
लोकदोहोरी कलाकारहरूको सर्वोच्च संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल आफ्नो आठौँ केन्द्रीय महाधिवेशनको अन्तिम तयारीमा छ । आउँदो शुक्रवारदेखि धादिङ जिल्लामा हुने महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिरहँदा प्रतिष्ठानका पूर्व महासचिव लोकगायक विष्णु खत्रीले गीतसंगीत सम्बन्धी नयाँ संस्था खोल्ने तयारी गरेको विषय यतिबेला चर्चामा छ ।
गायक खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट भने बिदा लिइसकेका छैनन् ।
महाधिवेशनबारे जानकारी दिन मंगलवार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनीले गायक खत्रीले संस्थाबाट बिदा लिइनसकेको बताए ।
उनले प्रतिष्ठानको सांगठनिक, भौतिक लगायतको विकासमा गायक खत्रीको योगदान अतुलनीय रहेको बताउँदै उनी संस्थालाई चाहिने व्यक्ति भएको बताए ।
आफूहरूले गायक खत्रीको योगदानको सधै कदर गर्ने गायक पंगेनीको भनाई थियो । ‘संस्थामा चुनाव हुने एउटा प्राविधिक कुरा हो । यसमा हार–जित हुन्छ । उहाँ जत्तिको व्यक्ति संस्थामा चाहिन्छ । उहाँ आउनुपर्छ, हुनुपर्छ भन्नेमा हामी सबै एकमत हौं’ गायक पंगेनीले भने, – ‘तर कहिलेकाहीँ कस्तो भइदिन्छ भने, बराबरीको अवस्थामा चुनाव गनुपर्ने हुन्छ । चुनाव हुँदा एउटाले जित्छ । अर्कोले हार्छ । त्यसलाई त स्वीकार्नुपर्ने हुन्छ ।’
विष्णु खत्रीसँग प्रतिष्ठानका विषयमा फोनमा धेरै पटक कुराकानी भए पनि भेटेर कुरा हुने मौका नपाएको पंगेनीले बताए ।

संस्था खोल्ने पाउने जो–कोहीको अधिकार भएको बताउँदै पंगेनीले विष्णु खत्री पक्ष र प्रतिष्ठानबीच मनमुटावको कुरा बाहिर आएजस्तो नभएको दाबी गरे ।
उनले गायक खत्रीले आफ्ना असन्तुष्टिका विषयमा महाधिवेशनको बन्दसत्रमा छलफल गर्न सक्ने बताए । ‘उहाँका असहमतिका कुरामा बन्दसत्रमा हामी छलफल गर्न सक्छौं । हलले पारित गर्यो भने त्यसलाई लागू पनि गर्न सक्छौं’ गायक पंगेनीले विश्वास व्यक्त गर्दै अगाडि भने ‘हामीमा मनमुटाव छैन । विष्णुजी महाधिवेशनमा आउनुहुन्छ ।’
तीन दिनसम्म चल्ने महाधिवेशनमा केन्द्रीय समिति, ६ प्रदेश स्तरीय समिति र ७२ जिल्ला स्तरीय समितिका १ हजार बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ । हाल रमेश बि.जी अध्यक्ष रहेको संस्थामा कुल २६ हजार बढी सदस्य आबद्ध छन् ।