बैशाख २७, २०७९
देशको राजधानी शहर रहेको काठमाडौं उपत्यका भित्रको दोस्रो ठूलो महानगर ललितपुरको मेयरका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालको प्रतिस्पर्धात्मक निर्वा...
जनकपुरधाम | बैशाख २५, २०७९
जनकपुरधाम उपमहानगरपालिकामा पाँच वर्ष मेयर रहेका लालकिशोर साह नयाँ कार्यकालका लागि पुनः चुनावी मैदानमा उत्रेका छन् । दल परिवर्तन गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका साहलाई जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदको उम्मेदवार बनाइएको छ । विगत पाँच वर्षमा साहले जनकपुरधामको विकासका लागि के काम गरे र आगामी कार्यकालका लागि उनका के योजनाहरू छन् ? यसैको वरिपरि रहेर लोकान्तरकर्मीहरूविन्देश दहाल र उद्धव थापाले साहसँग कुराकानी गरेका छन् ।
विगत पाँच वर्षमा जनकपुरका लागि तपाईंले गर्नुभएका मुख्य पाँच कामहरू के के हुन् ?
म २०७४ सालमा जनकपुरधामको मेयर बन्नुअघि शहरका सडकमा घुम्ने स्थिति हुँदैनथ्यो । यस साढे चार वर्षको अवधिमा हामीले पाँचवटा मात्र नभई थुप्रै काम गरिसकेका छौं । उपमहानगरपालिकाको पहिलो बैठकबाटै शहरको नाम संशोधन गरेर हामीले जनकपुरधाम बनायौं । धार्मिक सांस्कृतिक शहरका रूपमा प्रवर्धन गर्नका लागि हामीले यो नाम राखेका हौं । त्यसैसँग जोडिएर हामीले जनकपुरधामलाई केसरिया नगर पनि बनाएका छौं । त्यसैअनुसार शहरको रंग पनि केसरिया छ र कर्मचारीहरूको ड्रेस कोड पनि त्यही किसिमको छ । धामअनुसारको आचरण हुनुपर्छ भनेर हामीले मदिरा, पानपराग, बिँडी चुरोट तथा सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाएका छौं ।
जनकपुरमा बाटोको अवस्था विकराल थियो । सडकछेउका नालाहरू धेरै गनाउँथे । एडीबीको परियोजना अन्तर्गत सडक बनाउने काम हुनुपर्ने थियो तर परियोजना नै गइसकेको थियो । तर मैले उपमहानगरपालिकाका तर्फबाट हारगुहार गरेर सडक सुधारमा काम गर्ने मौका हामीलाई दिनुस् भनें । त्यसपछि १०० करोड रुपैयाँको प्रोजेक्ट हामीले एक वर्षभित्र ठूलो चुनौती झेल्दै पूरा गर्यौं । बाटो फराकिलो गरेर भूमिगत नाला (अन्डरग्राउन्ड ड्रेनेज) हामीले बनायौं । त्यस्तै सडक पिच, फूटपाथ निर्माण र सडकछेउ वृक्षारोपणका काम पनि गर्यौं । यसक्रममा दिनरात मेहनत गरी १६ घण्टासम्म काम गरेको छु ।
तपाईंले बाटोको काम गरें भन्नुभयो । तर यस्तो धार्मिक शहरमा हामीले फोहर देख्यौं । तपाईंले सरसफाइको काम किन गर्न सक्नुभएन ?
