०१ असार २०८३, सोमबार
धरानका मेयरलाई अदालतमा भेट्दा...

मुद्दा हालेर हैरान बनाए, अब सिंगल–सिंगल भिडौँ भन्न थालेको छु– हर्क साम्पाङ [अन्तर्वार्ता]

असार १, २०८०
विराटनगर
मुद्दा हालेर हैरान बनाए, अब सिंगल–सिंगल भिडौँ भन्न थालेको छु– हर्क साम्पाङ [अन्तर्वार्ता]

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् ।

धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै साम्पाङविरुद्ध मुद्दा परेको हो । अदालत परिसरमै लोकान्तरकर्मी उत्तम पोखरेलले साम्पाङसँग छोटो कुराकानी गरेका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

आज अदालतमा भेटिनुभयो, किन आउनुभएको ?

– यहाँ एउटा मुद्दा छ, त्यसैका लागि आएको हुँ । खानेपानी विकास बोर्डको बैठक बोलाएन भनेर मुद्दा लगाएका रहेछन् । 

बोर्डमा अरू कसैलाई अध्यक्ष बनाउनु भएन, आफैँ अध्यक्ष भइरहनुभएको छ भन्ने रहेछ नि !

– अध्यक्ष मैँ हुँ । पहिलाका निर्णयहरू छन् नि त ! पहिला नगर प्रमुख नै खानेपानी बोर्डको अध्यक्ष हुने भन्ने रहेछ । स्थानीय तहको चुनाव हुनुभन्दा अगाडि कार्यकारी प्रमुख हुँदादेखि नै नगर प्रमुख अध्यक्ष हुने व्यवस्था रहेछ । पछि गएर स्वर्गीय तारा सुब्बा अध्यक्ष हुनुभयो । उहाँ पनि नगर प्रमुख हो ।

त्यसपछाडि कार्यबाहक प्रमुख मञ्जु भण्डारी हुनुभयो । मभन्दा अगाडिका मेयर तिलक राई पनि अध्यक्ष बन्नुभयो । नगर प्रमुख जो हुन्छ, त्यो अध्यक्ष बन्ने भन्ने निर्णय छ । 

वर्षमा ६ पटक बैठक बोलाउनुपर्छ भन्ने व्यवस्था छ हैन ? 

– हो । तर, कस्तो छ भने त्यहाँका ती सदस्यहरू बोर्डका वास्तविक सदस्य नै होइनन् । फर्जी कागजात राखेर बोर्ड सदस्य भनेर बसिरहेका छन् । मुद्दा नै परेपछि हामीले सबै खुलेर नै भन्नुपर्छ, जिब्रो चपाएर कुरा गर्ने होइन । सूर्यबहादुर भट्टराईको कार्यालय तथा संस्था नै छैन ।

null

राष्ट्रिय उपभोक्ता मञ्च सुनसरी भन्ने संस्थाको प्रतिनिधि श्याम पोख्रेल बोर्डको सदस्य हुनुहुन्छ । त्यो संस्था सुनसरीमा दर्ता वा सूचीकृत केही भएको भेटिएको छैन । फर्जी डकुमेन्ट बनाएर उनीहरू आएका छन् । उनीहरूलाई मैले कसरी सदस्य मान्ने ? दलीय भागबन्डा गरेर आएका रहेछन् ।

जलस्रोत तथा संरक्षण संस्थाको तर्फबाट धरान १७ का वडाध्यक्ष सदस्य भएर आउनुभएको रहेछ, त्यो संस्था नै छैन धरानमा  । त्यसको अफिस पनि छैन । फर्जी कागज लिएर सदस्य बन्नुभएको रहेछ । देवराज श्रेष्ठ भन्ने हुनुहुन्छ, उहाँको कार्यकाल सकिएको रहेछ ।

बोर्डकै सदस्य विजय श्रेष्ठ हुनुहुन्छ । विजय उद्योग वाणिज्य संघको अध्यक्ष हुँ भन्ने तर कहिले निर्वाचित भएको केही रेकर्ड छैन । उद्योग वाणिज्य संघ पनि बोर्डको सदस्य हुने व्यवस्था रहेछ । तर, विजयले म अध्यक्ष भएँ भनेर लिखित दिएको भए मैले शपथ गराउँथें, त्यो पनि छैन ।

विजय श्रेष्ठ र मेघराज श्रेष्ठको कार्यकाल गुज्रिएको छ, श्याम पोख्रेल र सूर्यबहादुर भट्टराईको संस्था नै अस्तित्वमा छैन, अनि कोसँग बैठक बस्नु ? मलाई हाँसो उठ्छ । कति हाँस्नु ? श्रमदानमा पनि हाँस्छु । विराटनगर आउँदा पनि हाँस्दै आएँ । यही कुरा उच्च अदालतका श्रीमान्लाई जनाउनुपर्‍यो भनेको, मुद्दाको पेशी नै सर्‍यो । 

तपाईं आफैं पनि बहस गर्नुहुन्छ ? 

