
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेतृत्व गरेको फर्वार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड तथा मोरङको ५ नम्बर निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले नेतृत्व गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड १ नम्बर प्रदेशका ठूला वित्तीय संस्थामा पर्छन् ।
मन्त्री चौधरीले टिकट पाएपछि संस्थाबाट राजीनामा दिएकी थिइन् तर सांसद तथा मन्त्रीहरूकै वित्तीय संस्थाले गाउँमा उठीबास लगाएका छन् ।
कानेपोखरी गाउँपालिका–२ लिम्बू टोलमा करीब ३५ परिवार छन् । अधिकांश परिवार लघु वित्त संस्थाकै कारण विस्थापित हुने अवस्थामा पुगेका छन् भने केही परिवार विस्थापित नै भएका छन् ।
विस्थापित मात्रै होइन, परिवार नै छिन्नभिन्न भएका छन् । कतिपय व्यक्ति ढोकामा ताला लगाएर वैदेशिक रोजगारीमा जान बाध्य छन् ।
वित्तीय संस्था पीडितको उदाहरण बनेकी छन् कानेपोखरी–२ लिम्बु टोलकी ६७ वर्षीया मनमाया पाण्डे । उनले जेठा छोराको घर बनाइदिन भनेर २०७५ चैत १७ गते ९ लाख रुपैयाँ ऋण लिएकी थिइन् । उनको त्यो पैसा १ वर्षमै दोब्बर बनेको छ ।

साँवा–ब्याज तथा हर्जाना गरेर उनको खातामा ९ लाख ८६४ रुपैयाँ थपिएको थियो । तिर्न ताकेता गर्दै २०७६ चैत्र १२ गते राजश्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ सोसाइटी लिमिटेडबाट पत्र आएको थियो । दैनिक किचकिच सहन नसकेपछि उनका छोरा कमाउन भन्दै भारततिर गएका छन् भने बुहारी जोर्डन गएकी छन् । २ छोरी मावलीमा छिन् ।
ऋण ९ लाख लिए पनि मनमायाले ७ लाख मात्रै आफ्नो हातमा परेको बताएकी छन् । ‘१ लाख रुपैयाँ संस्थाले नै सेवा शुल्क लियो । मिलाइदिनेले १ लाख रुपैयाँ लिए,’ उनले भनिन्, ‘तिर्न नसकेपछि छोराबुहारी नै विदेश गएका छन् । ३ कट्टा जमिन धितो राखेर उनीहरूले ऋण लिएका थिए । दैनिकजसो नै कर्मचारीहरू आउने र ‘कालोसूचीमा राखिदिन्छौ तिमीहरूले वृद्धभत्ता पनि खान पाउँदैनौ’ भनेर धम्क्याउने गरेको मनमाया बताउँछिन् । लघुवित्तका मानिसहरू दैनिकजसो घर घेर्न आउने गरेको बुवा मोहन पाण्डे बताउँछन् ।

‘म रोगी पनि छु । दम ग्यास्ट्रिक जस्ता रोगको पनि औषधि दैनिक खाइरहेको छु तर दैनिक आएर भत्ता खान पाइँदैन धम्क्याउँछन्,’ उनले भने, ‘भत्ता आएन भने म औषधि खान पाउँदिनँ, मरिजान्छु ।’ उनले कालोसूची भनेको के हो भन्ने पनि आफूलाई जानकारी नभएको बताए ।
‘जीवन विकासमा ८० हजार लिएकोमा बढेर १ लाख २० हजार पुगेको छ । फरवार्डको ५ किस्ता तिरेपछि ९० हजारमा आइपुगेको छ । १८ प्रतिशतसम्मले लिन्छन्,’ ५२ वर्षीया लक्ष्मी लिम्बुले पीडा सुनाउँदै भनिन्, ‘वित्तीय संस्थाको बारेमा पहिला साथीभाइको लहैलहैमा लागेर संस्थामा पस्दा अहिले उठीबास हुन लागेको छ । एउटा आउँछ, अर्काे राम्रो भन्छ, अर्काे आउँछ, अर्काे राम्रो भन्छ । भन्दाभन्दै त्यसको विश्वास गर्दा घर छाडेर हिँड्ने अवस्था बनेको छ ।’
भीममाया लिम्बुको पनि अरुको जस्तै छ । १–२ किस्ता तिर्न ढिलो भएपछि कर्मचारीले ‘मर्नु नि किन हेरिरहेको टिलटिल गरेर’ भनेपछि किस्ता नै तिर्न छाडेको उनी बताउँछिन् । झुण्डिएर मर्नु भनेपछि किस्ता नै तिर्न छाडेको उनले सुनाइन् ।
गाली गरेको सम्झिँदै उनले भनिन्, ‘म पनि बिरामी थिएँ, घरमा काम गर्ने मान्छे पनि कोही थिएनन्, भएको सुँगुर काटेर किस्ता तिरौं भनेर सुँगुर काटेका थियौं । कर्मचारीहरू आएछन्, पैसा उठाएर किस्ता तिर्ने भनेपछि ‘सुँगुर जस्तै खाएर बस न तिर्नु पर्दैन’ भनेर गाली गरेर गए ।’

