
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला भ्रष्टाचार काण्डमा प्रमुख दलबीच मिलोमतो भएको भन्दै गम्भीर ‘फायर’ खोलेका छन् ।
प्रभावशाली नेता थापाले एकपछि अर्को ठूलो भ्रष्टाचारको काण्ड आउँदा एक अर्काविरुद्ध चर्को बोलेर तर्साउन खोज्ने तर काण्डलाई सत्ता बार्गेनिङको टुल बनाउने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।
सोमवार सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै थापाले ठूला घटना दबाउन ठूलाहरू मिलेको भन्दै यसविरुद्ध लाग्नेहरूलाई एक ठाउँमा उभिन आग्रह गरेका छन् ।
‘यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएकाहरू एक ठाउँमा आऊँ । यस्तै धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाऊँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔं,’ थापाले भनेका छन्, ‘हामीले प्रयास गर्यौं भने यी विषयलगायत भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानूनी, संरचनागत र संस्थागत सुधार गर्ने वातावरण अहिले बन्दैछ ।’
बन्दै गरेका संरचनामा राम्रोसँग काम गर्न थापाले आह्वान गरेका छन् ।
‘यसका निम्ति संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचारसम्बन्धी दुईवटा ऐन संशोधन विधेयक विचाराधीन छन् । हामीले छुट्टाछुट्टै दर्जनौं संशोधन हालेका छौं । यसमा राम्रोसँग काम गरौं,’ थापाले भनेका छन् ।
थापाले ललितानिवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डपछि टीकापुर जग्गा घोटालालगायत एकपछि अर्को भ्रष्टाचारका काण्डमा नेताहरू मिलेको आरोप लगाएका हुन् ।
‘पुराना घटनाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन भ्रष्टाचार नियन्त्रणका लागि बनेका हाम्रा कानूनी र संरचनागत संयन्त्रहरूलाई बलियो बनाउँदै यसमा देखिएका लुपहोलहरूमा काम गर्न यी घटनाहरूले हामीलाई झक्झक्याइरहेका छन्,’ थापाले भनेका छन्, ‘तर, यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर विस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना एकदमै देखिन्छ ।’
एमाले उपमहासचिव प्रदीप ज्ञवाली कांग्रेसका जिम्मेवार नेता थापाले यति गम्भीर विषय उठाउनुले भ्रष्टाचार र ठूला काण्डमा बार्गेनिङ भएको प्रस्टिएको बताउँछन् ।
‘गगनजीको यो आरोपले मात्रै होइन परिस्थितिले नै ठूला काण्ड मिलेमतोमा सामसुम हुन्छन् भन्ने देखिएको छ,’ ज्ञवाली भन्छन्, ‘सुनकाण्डमा माओवादी नेतालाई उन्मुक्ति, बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति तथा संगठित अपराधको सट्टा सामान्य फर्जी कीर्तेमा मुद्दा हाल्ने प्रयासले यस्तै देखाउँछ ।’
यतिमात्रै होइन गौर हत्याकाण्डको छानबिनको प्रसंग आउँदा सरकार छाड्न तयार भएका उपेन्द्र यादवको मौनताले पनि केही न केही समझदारी भएको देखाएको ज्ञवाली बताउँछन् ।
‘गौर हत्याकाण्डको छानबिनको कुरा आउँदा उपेन्द्र यादव सरकार छाड्नेसम्मको तयारीमा थिए,’ ज्ञवाली भन्छन्, ‘अहिले केहीदिनमै यो प्रकरण सामसुम भएपछि उहाँहरू चुपचाप देखिनुभएको छ ।’
सार्वजनिक खपतका लागि नभई भ्रष्टाचार र अनियमितताविपरीत पहल गर्न थापाबाट अभिव्यक्ति आएको हो भने यसलाई सकारात्मक मान्नुपर्ने उनको भनाइ छ ।
कांग्रेस महामन्त्री थापाले केही दिनअगाडि झापाको शिवशतासी नगरसभालाई सम्बोधन गर्दै एक अर्काको डरले भ्रष्टाचारको फाइल नखोलिएको बताएका थिए ।
