
आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् ।
अस्पतालमा ७ वटा भेन्टिलेटर रहेका छन् । भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन ।
कोभिड–१९ का संक्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् ।
गण्डकी प्रदेश सरकारले दिएको १ करोड ६९ लाख रुपैयाँको लगानीमा आईसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट समेत भेन्टिलेटर उपलब्ध भएका थिए । ३ वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू निर्माण गरिएको थियो । ३ चिकित्सक र ३ नर्सले भेन्टिलेटर सञ्चालनका लागि पोखराबाट तालिम लिएका थिए तर हालसम्म उनीहरूले सीप प्रयोगमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुक्मिणा अधिकारीले बताए ।
१५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको पर्वत अस्पताल पुरानोबाट नयाँ संरचनामा सारिएको छ । सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो । त्यो क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा थन्क्याइएका छन् ।
आवश्यक दक्ष जनशक्ति नभएकै कारण आईसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको डा. अधिकारीले बताए ।
७ वटा भेन्टिलेटर चलाउन २८–३० जनासम्म जनशक्ति आवश्यक हुने भए पनि एक जना पनि नहुँदा समस्या भएको उनले बताए । अहिले २४ नर्सका भरमा अस्पताल चलाउनुपरेको डा. अधिकारीले बताए । ‘यसलाई ५० शय्या क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ,’ उनले भने ।