साढे चार वर्षको अवधिमा यहाँ कल्पनातीत परिवर्तन भएको छ । अहिले तपाईं राति १२ बजे रेलवे स्टेसनबाट एयरपोर्टसम्म जानुभयो भने झिलमिल बत्ती बलेको देख्न पाउनुहुन्छ । सरसफाइको कुरा गर्दा, हामीसँग सफाइ कर्मचारीको पर्याप्त संख्या छैन । २०४९ सालमा म जनकपुरको उपमेयर थिएँ । त्यसबेलाको सफाइ कर्मचारीको दरबन्दी अहिलेसम्म पनि कायम छ । त्यतिखेर हामीले दैनिक मजदूर राखेका थियौं । सफाइको काम दिहाडी मजदूरले नै गर्ने हो । त्यो हामीलाई राख्न दिइएन । उल्टो, यहाँका प्रमुख प्रशासकीय अधिकृतले भएका कर्मचारीलाई पनि कामबाट निकाल्ने तोक आदेश दिनुभयो ।
अहिले हामीकहाँ ८५ जना सफाइ कर्मचारी हुनुहुन्छ । त्यति थोरै कर्मचारीलाई पनि हामीले राम्रोसँग परिचालित गरेका छौं । तपाईं बिहान ४ बजे उठेर शहर घुम्नुभयो भने सबै फोहर उठिसकेको पाउनुहुन्छ । पहिला बाटोमा फोहर फालिन्थ्यो, नालाहरूको हिलो देखिन्थ्यो, दुर्गन्धित हुन्थ्यो, चैत वैशाखमा धूलैधूलो हुन्थ्यो । अहिले यहाँ दमका रोगीहरूको संख्या निकै घटेको छ । यति धेरै काम भएको छ । उपमहानगरपालिकाका गाउँगाउँमा घुमेर हेर्नुस् । त्यहाँ पनि हामीले अन्डरग्राउन्ड ड्रेनेज बनाएका छौं । खुला नालामुक्त अभियान मैले चलाएको छु । विपक्षीहरूले आलोचना गर्ने कुनै इस्यु पाएका छैनन् । मेला सकिएपछि फोहर डम्प गरेको ठाउँमा गएर फोटो खिचिदिने अनि त्यसैलाई देखाएर आलोचना गर्ने गरेका छन् । वडाध्यक्ष भइसकेका मान्छे पनि जनकपुरलाई नरकपुर भन्छन् । तर जनकपुर स्वर्गपुर भइसकेको छ ।
ल्यान्डफिल साइट बनाएर हामीले फोहर व्यवस्थापन गर्न पाएनौं । फूलगामा र मनिहारीमा साइट छुट्ट्याएर काम गर्ने बेलामा यही क्षेत्रबाट जितेका ठूला पार्टीका नेताले त्यसलाई रोके । त्यस्तो नकारात्मकताका कारण हामीले काम गर्न पाएनौं । तर हामीसँग भएको सीमित स्रोतसाधन उपयोग गरेर हामीले सरसफाइमा ठूलो फड्को मारेका छौं ।
पाँच वर्षमा धेरै काम गरिसकें भन्नुभयो । अब अर्कोले काम गरोस् भनेर छोडिदिएको भए हुन्थ्यो होला । किन फेरि मेयर पदमा दाबेदारी गर्नुभयो ?
अहिले राजनीतिलाई व्यवसाय बनाउन खोज्नेहरू जुर्मुराएका छन् । म सेवाभावका साथ राजनीति गरिरहेको छु । काममा खटिरहन मलाई गाह्रो लाग्दैन । १२ घन्टाभन्दा कमको मेरो रुटिन हुँदै हुँदैन । मैले अहिलेसम्म गरेको कामलाई व्यवस्थित र संरक्षित गर्नुपर्नेछ । शहरको कलर कोड व्यवस्थापन गर्नुपर्नेछ ।
भएको कामलाई कसरी निरन्तरता दिने अनि अधुरा कामहरू कसरी पूरा गर्ने हामीलाई थाहा छ । पोखरीहरूको व्यवस्थापनमा काम गर्न बाँकी छ । गंगासागरमा १०० करोडको एउटा प्रोजेक्ट छ । त्यसको पार्ट पार्टमा काम हुँदैछ । वडा नं ५ लाई हामीले स्मार्ट वार्ड बनाएका छौं । भानुचोकमा एउटा कमर्सियल बिल्डिङ बन्दैछ । गुठीसँग सहमति गरेर २९ वटा पोखरी र ऐलानी पर्ती जग्गाहरू हामीले आफ्नो जिम्माका लिएका छौं ।
त्यस्तै दीर्घकालीन योजनाहरू छन् । स्मार्ट सिटीको योजना छ । हजार बिघा जग्गामा त्यो बन्दैछ । त्यसमा धेरै काम अघि बढिसकेको छ । हाम्रो एयरपोर्टलाई रिजनल हब बनाउने योजना पनि हामीसँग छ । हामीसँग ११४ वर्ष पुरानो संस्कृत विद्यालय छ । त्यसलाई अन्तर्राष्ट्रिय स्तरको संस्कृत विश्वविद्यालय बनाउने हाम्रो परिकल्पना छ । म निर्वाचित भएर आएमा आगामी पाँच वर्षमा म त्यसको कार्यान्वयन गर्नेछु ।
मैले गरेको कामलाई पार्टीलाई मूल्यांकन गरेर नै मलाई टिकट दिएको हो । मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाममा अधुरा रहेका कामहरू पूरा गर्नुपर्छ भनेर मलाई उपेन्द्र यादवजीले भन्नुभएको थियो । जसपा नेपालको एक साधारण सिपाहीको हैसियतले मलाई दिइएको जिम्मेवारी, मैले शुरू गरेका कामको पूर्णता र दीर्घकालीन योजनाको कार्यान्वयनका लागि पनि मेरो उम्मेदवारी परेको हो ।
नेताहरूले नभनेको भए व्यक्तिगत रूपमा तपाईंलाई मेयरको उम्मेदवार बन्ने रुचि थिएन ?