‘एउटाले भन्छ, म सुन काण्डको भ्रष्टाचार छानबिन गर्छु । अर्कोले ठूला कुरा गर्छ, गिरीस्टेटको फाइल खोल्छु । अर्कोले तेरो शिविरको खोल्दिन्छु भन्छ । अर्कोले भन्छ मिलेर कसैको नखोलौं,’ महामन्त्री थापाले भनेका थिए, ‘त्यसो गर्न पाइन्छ ? पाइँदैन । कांग्रेसले भन्ने कुराचाहिँ त्यो यती ओम्नी, चाहे गिरीबन्धु, ललिता या चाहे शिविर जुनसकै घोटलाको फाइल सबै खोलिनुपर्छ ।’
हुन पनि थापाले भनेजस्तै गरी हल्ला भए अनुसार न पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि ललितानिवासमा छानबिन भयो न सुनकाण्डमा नै माओवादी नेता कृष्णबहादुर महरा तानिए । जबकि सुन तस्करसँग सयौं कल फोन संवाद गरेका महरामाथिका अकाट्य प्रमाण थिए । थापाले भनेजस्तै गरी एकपछि अर्को काण्ड आउँदै गर्दा जोसुकै पनि पर्न सक्ने भन्दै दलहरूले अस्वाभाविक मौनता देखाएका थिए ।
बरु सुनकाण्डको छानबिन गर्न भन्दै सीआईबीलाई दबाबमा राख्न आयोग बनाउन कांग्रेस, एमाले र माओवादी एकाएक सहमत हुन पुगे । यही आयोग बनाउने सहमतिपछि एमाले एक महिनादेखिको संसद् अवरोधबाट पछाडि हट्यो । एमाले पछि हट्नेबित्तिकै संसद्का १० वटा समितिमा सत्तापक्ष र प्रतिपक्ष मिलेर चुनाव लडे । १० वटै समितिका सभापति चयन गर्दा कांग्रेस, एमाले, माओवादी, राप्रपा, नेकपा एस, जसपा र जनमतबीच तालमेल भयो । यी सबै दल एकअर्काका प्रस्तावक र समर्थक बनेर समितिमा प्रतिस्पर्धा हुने बाटो नै बन्दै गरिदिए । केही दिन अगाडिसम्म सत्तापक्ष र प्रतिपक्षी एक अर्कासँग आक्रामक भएको देख्नेलाई यो अस्वाभाविक मिलनले भने सोचमग्न बनाएको छ ।
कांग्रेस नेता गुरु घिमिरे पनि महामन्त्री गगनले खोलेको फायर यथार्थ भएको बताउँछन् ।
‘गगनजीले बोल्नुभएको ठूला भ्रष्टाचार काण्डमा ठूलाकै मिलेमतो छ भन्ने कुरा सामाजिक र राजनीतिक यथार्थ हो । भ्रष्टाचार र अनियमितताले गर्दा नागरिकमा समेत चरम वितृष्णा छ । यस्तो गलत अभ्यास दलकै गलत पात्रका कारण सिर्जना भएको समस्या हो,’ घिमिरेले भने, ‘यसैले प्रणाली राम्रो हुँदाहुँदै पनि प्रश्न उठ्न पुगेको छ । यस्ता काण्डको सरकारले प्रभावकारी छानबिन गर्नुपर्छ । हाम्रो पार्टीले पनि सहयोग गर्नुपर्छ, किनकि ठूला घटना एकपछि अर्को आउने तर शीर्ष तहमा समझदारी हुने क्रमले सन्देह उत्पन्न भएको सही हो ।’
दलहरूले हुर्काएको गलत प्रवृत्तिविरुद्ध मत मिल्नेहरू एक ठाउँमा उभिन जरुरी रहेको घिमिरे बताउँछन् ।
‘दलहरूका खराब व्यवहार, कर्म, चरित्र र व्यवहारकै कारण प्रश्न उठेको हो । अब इतिहासमा यस्तो दोहोरिन नदिन दलहरूले प्रतिज्ञा गर्नुपर्छ । हामी यस्ता कमीकमजोरी गर्दैनौं, सुशासन दिन्छौं भनेर गठबन्धन गर्दा पनि हामीले सह्यौं,’ घिमिरे भन्छन्, ‘तर गठबन्धन एकअर्कालाई जोगाउन तल्लीन हुनुहुन्न । एक अर्काविरुद्ध दोष थोपर्ने अनि अन्तिममा सबै मिल्ने यस्तै प्रवृत्ति भए ढिलो चाँडो सबै दलका भ्रष्टाचारविरोधी नेताहरू एक ठाउँमा उभिनु जरुरी नै छ ।’
नेता घिमिरे ठूला काण्डमा आउनेबित्तिकै प्रमुख दलहरू म्याच फिक्सिङको शैलीमा प्रस्तुत हुनुलाई आपत्तिजनक मान्छन् ।
‘घटना र परिस्थितिले नक्कली भुटानी शरणार्थी प्रकरणमा उपाय ननिस्केर केही नेतालाई पक्राउ गरिएको देखिन्छ । अब सुनकाण्ड, ललितानिवाससहितका सबै काण्डमा कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन । तर पूर्व प्रधानमन्त्रीलाई बयानसम्म नलिएर म्याच फिक्सिङ गरिएको छ,’ ठूला काण्ड आउनेबित्तिकै बनाइएको आयोग पनि निष्पक्ष हुन्छ र ठूला काण्डमा प्रभावकारी निर्देश गर्छ भन्ने देखिँदैन, किनकि हिजोका आयोगको इतिहास र अभ्यास गतिलो छैन । यसैले गम्भीर ध्यानाकर्षण र खबरदारी नगर्ने हो भने हामी यस्ता दर्जनौं घटनाको चंगुलमा फस्छौं ।’
