
‘वीर विक्रम’बाट नेपाली रजतपटमा पाइला चालेकी दीया पुनको नयाँ फिल्म ‘अन्तिम संस्कार’ आउँदो शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।
‘मिष्टर झोले’, ‘ह्याप्पी डेज’, ‘मन्त्र’ लगायतका फिल्ममा प्रायः गाउँले युवतीको भूमिकामा देखिएकी उनी यसपटक डिएसपी (प्रहरी)को भूमिकामा छिन् । नयाँ र फरक भूमिकामा देखिएकाले फिल्मलाई लिएर उनी निकै उत्साहित छिन् । साथै, फिल्मका लागि सिंगो टिमले नै निकै मेहनत गरेको भएकाले पनि अपेक्षा रहेको उनी बताउँछिन् ।
दीया सधै फरक भूमिकामा अभिनय गर्न रुचाउँछिन् । तर, उनलाई यसअघि निर्वाह गरेकोजस्तै भूमिकामा अफरहरू धेरै आउने गर्छन् । सोहीकारण पनि उनले अभिनय गरेका फिल्मको संख्या धेरै छैनन् ।
अब भने उनलाई एक्सन फिल्म खेल्ने इच्छा छ । लोकान्तरसँग कुरा गर्दै उनले भनिन् –‘एक्सनमा फिमेल लिडमा रहेको फिल्म नआएको धेरै भयो । मलाई त्यसप्रकारको भूमिका गर्न मन छ ।’ एक्सन फिल्म खेल्न सक्ने विश्वास पनि आफूमा रहेको उनले बताइन् ।
यसबाहेक ‘नेगेटिभ रोल’ (भिलेनको भूमिका)मा पनि अभिनय गर्ने इच्छा आफूमा रहेको दीया बताउँछिन् । अहिलेसम्म फिमेल कलाकार भिलेनको रोलमा कमै देखिएकाले पनि आफूलाई त्यो इच्छा रहेको बताइन् ।
प्रदीप शाहीको निर्देशन रहेको ‘अन्तिम संस्कार’मा दीयासँगै विजय लामा, त्रिचु राई, रेश्मा घिमिरे लगायतको अभिनय छ । मनोवैज्ञानिक थ्रिलर जनरामा फिल्म बनेको हो । दीयाको अभिनय रहेको फिल्म ‘दयारानी’ पनि प्रदर्शन हुन बाँकी छ । बेलायतमा बस्दै आएकी यी अभिनेत्री समय मिलाएर नेपाली फिल्ममा अभिनय गर्दै आएकी छिन् ।
उनले गतवर्ष मात्रै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी थिइन् ।