१९ असार २०८३, शुक्रबार

मतगणना निर्देशिका संशोधनको काठमाडौंका उपमेयरका उम्मेदवार श्रेष्ठको आग्रह

जेठ १०, २०७९
मतगणना निर्देशिका संशोधनको  काठमाडौंका उपमेयरका उम्मेदवार श्रेष्ठको आग्रह

काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले उम्मेदवार श्रेष्ठले उपप्रमुख पदका लागि उम्मेदवार नै नभएको चिह्नमा परेको मतका कारणले कलम चिह्नमा समेत परेको मत बदर हुन नपर्ने र त्यस्ता मतलाई सदर गर्नुपर्ने माग राखेर निवेदन दिएको जानकारी दिए । 

मतगणनाक्रममा उम्मेदवार श्रेष्ठको चुनाव चिह्न कलम र उम्मेदवार नै नरहेको रुख चिह्नमा समेत उल्लेख्य सङ्ख्यामा मत सङ्केत भएको पाइएको छ । एउटै मतपत्रमा एकै पदका उम्मेदवारको चुनाव चिह्नमा मत सङ्केत भए त्यस्तो मतपत्र बदर हुने निर्देशिकामा उल्लेख रहेको प्रमुख निर्वाचन अधिकृत खतिवडाले प्रस्ट्याए। 

उनले उक्त निवेदनका कारण गणना नरोकिने जानकारी गराउँदै कार्यालयले छिट्टै त्यससम्बन्धमा निर्णय गर्ने बताए । खतिवडाले भने, “उहाँले उठाउनुभएको विषय सैद्धान्तिक हो, हामीले निर्देशिकाबमोजिम गर्ने हो, संशोधनका लागि निर्वाचन आयोग नै पुग्नुपर्छ ।” निर्वाचन अधिकृतको कार्यालयले गर्ने निर्णयमा चित्त नबुझे उम्मेदवारले निर्वाचन आयोग वा अदालतसमक्ष उजुरी गर्न पाउनेछ। 

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले भने निवेदनसम्बन्धमा आयोगलाई जानकारी नभएको र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको हुन सक्ने बताए। गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्