१६ असार २०८३, मंगलबार

किशोरी बलात्कारको घटना छानबिन गर्न समिति गठन

जेठ ७, २०७९
किशोरी बलात्कारको घटना छानबिन गर्न समिति गठन

८ वर्षअघिको बलात्कारसम्बन्धी एउटा घटनाको छानबिनका लागि समिति गठन भएको छ ।

सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि ८ वर्षअघि २०७१ सालको अन्त्यतिर भएको बलात्कारसम्बन्धी घटनाको छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रवार एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इन्स्पेक्टर सपना खड्का सदस्य छन् ।

गत बुधवार एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफू १६ वर्षको हुँदा एक सौन्दर्य प्रतियोगिताका सञ्चालकले बलात्कार गरेको खुलासा गरेकी थिइन् । उनले टिकटकमा आफ्नो भनाइ सहितको २० वटा भिडियो क्लिपसमेत राखेकी छन् ।

ती भिडियोमार्फत मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका मनोज पाण्डे नामक ती व्यक्तिले भिडियो समेत खिचेर ब्ल्याकमेल गर्दै ६ महिनासम्म जबरजस्ती करणी गरेको ती युवतीले बताएकी छन् । उनले पूर्व मिस नेपाल माल्भिका सुब्बालाई पनि घटनाबारे आफूले जानकारी दिएको तर सुब्बाले न्यायका लागि सहयोग नगरेको भनेकी छन् ।

बलात्कारको मुद्दामा १ वर्षे हदम्याद रहेका कारण कानूनी प्रक्रिया अघि बढाउन जटिलता रहेको प्रहरीको भनाइ छ । अहिले बलात्कारको कानूनमा रहेको हदम्याद हटाउन माग गर्दै प्रदर्शन समेत शुरू भएको छ ।

छानबिन समितिका संयोजक रहेका एसएसपी कुँवरले हदम्यादका विषयमा रहेको कानूनी विषय समेत सहज बनाएर घटनाको छानबिनमा कसरी अघि बढ्ने भन्ने विषयमा सबै पक्षसँग आवश्यक परामर्श हुने बताए ।

‘पीडित पक्षलाई भेटेर पहिलो चरणमा केही कुराकानी भएको छ, अब कानूनविद्सँग पनि छलफल र परामर्श गरेर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन्छ, हामीले काम शुरू गरिसकेका छौं,’ समितिका संयोजक एसएसपी कुँवरले भने ।

उनी नेतृत्वको समितिका सदस्य एसपी कोइराला नेतृत्वको टोलीले शुक्रवार नै पीडित युवतीको घरमा पुगेर भेट गरेको थियो । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्