०१ असार २०८३, सोमबार

२३ सय बढी गोही नदीमा छाडियो

असार १, २०८३
काठमाडौं
२३ सय बढी गोही नदीमा छाडियो

पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका २ हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ । केन्द्रका अनुसार सन् १९८१ यता विभिन्न आठ वटा नदीमा ती गोहीलाई छाडिएको हो । 

केन्द्रका अनुसार यस अवधिमा राप्ती नदीमा सबैभन्दा बढी एक हजार ५६० वटा गोही छाडिएको छ । चालु आर्थिक वर्षमा मात्रै २२५ वटा गोही छाडिएको निकुञ्ज प्रशासनले जनाएको छ । जसमध्ये भाले १४ र पोथी २११ रहेका छन् । 

निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार केन्द्रमा हुर्काइएका हालसम्म नारायणी नदीमा ४१९ सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको छ । 

यस वर्ष अहिलेसम्मकै बढी गोही नदिमा छाडीएको हो । सन् २०२१ र २०२२ मा सङ्कलन भएका अण्डाबाट कोरलिएका गोही यस वर्ष छाडिएको हो । हरेक वर्ष गोही छाड्ने गरेको भएपनि गणना गर्दा भेटिने गोहीको सङ्ख्या भने बढ्न सकेको छैन । गत वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा ३६६ वटा मात्र भेटिएको थियो ।

हाल प्रजनन् केन्द्रमा ५०० वटा गोही छन् । यस वर्ष सङ्कलन गरिएको १९६ अण्डाबाट १४६  बच्चा कोरलियका छन् । घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । 

विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमारलगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमामात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको २ प्रतिशतमात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन् केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही थिए । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन्, प्रदूषणलगायतका कारण गोहीहरु प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए ।

salt training

कमेन्ट गर्नुहोस्