– गर्छु म त । पहिला पनि बहस गरेर आएको हो । मसँग लाइसेन्स छैन, आफूलाई परेको कुरा बोलेर आएको हुँ । म त बोलेर आएको हँु नि !  

तपाईं कोकाहाको पानी ल्याउँदा आफैं पनि भावुक बन्नुभयो । अहिले के छ पानीको स्थिति ?

– धरानमा पानीका दुईवटा स्रोत छन्, एउटा खोला खोल्सी र अर्काे जमिनमुनिको सतह । इटहरीबाट धरान जाँदा दाहिने/देब्रेपट्टि घरहरू देख्नुहुन्छ नि, तीचाहिँ हाम्रा इनार हुन् । त्यहाँबाट पानी तान्छौं र माथि संकलन केन्द्रमा राखेर लिफ्टमार्फत वितरण गर्छाैं । अन्य केही खोलाखोल्सीबाट बगेको पानी संकलन गरेर खुवाउँछौ ।

अहिले हामीसँग भएका पूर्वधार पनि पुराना छन् । बजार विस्तार भइरहेको छ । मैले कोशिश गरिरहेको छु । पाइप नपुगेको कुनै खोलाखोल्सी छैन । कोकाहाबाट पनि ल्यायौं । त्यो कहिल्यै नसुक्ने स्रोत रहेछ । सुख्खायाममा अरू खोलाखोल्सी सुक्दा रहेछन् । कोकाहाको पानीले ठूलो 'प्लस पोइन्ट'को काम गर्छ ।

nullकति मान्छे श्रमदानमा सहभागी भए ? 

– त्यो त तथ्यांक राखिएको छैन । कुनै सरकारी योजना होइन । कुनै स्टिमेट पनि थिएन । पालिकाको खर्च पनि भएको छैन । 

कोकाहाबाट कति पानी आउँछ ?

– त्यो त मैले नापेको छैन, भर्खर मात्रै ल्याइएको छ । त्यसमा एयर लीक गराउन अझै बाँकी छ । कर्मचारीहरू पठाएको छु ।

पाइपमा भएको हावा पूर्णरूपमा बाहिर निकालेपछि मात्रै पानी फूल आउने रहेछ । हामीले सुधार गरिरहेका छौं । पूरै समस्या समाधान गर्नचाहिँ कोशीबाट पानी ल्याउनुपर्छ । कोकाहाको पानीले ३० प्रतिशत आवश्यकता धान्छ जस्तो लाग्छ । सेउती, सर्दु खोलाचाहिँ सुख्खायाममा सुक्छन् । कोकाहा सुक्दैन, पानी आइरहन्छ ।

भूमिगत स्रोतबाट अलि सहज हुन्थ्यो हैन र ?

– पैसा धेरै लाग्छ । बिजुली नभएको बेला पानी आउँदैन । पम्प गर्दा बिजुलीको थुप्रो बिल  उठ्छ । वर्षको ६ करोड त बिजुलीको बिल नै तिर्नुपर्छ । 

अबको योजना के छ ?

– वृक्षारोपण गर्ने हो । मैले २५ लाख बिरुवा रोप्ने भनेको छु । म बोलेको पुर्‍याउँछु पनि । जेष्ठ नागरिक अस्पताल बनाउँछु । आर्थिक अवस्था राम्रो हुनेले कहाँ–कहाँ पुर्‍याउँछन्, विदेशतिर लगेर पनि उपचार गर्छन् । जसको आर्थिक अवस्था नाजुक छ, त्यसको अवस्था दयनीय छ ।

हरेक मानिसमा आ–आफ्नो दुःख त छँदैछ, तर बुढेसकालमा झन् धेरै दुःख हुँदोरहेछ । रोग पनि लाग्दोरहेछ । ज्येष्ठ नागरिक उपचार केन्द्र श्रमदानबाटै बनाउने घोषणा गरेको छु । कति बेडको बनाउने भन्ने टुंगो लाग्न बाँकी छ ।

श्रमदानको डीपीआर हुँदैन । श्रमदान भनेको अर्कै चिज हो । एक हजार आउँछन् भनेको ५ हजार आउने, कहिले ५ सय मात्रै पनि आउँछन् श्रमदाता । 

स्वास्थ्यकर्मीको व्यवस्थापन कसरी गर्नुहुन्छ ? 

