
चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ ।
आगामी असार १, २ र ३ गते दाङ जिल्लामा उक्त महोत्सवको आयोजना गर्ने मंगलवार बसेको बोर्ड बैठकले निर्णय गरेको बोर्ड प्रवक्ता के.एल. बुढाथोकीले जानकारी दिए ।
महोत्सवको संयोजकमा प्रवक्ता बुढाथोकीलाई नै तोकिएको छ । उक्त महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक चलचित्रहरूको प्रदर्शनी हुनेछ । साथै, चलचित्रज्ञान सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवं फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ ।
महोत्सवको दौरान ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ, जहाँ स्थानीय झाँकी र सांस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुने प्रवक्ता बुढाथोकीले बताए ।
बालबालिकाहरूमाझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउने, बालबालिकाहरूलाई चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा संचालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बाल चलचित्र महोत्सवहरूमा नेपालका बालबालिकाहरू तथा उनिहरूले बनाएका चलचित्र सहभागी गराउन मद्दत पुर्याउने आदि उद्देश्यहरूका साथ राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।