
इटहरी इन्टरनेसनल कलेजले शैक्षिक, अनुशासन र सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई एएए छात्रवृत्ति पुरस्कार वितरण गरेको छ ।
विद्यार्थीहरूलाई कलेजमा प्रदर्शन गरेको उत्कृष्टताका आधारमा छात्रवृत्ति वितरण गरिएको हो । जसअन्तर्गत ट्युशन शुल्कमा शतप्रतिशत छुट सुविधा प्रदान गरिएको कलेजले जानकारी दिएको छ ।
यस छात्रवृत्ति कार्यक्रमका लागि कूल १३६ जना विद्यार्थीले आवेदन दिएका थिए । कलेजका संकाय सदस्यहरूले २१ विद्यार्थीलाई एएए छात्रवृत्तिका छनोट गरेका थिए । उनीहरूलाई लगभग २८ लाख रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको कलेजले जानकारी दिएको छ ।
छनोटमा परेका विद्यार्थीलाई एक समारोह आयोजना गरी सम्मान गरिएको छ । समारोहमा कलेज परिवार र सम्बन्धित विद्यार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पुरस्कृत विद्यार्थीलाई कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. दक्षता राणा शाहले धन्यवाद दिइन् । ‘म र कलेज परिवार पहिलो एएए छात्रवृत्ति प्राप्त गर्न यहाँहरूले देखाउनु भएको लगनशीलताबाट निकै गौरवान्वित भएका छौँ । भविष्यमा हाम्रा थप धेरै विद्यार्थीहरूले यो पुरस्कारबाट सम्मानित हुने आशासमेत व्यक्त गर्दछु’, उनले भनिन् ।
कलेजको एएए छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूलाई कलेजमा आफ्नो समग्र प्रतिभा देखाउने एउटा राम्रो अवसर बनेको छ । विद्यार्थीको शैक्षिक उत्कृष्टताका साथै सक्रिय सहभागिताका लागि छात्रवृत्ति कार्यक्रम तयार पारिएको कलेजले जनाएको छ ।
जसले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । छात्रवृत्ति प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीलाई यो उत्कृष्ट प्रयासका लागि कलेजले बधाई दिएको छ ।