०५ असार २०८३, शुक्रबार
नयाँ राजनीतिक समीकरण

नेपाली राजनीतिको 'थर्ड पोल' : कांग्रेस-एमालेलाई धक्का दिन सफल होला समाजवादी केन्द्र ?

साउन १०, २०७९
नेपाली राजनीतिको 'थर्ड पोल' : कांग्रेस-एमालेलाई धक्का दिन सफल होला समाजवादी केन्द्र ?

पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, डा. बाबुराम भट्टराई र वामदेव गौतमले समाजवादी केन्द्र बनाएर राष्ट्रिय राजनीतिमा ‘नयाँ पोल’ बनाउने प्रयास जोडतोडले अगाडि बढाएका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीबाट बाहिरिएका डा. भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एकीकृत भएर समाजवादी केन्द्र बनाउने प्रयासमा छन् ।

संसदीय राजनीतिमा रहेका ठूला वामपन्थी दलमध्ये एमाले बाहेकको शक्ति एकीकृत हुँदा राष्ट्रिय राजनीतिमा नयाँ पोल तयार हुनेछ । तर, त्यो पोल आफैँमा कत्तिको शक्तिशाली होला भन्नेमा चाहिँ संशय नै छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका ‘सम्मानित नेता’ तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहेको र निष्कर्षमा पुग्न बाँकी रहेको बताए । 

‘हामी जम्माजम्मी दुईपटक बैठक बसेका छौं । छलफल जारी छ । हामी यो देशका लेफ्ट र सोसलिस्ट पार्टी तथा समूहहरू एकताबद्ध भएर, एउटा मोर्चा बनाएर चुनावतिर जाऊँ भन्नेबारेमा सल्लाह गर्दैछौं’, खनालले भने ।  

वामपन्थी शक्तिहरू मिल्नु अहिलेको आवश्यकता भएको तर सबै वामपन्थीहरू सहकार्यका लागि तयार नभएको पनि उनले बताए । 

‘सबै वामपन्थीहरू एक ठाउँमा आउनु अहिलेको आवश्यकता हो । कतिपय समूह त्यसका लागि तयार नै छैन । सबै तयार नभई त कसरी हुन्छ र ? वाम एकता यो देशको आवश्यकता हो’, खनालले भने ।

एउटै पार्टी नबनेको अवस्थामा विचार मिल्ने पार्टीहरूको बीचमा एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जानेबारे पनि छलफल भइरहेको खनालले बताए । ‘कानूनले विचार मिल्ने दलहरूको एउटै चुनाव चिह्न हुन सक्ने व्यवस्था गरेको छ । हामी यो विषयमा पनि छलफलमा छौं’, उनले भने । 

माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि समाजवादी केन्द्र बनाउनेबारे निर्णय भइसकेको प्रतिक्रिया दिएका छन् ।

सत्ता गठबन्धनमा रहेका वामपन्थी झुकाव भएका पार्टीहरू मिलेर समाजवादी केन्द्र बनाउने निर्णय भएको उनले बताए ।

कम्युनिस्ट पार्टीहरूको एकताका लागि प्रयास गरिरहेका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी एकताका लागि एकता संयोजन समिति बनाउनेबारे छलफल चलाइरहेका छन् । यसै सिलसिलामा प्रचण्ड र गौतमबीच सोमवार सिंहदरबारमा भेटवार्ता भएको थियो । 

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा दुई नेताले समाजवादी केन्द्र र एकता संयोजन समिति बनाउने बारेमा छलफल गरेका छन् । छलफल सकेर बाहिरिने क्रममा आफूहरूको नेता प्रचण्ड भएको गौतमले बताएका थिए । 

लोकान्तरसँगको कुराकानीमा गौतमले भने, ‘समाजवादी केन्द्र बनाउने प्रयासलाई चाँडो निष्कर्षका पुर्‍याउने बारेमा कुराकानी भएको छ । चाँडै ६/७ वटा समाजवादी पार्टीहरू बसेर टुंगोमा पुग्छौं ।’

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावअघि पार्टी एकता नै सम्भव नहुने भएकाले मोर्चा बनाएर एउटै चिह्नमा चुनावमा सहभागी हुने सम्भावना रहेको गौतमले बताए । 