मेयरमा मैले दाबी गरेको हैन । पार्टीले मलाई यो जिम्मेवारी दिएको हो । अनि मलाई पनि लाग्यो, मैले पाएको यो अवसरको सदुपयोग गर्नुपर्छ ।
यहाँ त गठबन्धनको बागी उम्मेदवार पनि उठ्नुभएको रहेछ । तपाईंको जीतलाई बागीले अप्ठ्यारोमा पारेको हो ?
राजनीतिलाई व्यवसाय बनाएर चलखेल गर्नेहरूलाई पनि लोकतन्त्रमा उम्मेदवार बन्ने छुट हुन्छ । उनीहरू पनि यहाँ मेयर लड्न आएका छन् । हाम्रो जीत त सुनिश्चित छ । पहिला जति मतान्तरका साथ हामीले जितेका थियौं त्यसभन्दा बढी मत ल्याएर हामी जित्दैछौं । यहाँ कसैले पनि मेरो विरुद्ध बोल्ने ठाउँ नै छैन । विकास भएन, बाटो भएन, विद्यालय भएन, शिक्षा र स्वास्थ्यमा सुधार भएन भन्ने ठाउँ छैन । हामीले २५ वटै वडा कार्यालयको आफ्नै भवन बनाएका छौं । प्रत्येक वडामा स्वास्थ्य चौकी हामीले बनाइसकेका छौं । संस्कृत विद्यालयमा विद्यार्थीको संख्या हामीले बढाउन सफल भएका छौं ।
यस गठबन्धनमा तपाईंलाई कांग्रेसको साथ छ कि छैन ?
पक्कै छ । गठबन्धनका सबै साझेदारले आफ्ना कार्यकर्ताहरू परिचालन गरेका छन् ।
एउटा मेयरको चुनाव लड्दा कति खर्च हुँदो रहेछ ?
खर्च गर्नेलाई यो प्रश्न सोध्नुस् । ब्ल्याकलिस्टमा परेकाहरू मेयर पद जितेर यसलाई आर्थिक उपार्जनको माध्यम बनाउन खोजिरहेका छन् । त्यसलाई जनताले जवाफ दिनेछ । अघिल्लोपटक उठ्दा पनि मैले खर्च गरिनँ, यसपटक पनि मैले खर्च गर्नुपर्ने छैन ।
जनकपुरमा अलि खर्च गर्नसक्ने उम्मेदवार तपाईं नै हो त्यसैले तपाईंलाई टिकट दिइएको हो भन्दा रहेछन् त ।
हाम्रा पार्टीका नेता उपेन्द्र यादव चुनावमा खर्च गर्ने कुराको विरोधी हुनुहुन्छ । विरोधीहरूले बेकारमा हल्ला फैलाएका हुन् । जनकपुरको विकासका लागि मैले धेरै काम गरेको छु । यहाँको आर्थिक उन्नतिलाई गति दिएको छु । मैले पैसा खर्च गर्नै पर्दैन । यहाँका जनताले सबै कुरा हेरिरहेका नै छन् । जनता विकासको पक्षमा छन् । मैले बुझेको त्यत्ति हो ।
देशको राजधानी शहर रहेको काठमाडौं उपत्यका भित्रको दोस्रो ठूलो महानगर ललितपुरको मेयरका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालको प्रतिस्पर्धात्मक निर्वा...
नेपाली कांग्रेसको प्रभाव रहेको विराटनगर महानगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नागेश कोइराला चुनावी मैदानमा छन् । कांग्रेस संस्थापक बीपी कोइराला, गिरिजा र अहिल...
प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा नेकपा एमालेबाट सागर थापा मेयर पदका उम्मेदवार छन् । कांग्रेसको परम्परागत गढ विराटनगरमा मेयर बन्छु भनेर प्रतिस्पर्धामा उत्रिएका थापा आफूलाई भुइँमान्छेका रूपमा चित्र...
कोशीपारि पूर्वको प्रमुख शहर इटहरीमा चुनावी सरगर्मी बढिरहेको छ । इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । नेकपा एमालेले याम सुब्बालाई मेयर पदमा उठाएको छ । लामो समय पार्टी स...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विराटनगर महानगरपालिकामा आफ्नो उम्मेदवार जिताउने भरमग्दुर प्रयासमा छन् । नागेश कोइरालाई उम्मेदवार बनाउन सम्पूर्ण शक्ति लगाएका कोइरालाई विराटनगरमा जीत निकाल्नु पार्टीभित्रै...
सत्ता गठबन्धनबीच कास्कीको पोखरा महानगरपालिकामा चुनावी तालमेल भएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार बनेका छन् । नेकपा एमाले भने एक्लै चुनावी मैदानमा छ । सत्ता गठबन्धनको सामना ग...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...