‘कि तुरुन्तै तिर, नत्र नवीकरण गर’ भनेर ब्याज र नवीकरण रकम थपेर १० हजार पनि साँवामै गाँभिदिने गरेको उनले बताइन् ।
स्थानीय दिलीप मुडियारी (झाँगड) को अवस्था पनि उस्तै छ । उनकी श्रीमती सीता झाँगडले शुरूआतमा जीवन विकास समाज संस्थाबाट ५ हजार ऋण लिएकी थिइन् । ५ जनाको समूह बनाएर बचत गर्न थालेपछि वित्तीय संस्थाहरूले विना धितो ऋण लगानी गरे । उनीहरूको समूह खोज्दै अर्काे पनि वित्तीय संस्था आएपछि उनीहरू नयाँ संस्थामा लागे । ‘सेवासुविधा राम्रो हुन्छ, हाम्रोमा बचत गरौ’ भनेपछि उनीहरू अर्को समूहमा पनि सहभागी भए । त्यसरी नै उनीहरू १ दर्जनभन्दा बढी वित्तीय संस्थाले बनाएको समूहमा सहभागी छन् । एकातिरको पैसा तिर्न अर्कोतिरबाट निकाल्दै गर्दा १३ वटा समूहमा आबद्ध भएको सीता झाँगडले बताइन् ।
परिवारमा कमाउने दिलीप मात्रै हुन् । उनी फर्निचरमा काम गर्ने मिस्त्री हुन् । घरमै काठका सामग्री बनाएर उनले बेच्ने गरेका थिए । कोरोनाको समयमा श्रीमान् बिरामी भएपछि लिएको ऋण तिर्न छाडेको सीता बताउँछिन् । नेरुडे, फरवार्ड, नेपाल सारडा, अभियान, इन्फिनिटी, स्वावलम्बन, समिट लगायतका संस्थाहरूबाट उनीहरूले ऋण खाएका थिए । १० हजार देखि १ लाख रुपैयाँसम्म सबै वित्तीय संस्थाबाट ऋण लिएको उनीहरूले बताएका छन् ।
पहिला तिरेपनि कोरोनापछि श्रीमान् पनि बिरामी भएका र फर्निचरको माग पनि नभएकाले समस्या भएको उनीहरू बताउँछन् । दैनिक आएर ‘खाएपछि तिर्न जान्दैनौ’ भनेर गाली गर्न थालेपछि तिर्नलाई मिटर ब्याजमा पनि पैसा चलाएको सीताले बताइन् । सम्पत्तिको नाममा सानो झुपडी मात्रै रहेको उनले बताइन् ।
‘घर छोड पनि भन्छन्, घरमा ताला लगाइदिन्छु भन्छन् । घरजग्गा बेच्छु भन्दा पनि बिक्दैन । समूहले पनि हुलका हुल मान्छे ल्याएर श्रीमान् बिरामी भएको बेलामा पनि तनाव दिए । घर छाडेर भाग्न बाध्य बनाउँदैछन्,’ सिताले रुँदै भनिन् । पहिला गाली गर्ने गरेका समूहका सदस्य पनि अहिले आफैं घर छाडेर भाग्ने अवस्थामा पुगेका छन् ।

