०१ असार २०८३, सोमबार

'पाइलट' बन्ने सपना बोकेर काठमाडौं आएपछि चलचित्रमा जमेका आकाश

असार ३२, २०७९
'पाइलट' बन्ने सपना बोकेर काठमाडौं आएपछि चलचित्रमा जमेका आकाश

म्युजिक भिडियो होस् वा चलचित्र, केही वर्षयता दुवै विधामा जमिरहेका अभिनेता हुन् आकाश श्रेष्ठ ।

‘चकलेटी अनुहार’का यी अभिनेतालाई लिएर म्युजिक भिडियो एवं चलचित्र बनाउन चाहनेहरू प्रशस्तै हुने गरेका छन् । 

तर आकाशको बाल्यकालदेखिको सपना भने अभिनेता बन्ने थिएन । अभिनयमा त उनी अनायासै जोडिन पुगे र स्थापित बने । ‘यो क्षेत्रमा आउँछु भन्ने नै थिएन । बच्चैदेखिको सपना भनेको पाइलट पढ्छु, पाइलट बन्छु भन्ने थियो,’ आकाशले लोकान्तरसँग भने । 

पाल्पाको तानसेनमा जन्मिएका हुन् उनी । बाल्यकाल दाङको तुलसीपुरमा बिताए उनले । त्यहीबाटै राम्रो अंकका साथ एसएलसी उत्तीर्ण गरे र प्लस टू पढ्न काठमाडौं आए । प्लस टूमा म्यानेजमेन्ट पढे, उत्तीर्ण गरे । स्नातकमा बीबीए पढ्न थाले ।

‘खासमा काठमाडौं आउँदा पाइलट पढ्ने सोचेरै आएको थिएँ,’ आकाश भन्छन्, ‘म आफ्नै खर्चले पाइलट पढ्न चाहन्थें तर आवश्यक खर्च नहुँदा पाइलट पढ्न सकिनँ ।’

उनको बीबीए पढाइ बिहानी सिफ्टमा थियो । दिउँसोमा ‘पार्ट टाइम’ कामका लागि के गर्न सकिएला भनेर सोधीखोजी गर्न थाले उनी । त्यसपछि विज्ञापनमा मोडलिङको काम गर्न थाले । सोही बखत म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाए । गायक योगेश लिम्बुको ‘अंगालन’ बोलको गीतबाट उनले मोडलका रूपमा सांगीतिक क्षेत्रमा पाइला टेकेका थिए ।

गीतको भिडियोमा अभिनय गरेको केही महिनापछि अर्का अभिनेता अनमोल केसीसँग आकाशको भेट भयो । त्यसको भोलिपल्ट अनमोलकी आमा सुस्मिता केसीले आकाशलाई फोन गरेर चलचित्रको लागि अफर गरिन् । अफर गरिएको चलचित्रको नाम थियो – म त तिम्रै हुँ ।

चलचित्रमा पहिलो अनुभव थियो आकाशको । कस्तो रह्यो त त्यो अनुभव ? उनले भने, ‘निकै गाह्रो नि ! मलाई कुनै आइडिया थिएन । सेटमा कोही पनि नचिन्ने । आफूले मेहनत गरेर स्थान बनाउनुपर्छ भन्ने लाग्थ्यो ।’ 

उनी अभिनय र कलाकारिता क्षेत्रबारेमा जानेर मात्र नहुने बताउँछन् । यो क्षेत्रमा आफू कसरी अनुशासित भएर काम गर्ने भन्ने कुराले पनि अर्थ राख्ने उनको धारणा छ । अभिनयबाट दर्शकको माया र हौसला पाउँदै गएपछि भिडियो र चलचित्र क्षेत्रमै काम गर्ने सोच बनाए ।

आकाशले दोस्रो चलचित्रका रूपमा ‘तिमी सँग’मा अभिनेता बनेर अभिनय गरे । त्यसयता ‘ब्ल्याक’, ‘रामकहानी’, ‘ड्रिम गर्ल’, ‘पोई पर्‍यो काले’ लगायतका उनी अभिनित चलचित्रहरू प्रदर्शनमा आइसकेका छन् । ‘पोई पर्‍यो काले’पछि शुक्रवारदेखि मात्रै उनी अभिनित नयाँ चलचित्र ‘सम्झना बिर्सना’ प्रदर्शनमा आएको छ । चलचित्र आइरहेकाभन्दा बिल्कुलै फरक रहेको आकाश बताउँछन् ।

दार्जिलिङको परिवेशमा निर्माण भएको चलचित्रमा आकाश चिया बगानको मालिकको भूमिकामा प्रस्तुत छन् । उनी चिया बगानमा काम गर्ने मजदुरको दुःखलाई चलचित्रमा देखाउन खोजिएको बताउँछन् ।

‘यसलाई लभ स्टोरी बेसमा बनेको सामाजिक चलचित्र भन्छु । चलचित्रले केही सन्देश दिने विश्वास पनि लिएको छु,’ उनले भने । उनले नेपालभन्दा बाहिरको प्रोजेक्टमा काम गरेको यो पहिलोपटक हो । ‘३ वर्षपछि दर्शकसँग हलमा भेट्ने मौका पाएको छु । त्यसलाई लिएर एकदमै उत्साहित छु,’ उनले भने, ‘राम्रो कथावस्तुमा चलचित्र तयार पारेको हुनाले दर्शकले रुचाउनेमा उत्तिकै आशावादी पनि छु ।’

आकाशले ‘हिँड्दाहिँड्दै’ नामक नयाँ चलचित्रको भर्खरै छायांकन सकेका छन् । ‘सम्हालिन्छ कहिले मन’ भदौमा प्रदर्शनमा आउँदैछ । एकपछि अर्को म्युजिक भिडियोमा पनि अझ ज्यादा व्यस्त छन् आकाश । भिडियो होस् चाहे चलचित्र, दर्शकको माया पाउँदा एकदमै खुशी लाग्ने आकाश बताउँछन् ।

उनले कलाकारिताबाट आफूलाई राम्रो भइरहेको बताउँदै आउँदा दिनमा अझ राम्रा कामहरू गर्दै जाने बताए । चलचित्र क्षेत्रमा सधैंभरि सक्रिय रहने उनको सोच छ । भोलिका दिनमा चलचित्र निर्माणबारे पनि सोच बनाएको उनले बताए । 

पाइलट पढ्ने र पाइलट बन्ने रहर अधुरो रहँदा अहिले पछुतो लाग्ने गरेको उनी बताउँछन् । यद्यपि पढेर पाइलट बनेर आउँदा दिनमा पनि रहर पूरा गर्न सक्ने आकाशले बताए । ‘अब पढेर पनि पाइलट बन्छु भन्ने लाग्छ । त्यसबारे सोचिरहेको पनि छु,’ उनले भने । परिवारबाट उनलाई यस्तो बन्नुपर्छ, उस्तो बन्नुपर्छ भनेर कहिल्यै दबाब आएन ।

उनले भने, ‘आफ्नो इच्छाले जे मन लाग्छ, तिमीलाई जे सही लाग्छ त्यही गर तर गलत काम कहिल्यै नगर भन्नुहुन्थ्यो । अहिले पनि उहाँहरूले भन्ने त्यही नै हो ।’ 

सरल र शालिन स्वभावका आकाश फूटबलसँगै फिटनेशमा विशेष रुचि राख्छन् । उनी केही वर्षयता ‘रियल स्टेट’ व्यवसायमा समेत आवद्ध छन् ।

salt training

कमेन्ट गर्नुहोस्