उनले भने, ‘निर्वाचन नजिक आइसकेको छ । त्यसको तयारीमा जुट्नुपर्ने छ । त्यसो हुँदा पार्टी एकता अहिले नै सम्भव नहोला भन्ने छलफल भइरहेको छ । चुनावपछि पार्टी एकता गर्ने गरी एकता संयोजन कमिटी बनाएर जानेबारे छलफल भइरहेको छ ।’

उक्त कमिटी नै समाजवादी मोर्चाको स्वरूप हुने उनले बताए । कम्युनिस्ट पार्टी र गैर कम्युनिस्ट तर समाजवादी धारका पार्टीहरूलाई समेटेर समाजवादी मोर्चा बनाउने तयारी रहेको गौतमले बताए । 

कस्तो होला मोर्चाको शक्ति ? 

अहिले चर्चा हुने गरेको समाजवादी मोर्चा वा केन्द्रमा विशेषगरी माओवादी केन्द्र, एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको समूह र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान सम्मिलित हुन तयार भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कारवाही गरेपछि नयाँ पार्टी गठनको प्रयासमा रहेका डा. भट्टराई समाजवादी मोर्चामा रहन सहमत भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन् । 

त्यसबाहेक, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई पनि यो चुनावी मोर्चामा सहभागी गराउने प्रयास भइरहेको छ । 

हालको प्रतिनिधि सभाका अहिले एमाले सबैभन्दा ठूलो दल छ । त्यसपछिको शक्तिमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहेका छन् । प्रतिनिधि सभामा एमालेका ९८ जना सांसद छन् । कांग्रेसको ६३, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३ जना सांसद छन् ।

जनता समाजवादी पार्टीका २० जना सांसद थिए । तर, जनता समाजवादी पार्टीबाट सांसद रहेका डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवले उक्त पार्टी छाडेका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीका सांसद संख्या जोड्दा ९० सांसद हुन्छ । त्यसमा डा. भट्टराई र यादव थपिँदा सांसदको संख्या ९२ पुग्छ । यसो हुँदा उनीहरू संसद्को दोस्रो शक्ति हुन्छन् । तर, निर्वाचनको मिति घोषणा भएसँगै मौजुदा संसद् नरहन सक्छ । त्यसो हुँदा सत्ता समीकरणमा यो संख्याको अर्थ रहँदैन । 

अर्कोतर्फ, माओवादी केन्द्र र एकीकृत समाजवादीले गत चुनावमा एक्लै प्रतिस्पर्धा गरेर जितेका पनि होइनन् । त्यसबेला एमाले र माओवादी केन्द्रले पार्टी एकताको नारा दिएर चुनावी गठबन्धन गरेका थिए । एमाले र माओवादीले एकअर्काको बलमा चुनाव जितेका थिए । एकीकृत समाजवादी एमालेबाट विभाजन भएर बनेको हो । 

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावको मत परिणाम हेर्ने हो भने अहिले बनाउने भनिएको समाजवादी मोर्चा राष्ट्रिय राजनीतिको तेस्रो शक्ति हो । 

स्थानीय तहमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १ सय ९३ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । दोस्रो स्थानमा रहेको एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ ।

 

यसैगरी १५ लाख ३ हजार २४७ मत पाएर माओवादी तेस्रो, ५ लाख ७७ हजार ३ सय ८० मत पाएर जनता समाजवादी पार्टी चौथो, ४ लाख २२ हजार ७ सय ३७ मत पाएर एकीकृत समाजवादी पाँचौं, ३ लाख ६४ हजार १ सय ६० मत पाएर राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौं र २ लाख ४४ हजार ८ सय ८२ मत पाएर लोकतान्त्रिक समाजवादी पार्टी सातौं भएको आयोगले जनाएको छ ।

 

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले स्थानीय तहमा आवश्यकतामा आधारमा चुनावी तालमेल गरेका थिए । त्यसो हुँदा उनीहरूले पाएको मत पनि एकल प्रतिस्पर्धाबाट आएको चाहिँ होइन ।   

