०१ असार २०८३, सोमबार

छन्द दिवसको उपलक्ष्यमा (कविता)

बैशाख ८, २०७९
छन्द दिवसको उपलक्ष्यमा (कविता)

दुर्गा प्रसाद दहाल

जो छन्दमा रौनक आउँदैछ
यो आज जो आदर पाउँदैछ ।
सर्लक्क आए दिन फर्किएर
हिँड्दैन जो यो अब लर्किएर ।।१।।

जो सुनिन्छ मृदु छन्दको ध्वनि
दिव्य निर्झर र कन्दरामुनि ।
सिक्नुपर्दछ समीपमा बसी 
हुन् गुरु प्रकृति ज्ञानकी कसी ।।२।।

आऊ गाऔं मृदुल लयमा काव्यका दिव्य भाव
सुन्दासुन्दै हृदयतलमा होस् अतुल्य प्रभाव ।
ढाकेजस्तै भुवनतल यो विष्णुका पाइलाले
ढाकेका छन् सकल कविता छन्दका साइनाले ।।३।। 

भए महान् जो कवि भानुभक्त 
जो देखिए ती प्रतिभा सशक्त ।
ती काव्यमा जो छ विचित्र भाव 
त्यो हो सबै छन्दगत प्रभाव ।।४।।

कति कति पढिए हुन् काव्यका भव्य पंक्ति
स्मरण सकल गर्ने चित्तमा छैन शक्ति
अविकल तर बस्छिन् गुनगुनाएर ‘गौरी’
गुनुनु गुनुनुजस्तै फूलका माझ मौरी ।।५।।
 

'छन्दोमयेन गरुडेन समुह्यमान'
हो वृत्तता गरुडको अति तीव्र यान ।
गुँज्छन् निरन्तर रथन्तर सामगान
ती छन्दको कति गरौं अरु के बयान ?।६।।

बानेश्वर, काठमाडौं

salt training

कमेन्ट गर्नुहोस्