
नेपाल नेत्रज्योति संघ चितवनले भरतपुरमा सञ्चालन गरेको आँखा अस्पताल र आँखा उपचार केन्द्रमार्फत १ वर्षमा झण्डै ३ लाखलाई सेवा दिएको छ ।
अस्पतालले सन् २०२१ को जुलाई १ देखि सन् २०२२ को जुन ३० सम्म २ लाख ८९ हजार ३९२ जनाको आँखा उपचार गरेको हो ।
अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बहिरंगतर्फ भरतपुर आँखा अस्पतालमा १ लाख ३२ हजार ५२१, भरतपुर ओरालोमा रहेको चिजकुमार विष्णुकुमारी श्रेष्ठ बहिरंग विभाग (सिटी क्लिनिक)मा १९ हजार १०८, ठोरी अस्पतालमा ८ हजार ५२३ जनाको उपचार गरिएको छ ।
यसैगरी कावासोती अस्पतालमा ९ हजार १४, सिम्रनगढ अस्पतालमा ६ हजार ६९० र आँखा उपचार केन्द्रमा २६ हजार ७९८ जनाको उपचार गरिएको छ । अस्पतालले ग्रामीण क्षेत्रमा पुगेर सञ्चालन गरेको आँखा शिविरमार्फत् ८६ हजार ७३८ जनाको उपचार गरेको छ ।
अस्पतालले उक्त अवधिमा ९ हजार ८९६ वटा शल्यक्रिया गरेको छ । तीमध्ये हातले गर्ने शल्यक्रिया ७०२, उपकरणको माध्यमबाट गरिने ३ हजार ३०, आँखाको नानी (कर्निया) को ३८१, जलविन्दुको ८४, आँखाको पर्दा (रेटिना) को १६१ शल्यक्रिया गरिएको हो ।
आँखाको वरिपरिको भागको ३८७, बालबालिकाको आँखाको ९०, अन्य शल्यक्रिया २१२ र शिविरमार्फत् रिफर गरिएका ४ हजार ८४९ जनाको शल्यक्रिया गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।
बहिरंग र शल्यक्रिया गरी लक्ष्यको १२४ दशमलव ९७ प्रतिशत सफलता मिलेको जनाइएको छ ।
अस्पतालले सन् २०२० को जुलाई १ देखि सन् २०२१ को जुन ३० सम्म १ लाख १८ हजार ९४७ जनाको उपचार गरेको थियो । सोही अवधिमा ५ हजार ३३५ जनाको विभिन्न शल्यक्रिया गरेको थियो । कोभिडका कारण उक्त अवधिमा बिरामीको संख्या कम भएको थियो ।