सीताकै छिमेकी सुकरी मुडियारी झाँगडले स्वावलम्बनको समूहले घरको सामान लगिदिएको बताइन् । ‘५० हजार ऋण खाएको थिएँ । तिर्न बाँकी १५–१६ हजार रुपैयाँ थियो । । केही दिनपछि तिर्छु भन्दा अहिल्यै तिर भन्दै कुटपिट गर्दै घरमा ताला लगाइदिन्छु भने । घरभित्र पसेर र्याक, काठको बिम, ग्यास सिलिन्डर लिएर गए । अहिले ऋण चुक्ता पनि गरिसकें तर अहिलेसम्म ग्यास सिलिन्डर ल्याइदिएको छैन । ऋण तिर्न नसक्ने हो भने मर पनि भन्छन्,’ उनले दुखेसो पोखिन् । बचत गरेको कति भएको छ भन्दा नभन्ने र समूहबाट निस्कन्छु भन्दा पनि निस्कन नदिने गरेको उनले बताइन् । ऋण तिर्न सक्दैनस् भने डोरी लैजा, झुन्डिएर मर भनेर भनेको पनि उनले सुनाइन् ।
लघुवित्तकै ऋण तिर्न नसकेपछि कानेपोखरी–६ का ध्रुव परियारका परिवार पनि बेपत्ता भएका छन् । कानेपोखरी–७ की धनमाया जोगी पनि ऋणकै कारण विस्थापित भइन् । विना धितो भन्दै दर्जनलाई ऋण दिएपछि तिर्न नसक्दा विस्थापित हुन थालेका कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले बताए ।
लघु वित्तीय संस्थाले मनोमानी गरेको भन्दै केही दिनअघि इटहरी र झापामा छुट्टै दबाबमूलक कार्यक्रम पनि भएका छन् । ‘लघु वित्तीय संस्था खारेज गर, महिला मार्न पाइँदैन, लघु वित्तीय संस्था चाहिँदैन, किस्ता बहिष्कार गरौं, सामूहिक ऋण मिनाहा गर’ जस्ता नारा लगाएर पीडितहरूले इटहरीमा प्रदर्शन गरेका थिए । धेरै फाइदा हुने आश्वासन दिएर ५ जनाको समूह बनाउने र पछि सहयोग माग्न जाँदा ऋण खान बाध्य बनाएर महंगो किस्ता असुल्ने गरेको पीडितको गुनासो छ ।

जीवन विकास संस्थाका प्रमुख समेत रहेका मोरङका प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले वित्तीय संस्था र बैंकहरूमाथि आक्रमण गरेर राष्ट्रलाई असफल गर्ने प्रयास भएको प्रतिक्रिया दिए । तपाईं सञ्चालक भएकै संस्थाका कर्मचारीले अमानवीय व्यवहार गर्दै ‘मर’ समेत भन्ने गरेको प्रश्नमा उनले आफ्ना कर्मचारीले त्यसो नभनेको तर ५ वर्षको बीचमा खुलेका वित्तीय संघसंस्थाले पुराना संस्थालाई असर गरेको बताए ।
१५ प्रतिशत ब्याज र डेढ प्रतिशत सेवा शुल्क लिन पाउने राष्ट्र बैंकले अनुमति दिएकाले त्यहीअनुसार गरेको दाबी पनि उनले गरेका छन् । ‘लघुवित्तबाट ठूलो रकम राज्यकोषमा जम्मा भएको छ । त्यो पनि बन्द गर्ने हो भने राजस्व ठप्प हुने अवस्था आउँछ,’ उनले भने ।
लघुवित्त संस्थामा ५८ लाख महिलाहरू जोडिएको उनले बताए । एमालेका नेता समेत रहेका दुर्गा प्रसाईंप्रति लक्षित गर्दै उनले ऋण मिनाहा गराउने र राष्ट्रिय पार्टी बनाउने भित्री मनसाय कसैको देखिएको बताए । १० प्रतिशतभन्दा बढी महिला अप्ठ्यारोमा नपरेको पनि उनले दाबी गरे । ऋण नै नतिर्ने भए देश नै डुब्ने समेत उनको तर्क छ ।
देशैभर वित्तीय संस्थाका कारण धेरै ज्यान गुमाउने अवस्थामा पुगेका छन् । सरकारले गरीबी निवारण गर्ने बताए पनि वित्तीय संस्थाले चुनौती दिन थालेका छन् । मासिक ५ हजार किस्ता तिर्न नसक्दा एक व्यक्तिले विष नै सेवन गरेका छन् । कानेपोखरीका एक व्यक्तिले किस्ता तिर्न ७ हजार रुपैयाँ सापटी लिएका थिए । किस्ता तिर्नुपर्ने दबाब र सापटी फिर्ता गर्नुपर्ने दबाब बढेपछि काठमाडौं गएर कमाएर तिर्ने तयारीमा थिए तर काठमाडौं नगई तिर्न दबाब दिएपछि ती व्यक्तिले विष खाएर आत्महत्याको प्रयास गरेका थिए ।