१३ असार २०८३, शनिबार

टेलिकमको फोरजी ग्राहक संख्या १ करोड पुग्यो

टेलिकमको फोरजी ग्राहक संख्या १ करोड पुग्यो

 नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ । 

२०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ । 

समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक रहेको टेलिकमले जनाएको छ । 

अघिल्लो महिना अर्थात २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको थियो । 

नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी–एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ । 

फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने (सर्पोट गर्ने) हुनु पर्दछ र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी रहेको टेलिकमले जनाएको छ । आफ्नो मोबाइल फोनबाट *४४४# डायल गरी प्राप्त निर्देशन अनुरुप फोरजी सेवा प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी एक्टिभेट गरी सेवा सुचारु समेत गर्न सकिन्छ । 

कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुन्छ । मोबाइल सेट खरिद गर्दा उक्त सेटको प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी थाहा पाउन सकिन्छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ 

मोबाइल इन्टरनेटको क्षेत्रमा लङ टर्म इभोलुसन ‘एलटीई’ भनिने फोरजी प्रविधि मोबाइलमार्फत उच्च गतिको इन्टरनेटका साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा पनि उपयोग गर्न सकिने अत्याधुनिक प्रविधि हो । 

यसबाट तीब्र गतिको इन्टरनेट प्राप्त हुने भएकाले गुणस्तरीय श्रव्य–दृश्य सामाग्रीहरु, गेम लगायत बढी ब्याण्डविथ आवश्यक हुने सामग्रीहरु सजिलै प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्