कुल ७५३ स्थानीय तहमा प्रमुखमा जितेको संख्या हेर्दा कांग्रेसले ३२९ अर्थात ४३ प्रतिशत स्थानीय तहको नेतृत्व जितेको छ । एमालेले २०६ अर्थात २७ प्रतिशत स्थानीय तहमा नेतृत्व जितेको छ । माओवादी केन्द्रले १२१ अर्थात १६ प्रतिशत स्थानीय तहको प्रमुखमा जीत निकालेको छ । जनता समाजवादी पार्टीले ३० स्थानीय तह अर्थात् करीब ४ प्रतिशत र एकीकृत समाजवादीले २० अर्थात् करीब साढे २ प्रतिशत स्थानीय तहमा जीत हासिल गरेका छन् ।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीले जितेको स्थानीय तह जोड्दा १७१ पुग्छ । स्थानीय तहमा यो तेस्रो शक्ति हो । 

कांग्रेस वा एमालेसँग तालमेल नगरेको खण्डमा यो मोर्चालाई पहिलो वा दोस्रो शक्ति बन्न मुस्किल छ । तर, तालमेल गर्दा भने समग्रमा दोस्रो शक्ति बन्ने सम्भावनालाई नकार्न सकिन्न ।

पहिलो शक्ति बन्ने दाबी 

समाजवादी मोर्चाको चर्चा गरिरहेका नेताहरूले आगामी चुनावबाट प्रतिनिधि सभामा पहिलो शक्तिकोरूपमा उदाउने दाबी गरिरहेका छन् । 

माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी दिनमा नेपालको राजनीतिमा वामपन्थी ध्रुवको नेतृत्व समाजवादी केन्द्रले गर्ने र दक्षिणपन्थी ध्रुवको नेतृत्व कांग्रेसले गर्ने दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘वामपन्थी शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्छ । दक्षिणपन्थी ध्रुवको नेतृत्व कांग्रेसको हुन्छ । एमालेले कसलाई रोज्ने उसको विचार हो ।’

वामपन्थी एकताको प्रयासमा रहेका नेता वामदेव गौतमले पनि समाजवादी मोर्चा बन्दा अहिले तेस्रो शक्ति हुने र चुनावबाट पहिलो शक्तिमा स्थापित हुन प्रयास गर्ने बताए । 

‘हामी अहिले तेस्रो शक्ति हुन्छौं भन्ने त स्थापित नै भइहाल्यो । आगामी चुनावबाट पहिलो शक्ति बन्ने हाम्रो प्रयास हुन्छ’, गौतमले भने ।

समाजवादी केन्द्रको नाममा बन्न लागेको मोर्चा सत्तारूढ पाँच दलीय गठबन्धनको उप–गठबन्धन हो । वामपन्थी मोर्चा र कांग्रेसले संयुक्तरूपमा चुनावी तालमेल गर्ने तर, सीट बाडफाँडमा सम्मानजनक व्यवहार हुनुपर्ने माग वामपन्थी नेताहरूले गरिरहेका छन् ।  

यसरी बनेको मोर्चा आगामी निर्वाचनपछि पहिलो वा दोस्रो शक्तिकोरूपमा स्थापित हुन नसके पनि सशक्त र निर्णायक भूमिकासहितको तेस्रो शक्तिका रूपमा भने स्थापित हुने देखिन्छ । 

अर्कातर्फ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावपछिको प्रधानमन्त्रीको कुर्सी ताकिरहेका छन् । त्यसका लागि पनि उनले आफ्नो नेतृत्वमा सशक्त र निर्णायक शक्ति बनाउने प्रयास थालेका छन् । 

वामपन्थी पृष्ठभूमिका केही दलहरू अहिले गठबन्धन नामको राजनीतिक गोठमा सँगै छन् । तर, प्रचण्डले उनीहरूलाई आफूले चाहे जसरी हिँडाउने गरी एउटै जुवामा नार्ने प्रयास गरिरहेका छन् ।

उनको त्यो प्रयास कति सफल हुन्छ, त्यो भने भविष्यले नै बताउने छ ।

salt training

कमेन्ट गर्नुहोस्