तारूढ गठबन्धनले तालमेल गरेर अगाडि बढ्ने सहमति गरिसकेको छ । भैरहवामा नेकपा एमाले, राप्रपा र सत्तारुढ दलका उम्मेदवारबीच कडा ‘टक्कर’ हुने देखिन्छ । सत्तारुढ गठबन्धनले तालमेल गरेपछि भैरहवामा एमाले र राप्रपाबीच पनि तालमेलको चर्चा छ ।

एमालेले मेयर र ९ वटा वडा दिन तयार भए मात्र राप्रपासँग तालमेल गर्न सकिने प्रस्ताव गरेको छ तर राप्रपा मेयर छाड्न तयार छैन । तालमेलको सम्भावना पनि कम हुँदै गएको छ । सत्तारुढ गठबन्धन, एमाले र राप्रापाबीच त्रिपक्षीय प्रतिस्पर्धा भए भैरहवाको चुनावी लडाइँ झनै रोचक हुनेछ ।

व्यापारिक शहर भैरहवामा प्रमुख दलहरू बराबर हैसियतको राप्रपासँग हुने चुनावले शहर झनै तातेको छ । भैरहवा बोहोराको निर्वाचन क्षेत्र भएकाले राप्रपाको बढी प्रभाव छ ।

गत निर्वाचनमा एमालेका हरिप्रसाद अधिकारी ६ हजार ७०५ मतका साथ मेयरमा निर्वाचित भए । उपमेयरमा एमालेकै उमा काफ्ले ६ हजार १७२ मतका साथ निर्वाचित भइन् । अधिकारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मात्रिकाप्रसाद यादवले ५ हजार २५० मत र उपप्रमुखमा निकटतम प्रतिस्पर्धी कांग्रेसकै माधवी शर्मा वाग्लेले ४ हजार २२४ मत ल्याइन् । एमालेबाट निर्वाचित उपमेयर काफ्ले हाल नेकपा एकीकृत समाजवादीमा छन् । 

राप्रपाका सागरप्रताप राणाले ४ हजार ६३७ मत मात्र ल्याए । अहिले राप्रपाले शक्तिआर्जन गरेर फेरि सागरप्रताप राणालाई नै अगाडि सार्दैछ । राणा ७७ वर्षीया वृद्ध हुन् । राणा २०५४ सालमा सिद्धार्थनगरको मेयर बनेका थिए । २०६० सालमा पनि तत्कालीन प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाले राणालाई भैरहवामा मेयर मनोनीत गरेका थिए । राणाले आउँदो निर्वाचन राप्रपाले जित्ने दाबी गरेको छ ।

‘गत निर्वाचनमा हामी कमजोर जस्तो देखियौँ,’ राणा भन्छन्, ‘यसपटक हाम्रो धेरै क्षेत्रमा सुधार भएको छ । कार्यकर्तामा पनि एउटा उत्साह छ । हामी चुनाव जित्छौँ ।’ यता एमालेले पनि भैरहवामा चुनावी गतिविधिलाई तीव्र बनाएको छ । 

एमाले नगर कमिटीले मेयरमा ८ जनाको नाम जिल्लामा सिफारिस गरेको छ । मेयरमा नारायण भण्डारी, भरत पोखरेल, राजेन्द्र पन्थी, हितराज पन्थी, हरि अधिकारी, जीवलाल अर्याल, डा. रामप्रसाद बस्याल र धर्मराज गिरीको नाम पठाइएको छ । ८ जनामध्ये भण्डारी, पोखरेल र पन्थी प्रमुख दाबेदार हुन् ।

पोखरेल एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट हुन् । उनी गत निर्वाचनमा पनि मेयरका दाबेदार थिए । बहालवाला मेयर हरि अधिकारीले पनि दोहोरिने इच्छा देखाएका छन् । उनी घनश्याम भुसाल निकट हुन् । भैरहवा एमाले नेता घनश्याम भुसालको प्रभाव पहिलेभन्दा धेरै घटेको छ । जनताको चाहनाअनुसार अधिकारीले काम गर्न नसकेको भैरहवावासी बताउँछन् । उनले वाचा एउटा काम अर्कै गरेको नगरवासीको आरोप छ ।

हालै एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले प्रवेश गराएका नारायण भण्डारी पनि प्रमुख दाबेदार मानिन्छन् । भण्डारीले आफूसहित धेरै माओवादीलाई एमालेमा भित्र्याएकाले एमाले र आफूसँगै आएका मतले चुनाव जित्न सकिने दाबी गरिरहेका छन् । उनले माओवादीका भैरहवाका ३ हजार ५०० भोटमध्ये १ हजार ७०० भोट आफूसँगै आएको लोकान्तरसँग दाबी गरे । 

एमाले रुपन्देहीका उपसचिव तथा भैरहवा एमाले नेता हितराज पन्थी पनि मेयरको दाबी गरिरहेका छन् । एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले भैरहवामा एमालेको संगठन धेरै बलियो रहेकाले एमालेलाई चुनाव जित्न कुनै गाह्रो नभएको दाबी गरे । मेयरका दाबेदार भण्डारीले आफूलाई पार्टीले भैरहवामा अगाडि सारे सहज जीत निकाल्ने दाबी गरे । 

कांग्रेसबाट सिद्धार्थनगरको मेयर पदमा उम्मेदवारीका लागि कांग्रेसबाट संविधान सभा सदस्य भइसकेका इस्तियाक अहमद खानले दाबी गरेका छन् । यसअघि पराजित भएका निवर्तमान क्षेत्रीय सभापति मात्रिका यादव, क्षेत्रीय सभापति सुशील गुरुङ, महासमिति सदस्य तथा सिद्धार्थनगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले पनि मेयरमा दाबी प्रस्तुत गरेका छन् । 

कांग्रेसको सिद्धार्थनगर सभापति कोसिसबहादुर खड्काले छिट्टै मेयर पदको उम्मेदवार तय गर्ने बताए । तालमेल भएपछि पनि भैरहवा कांग्रेसले मेयरको टिकट पाउने दाबी गरे । ‘हामी यहाँ एक्लै लडे पनि जितिन्छ । गठबन्धन बन्ने भयो,’ खड्काले भने, ‘गठबन्धन हुँदा जीत ढुक्क छ । धेरै वडामा हामी विजयी हुन्छौं ।’

सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रले उपमेयर पाउने सम्भावना छ । 

२०४६ यताका ६ वटा संसदीय तथा संविधान सभा निर्वाचनमा कांग्रेसले २०४८ र २०५६ सालमा चुनाव जितेको छ । २०५१ र २०७४ सालमा एमालेले जित्यो भने राप्रपाले २०७० सालमा र तत्कालीन मधेशी जनअधिकार फोरम २०६४ सालले एकपटक जितेको छ ।

२०४९ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसले नगर प्रमुख जितेको थियो । २०५४ सालमा एमालेसँगको तालमेल गरेर राप्रपा मेयरमा विजयी भएको थियो । एमालेले यी दुवै चुनावमा उपमेयर पाएको थियो । भैरहवामा जनता समाजवादी पार्टी (जसपा), नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पनि राम्रै प्रभाव छ ।

मिश्रित समुदायको बसोबास रहेको भैरहवामा १३ वटा वडा छन् भने ४४ हजार ६५२ मतदाता छन् । भैरहवा नेपालकै दोस्रो ठूलो सुनौली भन्सार नाका भएको नगर पनि हो ।

salt training

कमेन्ट गर्नुहोस्