१० साउन २०८३, आइतबार

रत्न मन्दिर खुला गर्ने तयारी

रत्न मन्दिर खुला गर्ने तयारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिवार साँझ रत्न मन्दिरको अवलोकन गरेका छन् । उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए ।

सो अवसरमा उनले दरबार खुला गर्ने योजनाअनुसार व्यावसायिक योजना बनाउन नेपाल ट्रस्टको बैठक राखेर आग्रह गरिसकेको जानकारी दिए । नयाँ वर्षसँगै सर्वसाधारणले अवलोकन गर्ने गरी खुला गर्न काम अघि बढ्ने उनले बताए ।

उनले भने, ‘हामीले धेरै कुरा किनारा लगाउँदै गएका छौं । ठूला योजना विस्तार गर्दै लैजाऔंला, हालका लागि यहाँ भएकाहरूलाई अलि सुन्दर बनाएर दरबार खोल्नुपर्दछ भनेर भनेका छौं ।’

मन्त्री किरातीले नेपाल ट्रष्ट यसअघि रक्षा र गृह मन्त्रालय मातहत रहेकाले लामो समय बैठक नै नबस्ने गरेकाले समेत केही ढिलाइ भए पनि अहिले पर्यटन मन्त्रालय मातहत आएकाले काम छिटो हुने बताए । उनले रत्न मन्दिरमा व्यावसायिक भवन बनाउने तथा व्यापारिक समूहलाई भाडामा दिने कुरा हुन नसक्ने जनाउँदै पोखरेलीवासीको भावनाअनुसार नै काम हुने बताए ।

रत्नमन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । विक्रम संवत् २०१३ सालमा दरबारको निर्माण शुरू गरिएको थियो । सो दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो । 

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राज परिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर ट्रस्टको स्वामित्व छ ।

पर्यटकीय शहर पोखरास्थित फेवातालको छेवैमा रहेको रत्न मन्दिर (दरबार) देशमा गणतन्त्र आएको ढेड दशक बित्दा समेत अझै सर्वसाधारणका लागि खुला भएका छैन । तत्कालीन राजपरिवारका देशका अन्य भागमा रहेका दरबार खुला हुँदा समेत पोखराका यी २ दरबार खुला नभएपछि यहाँका पर्यटन व्यवसायीले लामो समयदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुला हुनुपर्ने माग गर्दै आएका छन् ।

गणतन्त्र घोषणापछि तत्कालीन राजा वीरेन्द्र तथा राजपरिवारको नाममा रहेका सम्पूर्ण सम्पत्ति ट्रस्ट मातहतमा ल्याउने सरकारी निर्णयअनुसार रत्न मन्दिर र हिमागृह ट्रस्टको स्वामित्वमा छ । पोखरामा रहेका यी २ दरबार खुला गरेर पर्यटकीय गन्तव्यका रूपमा विकास गरी पर्यटकको बसाइ लम्ब्याउनुपर्ने यहाँका पर्यटन व्यवसायीले आवाज उठाउँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्