राजनीतिक विश्लेषक मुमाराम खनाल नक्कली भुटानी शरणार्थी प्रकरणमा विदेशी दबाबमा केही नेतालाई पक्रन तयार भए पनि त्यसयताका हरेक काण्डमा प्रमुख दलबीच मिलेमतो देखिँदै आएको बताउँछन् ।
‘ठूलो काण्डमा ठूला दल र नेता सबै एक ठाउँमा आउँछन् । यसमा लुकाउनुपर्ने कुरा नै छैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा विदेशी दबाबमा र आर्थिक अनुदान पाइँदैन भन्ने भएर केही नेतालाई पक्राउ गरिएको हो,’ खनाल भन्छन्, ‘त्यसयताका अरू जति पनि काण्ड आएका छन्, यी सबैमा ठूला दलहरूको मिलीभगत देखिन्छ ।’
संसदीय समितिमा प्रतिस्पर्धा नै आवश्यक नठान्नुले पनि प्रमुख दलबीच मिलीभगतमा जे पनि हुन्छ भन्ने सन्देश गएको खनाल बताउँछन् ।
भ्रष्टाचारविरुद्ध अभियान थालौं भनेर एउटा जिम्मेवार नेता बोल्ने विषय स्वाभाविक भएको खनालको भनाइ छ । तर थापाले अपिल गरेजस्तो निरंकुशताविरुद्ध जस्तो भ्रष्टाचारविरोधी अभियानमा नागरिक समाज सडकमा उत्रिहाल्ने अवस्था नभएको उनी बताउँछन् ।
‘भ्रष्टाचार भन्नेबित्तिकै यो अलि जटिल विषय छ । निरकुंशताविरुद्ध जस्तो भ्रष्टाचारको अभियानमा नागरिक समाज लागिहाल्छ भन्ने लाग्दैन,’ उनी भन्छन्, ‘भ्रष्टाचार र अनियमितताविरुद्ध ठूला दलले जुलुस प्रदर्शन गर्ने अवस्था आयो भने नागरिक समाजले पनि साथ देला ।’
कुन काण्डमा के–के भए ?
विदेशीको समेत सरोकार भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका बालकृष्ण खाँण र एमालेका टोपबहादुर रायमाझी पक्राउ परेर मुद्दा अगाडि बढ्ने स्थिति देखियो ।
छानबिनको दायरामा आउनुपर्ने कांग्रेस र माओवादीका जिम्मेवार नेतामाथि सामान्य सोधपुछ पनि नगरिएको आरोप सरकारमाथि छ । बरु पक्राउ परेकामाथि पनि प्रभावकारी र थप अनुसन्धान अगाडि नबढाउने दलीय मिलोमतो भइरहेको दाबी गरिएको छ, किनकि अनुसन्धान गरिहेका वरिष्ठ प्रहरी अधिकारीको अस्वाभाविक सरुवा उच्च तहको राजनीति दबाब र प्रभावपछि भइरहेको बताइन्छ ।
थापाले भनेजस्तै प्रभावशाली नेताको नाम आउँदा पनि सरकारले सुनकाण्डमा नाइकेसम्म पुग्ने गरी अनुसन्धानलाई अगाडि नबढाएको आरोप खेपिरहेको छ । जिम्मेवार नेतालाई पक्राउ नगरिनु, सबै पार्टीसँग सम्बन्ध बढाएका व्यापारी संलग्न हुनुले पनि दलहरूको मिलेमतो भएको बताइन्छ ।
सरकारी जग्गा व्यक्तिको नाममा पुग्ने गरी नीतिगत विषय अगाडि बढाएको गम्भीर विषयमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई छानबिनको दायरामा नल्याएकोमा चौतर्फी आलोचना भइरहेको छ ।
नीतिगत निर्णयकै आधारमा पूर्व प्रधानमन्त्रीलाई बयान र थप छानबिनको दायरामा तान्दा गलत नजीर बस्ने भन्दै सबै दलको मिलेमतोमा बयान नलिइएको बताइन्छ । यसैले केहीकेही पूर्वमन्त्रीका मुद्दा कमजोर बनाउने र प्रधानमन्त्रीहरूलाई छुँदै नछुने नीति दलहरूले लिएको देखिन्छ ।
महामन्त्री थापा भ्रष्टाचारको जालो तोड्न सबै मिल्नुपर्ने बताउँछन् । ‘यो अभियानमा हाम्रो मन्त्र हुनुपर्छ । निर्दोष कोही नपरून, दोषी कोही नछुटून्, भ्रष्टाचारीको सन्दर्भमा न नेता, न नाता केही नहेरियोस्,’ थापाले भनेका छन्, ‘त्यसैगरी कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पनि नबनोस् । यी सबै कुरामा मेरो पहलकदमी रहनेछ । जुनसुकै पार्टीमा, जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लागौं ।’