– त्यो बनाएपछि थाहा हुन्छ । स्वास्थ्यकर्मीले पनि श्रमदान गर्नुपर्छ भन्छु म त । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भद्रगोल छ, त्यसैलाई व्यवस्थित गर्दा हुँदैन ? 

त्यो फरक कुरा हो । श्रमदान फरक हो । श्रमदान भनेको देशभक्ति हो । यसको डीपीआर पनि हुँदैन । कोकाहाको पनि डीपीआर छैन । डीपीआर बनाएको भए यति वर्ष, यति करोड भन्ने हुन्थ्यो । मैले ड्याम कि ड्याम गरेँ, काम भइसक्यो । पानी आइसक्यो । अब कसले डीपीआर खोज्छ ? धरानको श्रमदानमा धरानका मात्रै होइन, बाहिरका मान्छे पनि आउनुभएको छ ।

डीपीआर चाहिन्न भन्नुहुन्छ, तर प्रक्रियागत र दिगो विकासको पनि कुरा होला नि !

– तपाईंहरूले कुरा बुझ्नुभएन । यसो भन्दा मुद्दा त लगाउनुहुन्न नि ? (हाँसो) । धरानमा दुईखालको काम हुन्छ, एउटा रेड बूकको, अर्कोचाहिँ श्रमदानको । म रेड बूकको कामको चर्चा एउटा पनि गर्दिनँ । कत्रो बाटो बनाइयो, कुन ठेकेदारले बनायो, यस्तो चर्चा म गर्दिनँ, किनभने त्यो जहाँ पनि भइरहेको हुन्छ ।

मैले अरूभन्दा नयाँ के गर्न सक्छु भनेर खोज्ने हो । नयाँ कामको खोजी गर्ने हो । रेड बूकको काम नगर्ने भन्ने होइन, कोशीको पानी ल्याउनुपर्छ भनिरहेका छौं । त्यो श्रमदानबाट हुँदैन, ठेकेदारले गर्छ । ठेकेदारले गर्ने कामको मैले किन चर्चा गर्ने ? 

null

मुद्दाको धेरै चर्चा गर्नुभयो, तपाईंमाथि अरू पनि छन् र मुद्दा ?

– धेरै छन् । अख्तियारकै तीन/चारवटा होलान्, जवाफ लेख्दैछु । खै के–के हो, के–के ।

मुद्दाले धेरै झमेला दिएको छ उसो भए ? 

– धेरै छ नि ! सेवाग्राहीका गुनासो सुन्ने बेला अदालत धाउनुपरेको छ । चित्त बुझ्दैन भने फाइट खेलौं पनि भनेको छु । ओपन–ओपन एकपटक भिडिदिऊँ क्या ! ग्याङफाइट हैन, सिंगल–सिंगलचाहिँ भिड्छु दुई–तीनजनासँग । त्यता जाऊँ न, के मुद्दा लगाइराख्नु ?

हप्तामा दुई–तीनवटा मुद्दा लाग्छ ।​ कार्यकालभरी मुद्दै लडेर बस्ने म ? म कसैलाई पनि मुद्दा लगाउँदिनँ । तर, मलाई नै हैरान बनाए । म त आममाफी दिनुपर्छ भन्ने खालको मानिस हुँ । दिक्कै लगाए अनि अब भिडौं भन्न थालेको छु । देशको बारेमा सोच्दा मुद्दा लगाएका छन् । काँडैकाँडाले घेरेका छन् ।

तपाईंको भनाइ कानूनको बर्खिलाप भएन र ?

– कानूनविपरीत ? कानूनविपरीत नै हो त । साह्रै चित बुझ्दैन । कति मुद्दा लगाउनु त लुकेर ? साहस हुने मान्छे पाखुरा देखाएर आउनुपर्छ ।

तपाईंलाई भिड्न रहर लागेको त हैन ?

– कहाँ हुनु, म त मोटिभेसन गर्न चाहने मान्छे हो । कति मान्छेलाई पाइप तनाएँ, तनाएँ । त्यसरी मोटिभेसन गर्ने हो । 

मुद्दा लगाउनेसँग धरानमै छलफल गर्दा हुन्थ्यो कि ? 

हुन्थ्यो नि, उहाँहरू आउनुहुन्न । कि उहाँहरूलाई धरान उप–महानगरपालिका कार्यालयको ठेगाना थाहा छैन ? थाहा छैन भने गूगल मैं राखदिऊँ कि जस्तो लागिरहेको छ । हाँस्दै । 

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्